बिपीको नाममात्र नजप, सिद्धान्त पछ्याऊ

समाधान संवाददाता २०७७ साउन ६ गते ६:४७

किशोरदत्त बराल
आज साउन ६ गते बिपी कोइरालाको ३८ औं स्मृति दिवस । बिपीको ३८ औं ‌ स्मृति दिवससम्म आइपुग्दा एकाध स्मृति दिवसहरुलाई छोडेर बाँकी सबै स्मृति दिवसहरुमा मेरो सक्रिय उपस्थित रहेको सम्झना मलाई राम्रोसँग छ ।

Advertisement

यसैले यही सम्झनाको बीचबाट अत्यन्त कठोर भएर आज आफैले आफैलाई सोध्न मन लागेको छ बिपी स्मृति दिवसमा भएको मेरो उपस्थिति बिपी कोइरालाको सम्मानका लागि थियो वा सम्मानका नाममा अपमान गर्ने चलाखीपूर्ण सम्लग्नता थियो ?

यी दुवै प्रश्नहरु र यसले खोजेका उत्तरभित्र नेपाली कांग्रेसको भविष्य देख्न, खोज्न र अनुमान गर्न सकिन्छ । मैले यसो किन भनिरहेको छु भने यदि सँच्चिकै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता बिपी स्मृति दिवसमा बिपीप्रतिको उच्च सम्मान र सकारात्मक भावकासाथ उपस्थित भएको भए नेपाली कांग्रेस नेपालको राजनीतिमा यति धेरै कमजोर र लाचार भएर बाँच्नु पर्ने अवस्थामा हुने थिएन ।

Advertisement

विश्वव्यापी नियमले के भन्दछ भने सकरात्मक सोच र व्यवहारको परिणाम कहिल्यै पनि नराम्रो र नकरात्मक सोच र व्यवहारको परिणाम कहिल्यै पनि राम्रो हुदैन । सवै विषयहरुको निष्कर्षमा पुग्न अनुसन्धान गर्नु पर्दछ भन्ने मात्रै पनि होइन । कतिपय विषयप्रतिको निश्कर्ष अनुभव, अवलोकन र आत्मसमीक्षाबाट पनि निकाल्न सकिन्छ । बिपी स्मृति दिवसलाई हामीले पवित्र मन र व्यवहारभन्दा धेरै टाढा गएर दुनियाले थाहा पाउने गरी व्यक्तिगत स्वार्थ र गुटगत राजनीतिलाई पक्षपोषण गर्ने गरी गर्‍यौं । देश, जनता र कांग्रेस कहाँ रहन्छ भन्दा पनि म र मेरा लागि काम गरिदिनेहरु कहाँ रहन्छन् भन्ने कुरालाई केन्द्रमा राखेर बिपी स्मृति दिवस मनाउँदा नेपाली कांग्रेस यति धेरै कमजोर र छताछुल्ल बनेको हो ।

कांग्रेसका इमान्दार मनहरु कुना पसेर पार्टीको वर्तमान अवस्थाप्रति आसु चुहाइरहेका छन् भने बेइमानहरु धमिलो पानीमा माछा मार्न पाइने प्रचुर सम्भावना भित्र अट्टाहास गरिरहेका छन् ।

Advertisement

यसो भनिरहँदा यो भनाइले फेरि केही थप र जबर्जस्त प्रश्नहरु उठाउने गर्दछ । के नेपाली कांग्रेस उठ्नै नसक्ने गरी छताछुल्ल भएको हो वा सम्हालिएर अगाडि जान सक्ने सम्भावना पनि छ ? नेपाली कांग्रेसका गनी गनाउ नेताहरुले दिने यी प्रश्नहरुको जवाफको फिक्का पनलाई सहजै अनुमान गर्न सकिने भएकोले नेपाली कांग्रेसका शुभचिन्तक कार्यकर्ताहरुको हृदयबाट आउने जवाफ र त्यसको इमान्दारितामा नेपाली कांग्रेसको भविष्य अडिएको छ ।


