‘५८ वटा भेन्टिलेटरले कोरोनासँग लड्न सकिँदैन’
समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सभाको सोमबारको बैठक अन्तर्गत शून्य र विशेष समयमा बोल्ने सांसदहरुले बाढी पहिरोको क्षति, कोरोना कहरदेखि राष्ट्रिय राजनीति विषयमा भनाइ राखेका छन् । बैठकको शून्य समयमा २ र विशेष समयमा ३ सांसदले भाग लिएका थिए ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले चालु वर्षको बजेटमा सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि पर्याप्त नभएको बताए । कोरोना नियन्त्रणका लागि कांग्रेसले पटकपटक सुझाव दिएको र प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गरेको भन्दै उनले सरकार यसमा संवेदनशील नभएको भनाइ राखे । उनले भने, ‘हामीले जे भनेका थियौं, त्यसलाई सरकारकाले प्राथमिकता दिएको छैन । अहिले परिस्थितिले कोरोना संक्रमण समुदायमा प्रवेश पाएको छ । जसरी चहलपहल सुरु भएको छ । अब समुदायस्तरमा कोराना फैलने पक्का पक्की छ । तर सरकारी तयारी पुगेको छैन ।’
उनले समुदायमा कोरोना गए ५८ वटा भेन्टिलेटरले कसरी थाम्न सकिन्छ भन्ने प्रश्नसमेत गरे । बजेटमा सर्भाइबल फन्डका लागि रकम विनियोजन भएकोमा धन्यवाद दिँदै यसलाई कसरी वितरण गर्छौं भन्ने मुख्य कुरा रहेको उनको भनाइ थियो । उनले भने, ‘विगतका अनुभव हेर्दा रकम बाँडफाँटमा भएको अनियमितताले शंका उब्जाएको छ ।’
धान लगाउने बेलामा किसानले मल नपाएकोतर्फ ध्यानाकर्षण गराउँदै उनले बर्खे खेतीका लागि त समय गइसके पनि हिउँदे खेतीका लागि सरकारले सहुलियत प्रदान गर्नसमेत आग्रह गरे ।
उनले दक्ष शक्तिलाई स्वरोजगार बनाउन सरकारले सहयोग गर्नुपर्ने र लेबर इन्सेन्टिभ दिएर अगाडि बढ्नुपर्ने भनाए राखे । उनले भने, ‘व्यवसाय र उद्योग बन्द भएका छन् । सिडमनी दिएर उतार्नुपर्छ ।’ बाढी पहिरोबाट पीडितहरुलाई सरकारले दिएको राहत पूर्ण नभएको भन्दै विस्थापितलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न आग्रह गरे ।
बाढीपहिरोले प्रदेशका विभिन्न ठाउँमा क्षति पुर्याएकाे र खासगरी नवलपुरको रतनपुरामा नारायणी नदीको कटानबाट एउटा लज बगाइसकेको र बस्ती नै जोखिममा परेको बारे उनले सरकारको ध्यानाकर्षण गराए । प्रदेश सरकार र स्थानीयस्तरबाट कटान रोक्ने काम भए पनि रकम अपर्याप्त भएकाले थप गर्न उनले आग्रह गरे । गण्डकी प्रदेशको कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलाबारे विशेष खोज र अनुसन्धान थाल्न समेत उनले सरकारसँग आग्रह गरेका छन् ।
दलका नेता नेपालीले स्टेरिङ समात्ने प्रधानमन्त्रीले मुलुकलाई कता लैजाँदै हुनुहुन्छ भन्ने शंका लागेको समेत बताए । उनले भने, ‘प्रधानमन्त्रीले बेलाबेलामा दिएका अभिव्यक्तिले मुलुकलाई दूरगामी असर पारेका भन्दै उनले यसमा नियन्त्रण गर्न समेत आग्रह गरे ।’
