मुस्ताङको घाँसामा बाढीले खानेपानीको हाहाकार

समाधान संवाददाता २०७७ साउन ६ गते १२:४६


सडक, पुल, नाली, खानेपानी, ट्रेकिङ रुट, चौपाया र खेतीयोग्य जमिन र अन्नबालीमा क्षति

Advertisement

एसके थकाली

जोमसोम

Advertisement


सोमबार रातिको भारी वर्षाले मुस्ताङको थासाङ गाउँपालिका—४ घाँसा गाउँ लगायत स्थानमा ठूलो क्षति पुर्‍याएको छ । म्याग्दी र मुस्ताङको सीमा गाउँ थसाङ—४ माथिल्लो घाँसा माथिको गाडखोलाको वाहव उच्च हुँदा आएको बाढीले त्यहाँ क्षति पुर्‍याएको घाँसा प्रहरी चौकीले बताएको छ ।


गाडखोला बाढीले घाँसा गाउँमा ल्याइएको खानेपानीको पुरै संरचना बगाएको घाँसा प्रहरी चौकीका इन्चार्ज निमप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बाढीले गाड खोलाबाट ल्याईएको खानेपानीको मुहान, पानी ट्यांकी र पाइप लाइन समेतमा क्षति पु¥याएको हो । खानेपानीको संरचनामा बाढीले क्षति पुर्‍याएपछि अहिले घाँसा गाउँमा खानेपानीको चरम समस्या भएको इन्चार्ज तिमिल्सिनाले बताए ।

Advertisement


बाढीले घाँसा गाउँमा सार्वजनिक तथा स्थानीयको खेतीयोग्य जमिनमा समेत क्षति पु¥याएको जनाइएको छ । गाडखोलाको बाढीले खेतीयोग्य जमिनमा लेदो, गेग्रान, बलौटे माटो समेत बगाएर थुपारिदिएपछि स्थानीयले खेतमा लगाएको मकै र आलुबारी सखाप भएको वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए । उनका अनुसार वर्षा र बाढीले घाँसा बजारको बेनी—जोमसोम मुख्य राजमार्गको सडक बाटो र नाली ड्रेन लगायतमा क्षति पुर्‍याएको छ ।


घाँसा बजारको पुरानो ट्रेकिङ रुट र तल्लो घाँसा हुँदै पैरोथाप्ला जाने ट्रेकिङ रुटमा बाढीले क्षति पुर्‍याएको हो । बाढीले घाँसामा स्थानीयको गाईगोठमा समेत क्षति पुगेको छ भने त्यहाँ स्थानीयको ३ वटा चौपाया मरेको भनिए पनि यो संख्या बढ्ने देखिएको वडाध्यक्ष विशाल शेरचनले बताए ।


यता जिल्ला प्रहरी कार्यालय मुस्ताङले थासाङमा बाढीले पुर्‍ याएको विस्तृत क्षति विवरणको अनुसन्धान गरी विवरण सार्वजनिक गर्ने जनाएको छ । बाढीग्रष्त क्षेत्रमा जिल्लाबाट सरोकारवाला प्रतिनिधि तथा सुरक्षाकर्मी जाँदै गरेको जनाइएको छ ।


यस्तै वर्षाले म्याग्दी खण्ड र मुस्ताङको थासाङ खण्डमा बाढी÷पैहिरोले सडक मार्ग, सडक मार्गको विद्युत पोल र रुखहरु ढलेपछि सोमाबारदेखि विद्युत तथा सञ्चार संम्पर्क असहज बनेको नेपाल टेलिकम जोमसोम शाखाका प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।

थासाङमा २ वटा पक्की पुल बगायो
सोमबार वर्षाका कारण आएको बाढीले मुस्ताङको थासाङ गाउँपालिका—४ घाँसामा गएराति २ वटा पक्की मोटरेबल पुल बगाएको वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए । बेनी जोमसोम जोड्ने ७६ किमी सडकको मुस्ताङको थासाङ खण्डमा आएको बाढीले करिडोर सडकको एक निर्माणधिन पुल र अर्को सञ्चालनमा रहेको पुल बगाएको उनले बताए ।


बाढी पहिरोले सोमबार अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीको रुप्से खोलाको पक्की पुल समेत बगाएको थियो । बेनी—जोमसोम सडकमा लगातार ३ वटा पक्की पुल बाढीले बगाएपछि बेनी—जोमसोम सडक झनै कष्टकर बनेको छ ।

तपाईको प्रतिक्रिया