कांग्रेसका इमान्दार मनहरु कुना पसेर पार्टीको वर्तमान अवस्थाप्रति आसु चुहाइरहेका छन् भने बेइमानहरु धमिलो पानीमा माछा मार्न पाइने प्रचुर सम्भावना भित्र अट्टाहास गरिरहेका छन् ।

मेरो ठम्याइ छ अब नेपाली कांग्रेसलाई पार्टीका नेताहरुले होइन शुभचिन्तक कार्यकर्ताहरुले मात्रै बचाउन सक्छन् । नेपाली कांग्रेसलाई बचाउने ती इमान्दार र शुभचिन्तक कार्यकर्ताहरु नेताको घर आगनमा होइन गाउँँ घरमा छन्, नेतालाई वरिपरि राखेर होटल र रेस्टुरेन्टमा मदिरा पिएर र पिलाएर होइन गाई भैसी दुहेर दूध पिउँदै र पिलाउँदै गोठमा बसेका छन् । अरुका कुरा काटेर होइन गाउँका इत्ला, कान्ला र वन गोडेर गाउँसँग जोडिएका छन् ।

यसै भएर त बिपीले भन्नु भएको हो नेपालको विकास भनेको गाउँँको विकास हो । गाउँँको विकास भनेकै बिपीको समाजवाद हो, प्रजातान्त्रिक समाजवाद । बिपीको समाजवादलाई समाजवादका ठूला ठूला सिद्धान्तसँग जोड्न आवश्यक नै छैन । बिपीको समाजवादलाई बुझ्न र बुझाउन समाजवादका ठूला ठूला सिद्धान्तहरु घोक्न र घोकाउनै पर्दैन । बिपीको समाजवाद सिद्धान्तहरुको शब्दजाल होइन । बिपीको समाजवाद गाउँ हो, गाउँको इमान्दार मन हो र गाउँका इमान्दार मनभित्रको हाँसो, प्रेम, सद्भाव र खुसी हो ।

यसैले बिपी स्मृति दिवसमा समाजवादका नीति, सिद्धान्तका कुरा गरेर रोबर्ट ओवेन, कार्लमाक्र्स, रोजा लक्जेम्वर्ग, आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण र डा. राममनोहर लोहिया आदिको नाम लिएर विद्धान ठहरिने भ्रममा बाच्नुभन्दा नेपाली गाउँ र गाउँमा मनहरुसँग जोडिने इमान्दार संकल्प गरौं यही नै बिपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

त्यसो भए गाउँसँग कसरी जोडिने त ? यस बारेमा केही छलफल गरौं र सुढृण नेपाली कांग्रेस बनाउने सूत्र निर्माण गरौं ।

. कमजोरहरु अरुलाई गाली गरेर वा आफ्ना कमजोरीहरु लुकाएर बहादुर बन्ने असफल प्रयास गर्दछन् भने बहादुरहरु आफ्ना कमजोरीहरु स्वीकार गर्दछन्, त्यसप्रति क्षमा माग्दछन् र लक्ष प्राप्तिका निम्ति अविचलित अगाडि बढ्दछन् । के भनिन्छ भने जसले कहिल्यै पनि गल्ती गर्दैन त्यो भगवान हो, जसले गल्ती गर्दछ, गल्तिबाट सिक्छ र सुधार गर्दछ त्यो मानिस हो, जसले पटक पटक गल्ती गर्दछ तर गल्तीबाट सिक्दैन भने त्यो राक्षस हो ।

नेपाली कांग्रेस भगवानबाट नेतृत्व गरिएको पार्टी होइन । यो मानिसहरुवाट नै नेतृत्व गरिएको पार्टी भएका कारण यसबाट गल्ती भएका छन् । त्यसलाई ढाकछोप गर्ने होइन त्यसलाई स्वीकार गरेर अगाडि बढ्ने हिम्मत निर्माण गर्नुपर्दछ । होइन भने इतिहासले नेपाली कांग्रेस राक्षहरुद्वारा नेतृत्व गरिएको पार्टी थियो भनेर इतिहासमै सिमित राखिदिने छ ।

२. नेपाली कांग्रेसका नेताहरु र यसका कार्यकर्ताहरुले कांग्रेस यति धेरै कमजोर हुनुको कारणहरुको खोजी इमान्दारिताको धरातलमा उभिएर कहिल्यै पनि गरेनन् । कांग्रेसको वर्तमान अवस्थाका कारणहरु एकै पटक निर्माण भएका हुन वा यसका पछाडि अरु थुप्रै कारणहरु पनि छन् ? नेपाली कांग्रेसभित्र गुटगत राजनीति र पार्टी भित्रको घात अन्तर्घातको डरलाग्दो सुरुआत कहाबाट भएको हो ?

