मुस्ताङ थासाङमा ५१ घर स्थानान्तरण
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/4.jpg)
बाढीपहिरोले घाँसा गाउँमा सञ्चालनमा रहेको खानेपानी संरचना ध्वस्त भएकाले खानेपानीको हाहाकार मच्चिएको छ
एसके थकाली
जोमसोम, ६ साउन
मुस्ताङको थासाङ गाउँपालिकाका विभिन्न ठाउँमा सोमबार रातिको बाढी पहिरोले क्षति
पुर्याएको छ । थासाङको वडा नम्बर ४ र २ मा आएको बाढीपहिरोले स्थानीयको जनजीवन कष्टकर बनेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बाढी पहिरोको उच्च जोखिममा रहेका ५१ घरधुरीलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको सहयोगमा सुरक्षित ठाउँमा स्थान्तरण गरिएको हो । मुस्ताङका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले थासाङ ४ घासा गाउँबाट ३५ घरधुरी, थासाङ ४ कै कैकु र मिसी गाउँबाट ३ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको बताए ।
थासाङ २ को कोबाङ, खन्ती र सौरु गाउँबाट १३ घरधुरी बाढी पहिरोबाट जोगाउन सुरक्षित स्थानमा सारिएको प्रनाउ भण्डारीले जानकारी दिए ।
बाढी पहिरोको उच्च जोखिममा रहेका ३५ घरधुरीलाई प्रहरीले घाँसाकै जनता आधारभूत विद्यालयमा राखेको छ । कैकु र मिसीका घरधुरीलाई थासाङ—३ लेतमा गाउमा स्थान्तरण गरिएको छ । थासाङ २ का जोखिममा रहेकालाई आफन्त र केहीलाई बाढीपहिरो जोखिमबाट टाढा लगिएको जनाइएको छ ।
बाढी पहिरोले थासाङ ४ थाप्लाङ खोलामा निर्माणाधीन पक्की पुल बगाएको छ भने थासाङ ४ कै कैकु खोलाका अर्कोे सडक मोटरेबल पक्की पुल बगाएको प्रनाउ भण्डारीले बताए । योसँगै बाढी पहिरोले बेनी—जोमसोम जोड्ने सडकमा ४ वटा पुलमा क्षति पुगेको जनाइएको छ । बाढीले मुस्ताङ खण्डदेखि तल लेतेदेखि घाँसासम्म ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ ।
बेनी—जोमसोम सडकमा बाढीपहिरोको प्रभावले सवारी आवगमन तथा सर्वसाधारणको आउजाउमा समस्या देखिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ मा समेत आइतबार दिउसोको बाढीपहिरोले ठूलो क्षति पुर्याएको थियो । अन्नपूर्ण ३ रुप्सेमा बाढीले होटल बस, डोजर र पक्की पुल बगाएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाले मुस्ताङमा विद्युत र सञ्चार सम्पर्क पूरै प्रभावित बनेको छ । बाढी पहिरोले ठाउँठाउँमा रुखहरु ढलेको, विद्युत पोलमा क्षति पुगेको र तारहरु चँुडिएको छ । मुस्ताङको तल्लो बस्ती थासाङ—४ घासा बस्ती उच्च जोखिम छ ।
गाउँमाथिको गाडखोलाको वहाव उच्च हुँदा घाँसा बस्तीभित्र बाढीको भेल पसेको छ भने केही घरधुरी जलमग्न अवस्थामा रहेको थासाङ ४ का वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए ।
उनका अनुसार बाढीपहिरोले घाँसा गाउँमा सञ्चालनमा रहेको खानेपानी संरचना ध्वस्त भएकाले खानेपानीको हाहाकार मच्चिएको छ । उनका अनुसार बाढीले गाड खोलाबाट ल्याइएको खानेपानीको मुहान, पानी ट्याङ्की र पाइप लाइन समेतमा क्षति पुगेको हो ।
सोमबार रातिकै बाढीले घाँसा गाउँ नजिकका बस्तीमा बाढी पसेपछि खेतीयोग्य जमिनमा क्षति पुगेको छ । अन्नबाली समेत सखाप भएको वडाध्यक्ष शेरचनले बताए । बाढीले स्थानीयको जमिनमा लेदो, गेग्रान, बलौटे माटो थुपारिदिएपछि मकै र आलु सखाप भएको वडाध्यक्ष शेरचनले जानकारी दिए । उनका अनुसार अविरल वर्षा र बाढीले घाँसा बजारको बेनी—जोमसोम मुख्य राजमार्गको सडक बाटो र नाली ड्रेन लगायतमा क्षति पुर्याएको छ ।
घाँसा बजारको पुरानो ट्रेकिङ रुट र तल्लो घाँसा हुँदै पैरोथाप्ला जाने ट्रेकिङ रुटमा बाढीले क्षति पु¥याएको हो । बाढीले घाँसामा स्थानीयको गाईगोठमा समेत क्षति पुगेको छ । त्यहाँ स्थानीयको ३ वटा चौपाया मरेको वडाध्यक्ष शेरचनले बताए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले थासाङमा बाढी पुर्याएको विस्तृत क्षति विवरणको अनुसन्धान गरेको छ । सम्भावित बाढी पहिरो जोखिमबाट जोगाउन २ वटै सुरक्षाकर्मी तयार अवस्थामा बसेको जनाएको छ । बाढीग्रस्त क्षेत्रमा संघीय सांसद प्रेमप्रसाद तुलाचन, प्रदेश सांसद महेन्द्रबहादुर थकाली, गाउँपालिका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालसहित टोलीले स्थलगत निरीक्षण गरी फर्किएको छ ।
तपाईको प्रतिक्रिया