नेकपा सांसद दीपक कोइरालाले बाढी पहिरोले गण्डकी प्रदेश लगायत देशव्यापी रुपमा धनजनको क्षति भए पनि क्षति भएको ठाउँमा तत्काल गर्न सकिने ससाना काममा समेत अलमल भएकोप्रति असन्तुष्टि जनाए । उनले भने, ‘बाढी पहिरोका कारण भएका ससना क्षतिमा तत्काल मर्मत गर्न सक्छौं । हामीले खाली अनुगमन गर्छौ र आश्वासन दिन्छौं । काम गर्न सक्दैनौं ।’
उनले कास्कीको तल्लो गगनगौंडाबाट जनताको चौतारो जाने बाटो क्षति भएकामा २० वटा जाली लगाए हुनेमा कामै हुन नसकेको बताए । उनले भने, ‘१२ सय ४० हेक्टर जमिन सिँचाइ गर्ने विजयपुर नहरमा सानो क्षति भएको छ । २ लाख भए मर्मत हुन्छ । आश्वासन दिनेवाहेक केही हुन सकेको छैन ।’ लामेआहालमा पनि नालाका कारण बस्ती जोखिममा रहेको र केही लाख रुपैयाँ खर्चेर जोखिम कम गर्न सकिने भए पनि काम नभएको भनाइ राखे । ‘गर्न सकिने काम पनि आश्वासनबाट अनुगमन, अनुगमनबाट घुमेर फेरि आश्वासन मात्र दिने काम भएको छ । गाउँगाउँमा सिंहदरबार आयो भन्नुमात्र भएको छ,’ उनले भने ।
प्रदेशका ३६ वटै निर्वाचन क्षेत्रमा विपद व्यवस्थापन कोष खडा गरी ससना क्षति भएका र तत्काल गर्न सकिने काम सम्पादन गर्न उनले सरकारलाई सुझाव समेत दिए । उनले भने, ‘हामीलाई स्रोतको अभाव होइन, व्यवस्थापनमा कमजोर भयौं ।’ सदन संसदीय व्यवस्थालाई चलाउन, सवाल र जवाफका लागि मात्र नभएको भन्दै उनले कार्यान्वयनका लागि पनि पनि प्रयोग गर्न उनको आग्रह थियो ।
जनता समाजवादीका सांसद हरिशरण आचार्यले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुख व्यक्त गर्दै सरकारले राहत वितरणमा समेत राजनीतिक गरेकोमा आक्रोश जनाए । उनले भने, ‘कतै सेतो वस्त्र पनि लगाउन नपाएर पीडितहरु छटपटाएका छन् । राहत वितरणमा विभेदकारी नीति अवलम्बन गरिएको छ । राहतमाथि पनि किन राजनीति गरिन्छ । कति सुन्दर छ समाजवादलाई टेकेर वैतरणी तर्ने सरकारको सपना ।’
बाढी पहिरोका कारण भौतिक पूर्वाधार क्षतविक्षत भएको, मुस्ताङ र म्याग्दीका केही भाग सडक सम्पर्कबाट विच्छेद भएको भन्दै तत्काल आवतजावत खोल्न र कमजोर काम गर्ने ठेकेदारलाई कारबाही गर्न पनि उनले आग्रह गरे ।
शून्य समयमा नेकपा सांसद इन्द्रधारा विष्टले कालीगण्डकी कोरिडोर अन्तर्गत रघुगंगा खोलाको बेलीब्रिज बगाएका कारण २ सातादेखि मुस्ताङसँगको सम्पर्क टुटेको भन्दै मर्मतका लागि आग्रह गरे । लकडाउनका कारण मुस्ताङमा हवाई सेवासमेत बन्द रहेकाले केन्द्र सरकारसँग समन्वय गरी तत्काल खुलाउनसमेत उनले माग गरेका छन् ।
नेपाली कांग्रेका सांसद प्रकाशचन्द्र दवाडीले वर्षाले गोरखाको भच्चेक बजार जोखिममा परेको बालुवा बजारमा पहिरोले घर बगाएको र बारपाक सुलिकोटका धेरै ठाउँमा पहिरो जाँदा नागरिकको बिचल्ली भएको सुनाए ।
तपाईको प्रतिक्रिया