नेपाली कांग्रेस भित्र भ्रष्टाचारको प्रश्रय कसले दियो र किन दियो ? बहुमत प्राप्त पार्टीको सरकारको विघटन गरेर मध्यावधि निर्वाचनमा जानै पर्नेका कारणहरु के के थिए ? सन्त नेता कृष्णप्रसाद भट्टराईलाई अन्तर्घात गरेर हराउने अभियानको नेतृत्व कसले किन गरे ? जुन नेतालाई भावी प्रधानमन्त्रीको रुपमा देखाएर २०५६ को आम निर्वाचनमा जनतासँग भोट मागियो त्यही नेतालाई अत्यन्त अपमानजनक तरिकाबाट किन राजीनामा दिन लगाइयो ? पार्टी विभाजनको आधार सैद्धान्तिक थियो वा नितान्त स्वार्थ प्रेरित ?

मानव सभ्यतालाई खिल्ली उडाउँदै गरिएको सांसद खरिद बिक्रीको प्रकरण किन र के का लागि थियो ? सर्वाेच्च नेता गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईले आफ्नै व्यक्तिगत कमजोरीका कारण रुँदै÷रुँदै नेपाली कांग्रेस छोड्नु भएको थियो वा यसका अन्य राजनीतिक कारणहरु पनि थिए ? नेताहरुले देखिने गरी देश, जनता र आफू संलग्न पार्टीप्रति गलत गरिरहेका छन् भनेर जान्दा जान्दै पनि त्यसलाई मुक्त कण्ठले प्रशंसा गर्ने कार्यकताहरु अहिले कहाँ छन् र के गरिरहेका छन् ? के नेपाली कांग्रेसको वर्तमान स्वार्थ झुण्डबाट नेपाली कांग्रेसको सांगठानिक सुदृणीकरण सम्भव छ ?

यी र यस्ता थुप्रै प्रश्नहरुको जवाफ खोज्ने इमान्दार शक्तिको निर्माण, त्यो शक्तिले निकालेका निश्कर्ष र यसरी प्राप्त निश्कर्षका आधारमा पार्टीको विभिन्न तहमा निर्माण गरिने पार्टी नेतृत्वले मात्रै नेपाली कांग्रेसलाई त्राण दिन सक्दछ ।

३. नेपाली राजनीतिमा भ्रष्टाचारको प्रमुख कारण हो उद्यमशील र सिर्जनशील नेताहरुको अभाव । उद्यमशीलता नभएकाहरुका लागि राजनीतिको भूमि अत्यन्त उर्वर बन्दोरहेछ । कुनै व्यापार, व्यवसाय, उद्योगधन्दा वा आय आर्जनको सिर्जनशील क्षमहरु जस्तै लेख, रचना, पुस्तक लेखन, अनुसन्धान गर्ने क्षमता नभएका राजनीतिमा लाग्नु भनेकै राजनीतिलाई दुर्गन्धित र फोहरी बनाउने हो ।


जुन नेता आफै सिर्जनशील भएर सम्पत्ति वा रोजगारको सिर्जना गर्न सक्दैन त्यस्तो नेताले आफ्ना कार्यकर्ता तथा जनताहरुलाई सिर्जनशील बन्नका लागि आह्वान गर्ने नैतिक धरातल निर्माण गर्न सक्दैन

