बिपीको सम्झनामा वृक्षरोपण र राहत वितरण
समाधान संवाददाता
पोखरा
नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको ३८ औं स्मृति दिवसमा कास्कीमा मंगलबार विविध कार्यक्रम गरिएको छ ।
स्मृति दिवसको अवसर पारेर वृक्षरोपण, राहत वितरण, बिरुवा गोडमेल, रक्तदान, दीप प्रज्ज्वलन लगायत कार्यक्रम गरिएको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
कास्की कांग्रेसले पोखरा २६ पैतेडाँडाका ७८ परिवारलाई नगद १८ हजारसहित २० बोरा चालम, दाल, नुन, सिलिन्डर ग्यास सहयोग गरेको छ ।
पहिरो पीडित परिवार बसिरहेको पोखरा २६ स्थित अमरज्योति आधारभूत विद्यालयमा कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको थियो ।
पहिरोमा परी मृत्यु भएका दुर्गा विकको परिवारलाई नगद ८ हजार १ सय र भुवन कुना, भन्ज्याङ, अर्घाैबेसी, आरुपाटा, डाँडाकोनाकका पहिरो पीडित १० परिवारलाई राहत प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले पीडित परिवारलाई जुनसुकै सहयोग गर्न पनि कांग्रेस तयार रहेको बताए ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले पहिरोपछि विस्थापित परिवारको व्यवस्थापनका लागि कांग्रेसले पहल गरिरहेको बताए ।
कार्यक्रममा नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाट, नेपाली कांग्रेस महासमिति सदस्य गिरिराज गौतम, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, पीडित परिवारकोतर्फबाट पवित्रा विक र गोविन्द परियारले बोलेका थिए ।
नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा २६ का सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला सदस्य राजेन्द्रमणि लामिछानेले स्वागत र वडा कार्यसमिति सचिव चिनिया थापाले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया