पर्सिदेखि गाडी चलाउन व्यवसायी सहमत

समाधान संवाददाता २०७७ साउन ६ गते ८:०२

पाेखरा

Advertisement

लामाे रस्साकस्सीपछि यातायात व्यवसायीहरू ८ गतेदेखि सबै सार्वजनिक यात्रुवाहक बस चलाउन सहमत भएका छन्। पुनर्कर्जालगायत बैंकिङ विषयमा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोधन गरेको र चालक सहचालकको कोरोना बिमाको प्रिमियम सरकार र व्यवसायीले आधा आधा व्यहोर्ने सहमति जुटेपछि व्यवसायीहरू बस चलाउन राजी भएका हुन्।

सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ३ वटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ, महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच छलफल भएको थियो।

Advertisement

उक्त छलफलमा ४ वटा सहमति भएको छ । यातायात श्रमिकहरूको समूहिक कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधा आधा भुक्तानी गर्ने, यातायात श्रमिक कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारको तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने, यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाइजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले उपलब्ध गराउने, लामो, छोटो र मध्यम दूरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभागको मार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस गर्नेलगायतका विषयमा सहमति भएको हो।

Advertisement

तपाईको प्रतिक्रिया