नियमित आम्दानीका स्रोत नभएकाहरुले आफ्नौ दैनिकी सञ्चालन गर्नका लागि अवलम्बन गर्ने प्रमुख कर्म भनेकै भ्रष्टाचार हो । यसलाई अन्त्य गर्नका लागि अब नेपाली कांग्रेसले एक नेता एक उद्यमशीलता को अभियान सञ्चालन गर्न आवश्यक छ । जुन व्यक्ति आफ्नो जीवन निर्वाहका लागि कुनै न कुनै उद्यमशीलतासँग जोडिदैंन र राज्यलाई कर तिर्ने हैसियत निर्माण गर्न सक्दैन त्यो व्यक्तिलाई नेता बन्ने कुनै पनि किसिमको छुट दिइनु हुँदैन । यदि यसो गर्न सकिएन भने राजनीति सेवाका लागि होइन मेवाका लागि हो भन्ने संस्कारको निरन्तरतासँगै हामीले सधै दुख पाइनै रहने छौं ।

४. नेपाली कांग्रेसले के बुझ्न आवश्यक छ भने गरिबीको अन्त्य गरेर समाजवाद प्राप्त गर्नका लागि सम्पत्ति वा पुँजीको निर्माण पहिलो आवश्यकता हो । सम्पत्तिको निर्माण सिर्जनशीलतासँग जोडिएको विषय हो । जुन नेता आफै सिर्जनशील भएर सम्पत्ति वा रोजगारको सिर्जना गर्न सक्दैन त्यस्तो नेताले आफ्ना कार्यकर्ता तथा जनताहरुलाई सिर्जनशील बन्नका लागि आह्वान गर्ने नैतिक धरातल निर्माण गर्न सक्दैन ।

बाबु बाजेले जोडिदिएको जग्गा जमिन बेचेर वा घरको भाडा उठाएर राजनीति गर्दछु भन्नेहरु हुन वा छोरा छोरीको कमाइमा राजनीति गरेको छु भन्नेहरु हुन् उनीहरु सवै भौतिक सुख सुविधाको जीवन बाच्ने हैसियत राख्न सक्दछन् तर समाजवाद निर्माणको अभियानको नेतृत्व गर्न सक्दैनन् । यसैले सम्पत्ति आर्जनमा नेताको सिजर्नशीलता, आजको आवश्यकता भन्ने अभियान नेपाली कांग्रेसको सांगठानिक सुदृणीकरणको अभियान बन्नु पर्दछ । फेरि यही नेर एउटा प्रश्न उठ्न सक्छ नेताले राजनीति गर्ने कि सम्पत्ति आर्जनका लागि उद्योगधन्दा वा व्यापार व्यवसाय सञ्चालन गरेर बस्ने ? यदि यो प्रश्न उठिहाल्यो भने यसको विश्वव्यापी जवाफ हुन सक्दछ नेताले स्वयं काम गर्दैन तर काम गर्ने वातावरणको निर्माण गराउन सक्दछ । यसमा पनि सूचना प्रविधिको वर्तमान समयमा कुनै निश्चित ठाउँमा बसेर व्यवस्थापन गर्नु पर्ने अवस्थाको अन्त्य भइसकेको छ ।

५. माथि नै भनिसकिएको छ नेपाली कांग्रेसले समाजवादको कुरा गर्ने हो भने गाउँको विकासका लागि उपयुक्त कार्यक्रमहरुको निर्माण र त्यसको कार्यान्वयनको पक्षमा इमान्दार भएर लाग्नै पर्ने हुन्छ । गाउँको विकास भनेको नै कृषि, कृषिमा आधारित उद्योग धन्दाहरु, र त्यसका लागि चाहिने आवश्यक पूर्वाधारहरुको निर्माण हो । के भाषण गरेर मात्रै गाउँ र गाउँको विकाससँग जोडिन सकिन्छ ? के कृषिवाहेक अन्य कुराहरु गरेर गाउँको विकास गर्न र समाजवाद प्राप्त गर्न सम्भव छ ? के गाउँ र गाउँको कृषिसँग जोडिन सरकारमै पुग्नु पर्दछ वा सांसद र मेयर नै हुनु पर्दछ ? यसैले नेपाली कांग्रेसको सुदृणीकरणका लागि कृषिमैत्री वातावरण अबको अभियान बन्नु पर्दछ ।

