पृथ्वी राजमार्गमा यातायात खुल्न कठीन
पाेखरा
निरन्तरकाे झरीले मुलुकभरमा सबैजसाे राजमार्गमा गाडी आउजाउ ठप्प छ । पृथ्वी राजमार्गमा पर्ने धादिङ र चितवन जोड्ने पुलअगाडिको भूभाग बाढीले कटान गरेसँगै काठमाडाैंसँगकाे सम्पर्क टुटेकाे छ ।
हेटौँडा कुलेखानी सडक पनि पूर्ण रुपमा बन्द भएको छ भने हेटौँडा नौबिसे काठमाडौं सडक भने सञ्चालनमा नै रहेको सडक विभागले जनाएकाे छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अरनिको रार्जमार्गमा यातायात चल्ने अवस्था छैन ।
सोमबार बिहानदेखि बन्द भएको पृथ्वी राजमार्ग आज पनि खुल्ने अवस्था छैन। पानी रोकिएको अवस्थामा बुधबारसम्ममा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन सकिने महानिर्देशक शर्माले बताए । मुग्लिन नारायणगढ सडक खण्डमा पनि पहिरोले सडक अवरोध गरेको छ।
सो खण्डको सडक मंगलबारसम्म सञ्चालनमा आउन सक्ने भए पनि मौवा खोलाको पुलमा भएको क्षतिका कारण राजधानीसम्म आवतजावत हुन सक्ने अवस्था छैन।
त्रिभुवन राजपथ पनि स–साना समस्या भए पनि खुल्ला नै छ। बिपी राजमार्गमा पनि स–साना पहिरो खस्ने क्रम जारी भएपनि खुलाउने काम भइरहेको छ। तर, पाल्पा–तानसेन–बुटबल सडक भने आइतबारदेखि नै बन्द छ भने पोखरा मुग्लिन सडक भने सञ्चालनमै छ। सञ्चालनमा रहेको सडकमा पनि स–साना पहिरो भने खस्ने क्रम रोकिएको छैन।
तपाईको प्रतिक्रिया