यसका लागि नेपाली कांग्रेसका नेता तथा कार्यकताहरुले व्यावसायिक रुपमानै कृषिसँग जोडिन आवश्यक छ । ठूला ठूला उद्योगी, व्यापारी र अ‍ौद्योगिक घरानियाहरुलाई कृषिमा जोड्ने उपयुक्त वातावरणको निर्माण गर्न गराउनु पर्दछ गाउँ गाउँमा राजगारी सिर्जनाको महायज्ञ सुरु गर्नु पर्दछ ।

६. यदि बिपी शिक्षालाई व्यवस्थित र वैज्ञानकि तरिकाले एउटा अभियानको रुपमा अगाडि बढाउने हो नेपाली कांग्रेसको सांगठानिक सुदृढीकरणका लागि यो महत्वपूर्ण कोसेढुंगा सावित हुन सक्दछ । बिपी शिक्षा भनेको मानिसलाई ठूलो होइन असल बनाउने शिक्षा हो । यो मस्तिष्कबाट होइन हृदयबाट दिइने शिक्षा हो ।

ठूलो मानिस र असल मासिको फरकलाई देखिन र बुझिन सक्ने गरी गाउँ समाजमा पु¥याउनका लागि नेपाली कांग्रेसले बिपी शिक्षामा आधारित पाठ्यक्रम बनाउन आवश्यक छ । बिपी शिक्षा अभियान, नेपाली कांंग्रेसको पहिचान भन्ने यो कार्यक्रमले नेपाली कांग्रेसलाई विशेष गरी विद्यालय र विश्वविद्यालयका विद्यार्थी र गाउँका युवाहरुको बीचमा प्रभावकारीरुपमा जोड्न सक्दछ ।

७. थुप्रै सम्भावना र चुनौतीहरु बोकेर एक्काइसौं सताब्दि हाम्रो अगाडि प्रवेश गरेको छ । सूचना प्रविधिमा भएको दु्रततर विकासले ल्याएको भूमण्डलीकरणको प्रभाव जवरजस्तरुपमा समाजको सबै क्षेत्रहरुमा परिसकेको छ । हामी हिजो जसरी सोच्दथ्यांै, जसरी पढाउदथ्यौं, जसरी काम गर्दथ्यौं, जसरी बोल्दथ्यौं, जसरी व्यवहार गर्दथ्यौं अब त्यसरी काम गर्न, बोल्न, पढाउन, र व्यवहार गर्न नसकिने भएको छ । हिजो हामीले कल्पनासम्म पनि गर्न नसकेका कुराहरु आज यथार्थ बनेर हाम्रो अगाढि आइसकेका छन् र भोलि के होला भनेर कल्पना गर्न नपाउँदै कुनै परिवर्तन भइहाल्यो भने पनि हामीले आश्यर्च मान्न नपर्ने भएको छ ।

आज हामीले सिकेका कुरा किनेका उपकरणहरु भोलि बिहान उठ्ने बित्तिकै पुरानो हुने जवर्जस्त अवस्था हामीसँग छ । यसैले अहिले हामी जहाँ छांै जसरी छौं त्यो नै ठिक छ भनेर ढुक्क हुन सक्ने स्थिति पटक्कै पनि छैन । हाम्रो पढाइ, बोलाइ, खानेकुरा, लगाउने कुरा, हाम्रो संस्कृति, शिक्षा, अर्थतन्त्र, राजनीति आदि सबै क्षेत्रमा भूमण्लीडकरणको अत्यधिक धेरै प्रभाव परेको छ ।

भूमण्डलीकरणले समाजका विविध क्षेत्रमा पारेको यो प्रभावलाई सकारात्मकरुपमा आत्मसात गरी त्यसलाई चुनौतीकोरुपमा स्वीकार गर्दै यी हरेक चुनौतीहरुलाई सम्भावनामा बदल्ने बलियो साहस र मानसिक क्षेमता हामीले देखाउन सकेनौं भने म हिजो राम्रो थिए, अब्बल थिए भन्ने जस्ता जुनसुकै कुरालाई पनि अब समाजले नपत्याउने भएको छ । अब हाम्रो गौरवपूर्ण इतिहासले भोलिको भविष्य सुनिश्चित गर्न नसक्नेस्थिति भित्र हामीहरु छौं । यसैले हाम्रो अगाडि २ वटा प्रमुख चुनौती छन्, या त हामी मर्नका लागि तयार हुनु पर्दछ या त बाँच्नका लागि परिवर्तनको प्रचण्ड ज्वाला भित्र पसेर परिवर्तित वातावरणमा अनुकूलित हुने क्षमता विकास गर्नु पर्ने हुन्छ ।

अब हामीसँग तेस्रो विकल्प छैन । स्वाभाविकरुपमा पनि हामी मर्न चाहँदैनौ । अब हामी कसरी बाच्ने ? बाच्नुको मूल्य खोजेर स्वाभिमानी र प्रतिष्ठित जीवन कसरी बाच्ने ? यो चुनौतीभित्र आज हामीहरु छौं । यसमा पनि राजनीतिक पार्टीहरु र तिनका नेता तथा कार्यकर्तालाई समाज परिवर्तनको अभियन्ताका रुपमा मानिन्छन् । यसैले डिजिटल संगठनको नेतृत्व आजको आवश्यकता हो । अबको अधिकांश जनसंख्या चौतारो वा सडकका पेटीहरुमा उभ्भिएर राजनीतिक पार्टीका कुरा सुन्ने वा सडकमा लामवद्ध भएर जिन्दावाद र मुर्दावाद भन्ने अवस्थमा छैन । अब फरक परिणामका लागि फरक तरिकाबाट सोच्नु पर्दछ जसका लागि डिजिटल संगठन र नेतृत्वको निर्माणको विकल्प कहिँ कतै पनि देखिँदैन ।

यो सानो लेखमा सबै कुराहरु एकै पटक लेख्न सम्भव पनि भएन । यसलाई विस्तारै थप्दै र परिमार्जन गर्दै जाने प्रतिवद्धताका साथ अन्त्यमा के भनु भने नेपाली कांग्रेसको नेतृत्वमा कृषि क्रान्तिमार्फत् गाउँको विकास गर्दैे विवेकपूर्ण वितरणमा आधारित समाजवादको स्थापना लागि आवश्यक पर्ने विचार र कार्यक्रमहरुको निर्माण गर्न सकिन्छ । यसका लागि अनुशासित, दृढनिश्चियी र फराकिले दृष्टिकोण भएको नेतृत्व चाहिन्छ । छलफल र बहसमा उत्रिन सक्ने नेताको तागत चाहिन्छ । जुन क्षमता नेपाली कांग्रेसका अधिकांश नेताहरुमा देखिएको पनि छैन ।

फेरि यसो भनेर आफ्नो नेतृत्व बाहिर कतैबाट ल्याउने विषय पनि भएन । हामीसँग जे जस्तो सम्पत्ति छ हामीले त्यसैलाई नै वुद्धिमत्तापूर्ण तरिकाले प्रयोग गर्न सकिने विकल्पको बारेमा खोजी गर्ने हो । यसका लागि नेपाली कांग्रेसको पहिलो पुस्ताका नेताहरुबाट यो सम्भव नदेखिएकोले दोस्रो तेस्रो पुस्ताकाबारेमा गुणस्तरीय छलफल र वहस आवश्यक छ । नेतृत्व छनौट जस्तो विषयलाई मनोरञ्जन र क्षणिक आवेगको विषय बनाइनु पनि हुँदैन ।

जुन देशमा ४० प्रतिशत जनसंख्या युवाहरुको छ त्यो देशको राजनीतिको नेतृत्व अनुशासन, विचार, दृष्टिकोण र कार्यक्रमविहीन भएर गर्न सकिने विषय पनि होइन । अब भोलिको नेपाली कांग्रेको नेतृत्व लिन खोज्ने सबै तहका नेताहरु छनौटको आधार अनुशासन, दृष्टिकोण र कार्यक्रमलाई बनाउने तागत बिपी को ३८ औं स्मृति दिवसले सम्वन्धित सबवैलाई दिन सकोस् भन्ने शुभेक्षा व्यक्त गर्दछु ।

बराल कांग्रेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रीय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया