उच्च अदालत पोखरामा लकडाउनभर ३ सय मुद्दा दर्ता

समाधान संवाददाता
पोखरा
लकडाउन अवधिलाई सर्वोच्च अदालतले शून्य समय मानेको छ । शून्य समयमा अवरुद्ध मुद्दाका प्रक्रिया सञ्चालका लागि लकडाउनपछिको ३० दिन दिने गरी सर्वोच्चको पूर्ण इजलासले जेठ १५ गते फैसला गरेको छ । तर नागरिक अधिकार र प्रहरी अनुसन्धानसँग जोडिएका विषयमा भने ३ तहकै अदालतले काम कारवाही रोकेनन् ।
लकडाउनभर उच्च अदालत पोखरामा २ सय ९९ मुद्दा परेकोमा १ सय ८८ फछर््योट भएका छन् । कामु मुख्य न्यायाधीश किशोर सिलवालका अनुसार सरकारवादी फौजदारी १ सय ३३, बैंकिङ कसुरका ३८, बन्दीप्रत्यक्षीकरण ६, बेरितको निवदेन ७३ र कैफियत प्रतिवेदन ४९ वटा परेका छन् । असार १२ गतेपछि अदालतले १३ प्रकारका मुद्दाका प्रक्रिया अगाडि बढाउने निर्णय भएपछि कामको चाप विस्तारै बढ्दै गएको सिलवालले बताए ।
बन्दी प्रत्यक्षीकरणका निवेदन, कोभिड १९ सम्बन्धी रिट निवेदन, मुद्दाको पुर्पक्षका लागि बालसुधार गृहमा रहेका नाबालकलाई अभिभावकको जिम्मामा लैजान परेका निवेदन असार १२ पछि हेर्न थालिएको उपरजिस्ट्रार विश्वनाथ अर्यालले जानकारी दिए । यो सुविधा प्रयोग गरेर ८ जना नाबालक अभिभावकको जिम्मामा घर गएका छन् ।
यसैगरी प्रतिवादी थुनामा रहेका मुद्दा, नेपाल सरकार वादी भई पुनरावेदन परेका र थुनामा रहेका प्रत्यर्थी नझिकाएका मुद्दा, साधक जाँचका लागि पेस भएका मुद्दा पनि यो अवधिमा हेर्ने निर्णय भएको छ ।
पक्राउ पुर्जीको अनुमति दिने कार्य, बैंकिङ कसुर मुद्दाको म्याद थप र मुद्दाको अभियोगपत्र दर्ता गरी थुनछेक गर्ने कार्य पनि यो अवधिमा भएका छन् । जिल्ला अदालतले गरेको आदेश उपर पर्न आएका थुनुवाको निवेदन र सो को प्रतिवेदन दर्ता एवं सुनुवाई पनि उच्च अदालतले असार १२ पछि गर्दै आएको छ ।
नागरिक र कानुन व्यवसायीको गुनासो बढेको अनि लडकडाउन पनि केही खुकुलो भएपछि उच्च अदालत पोखराले साउन १ गतेबाट थप ५ प्रकारका कारवाही पनि अगाडि बढाएको छ ।
थुनुवा भएका मुद्दामा प्रत्यर्थी झिकाउने गरी आदेश भएका मुद्दा, मुद्दा फिर्ता र मिलापत्र प्रक्रिया सम्बन्धी निवेदन साउन लागेपछि हेर्न थालिएको कामु मुख्य न्यायाधीश सिलवालले जानकारी दिए । यसैगरी निवेदकबाट म्याद तामेल गर्न अदालतलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर भएका सबै प्रकारका रिटको नयाँ दर्ता र सुनुवाई पनि सुरु भएको छ । कोरोना संक्रमणका कारण म्याद तामेल गर्न झन्झट भएपछि यसमा कानुन व्यवसायीले पनि सहजीकरण गर्ने प्रतिबद्धता जनाएको सिलवालले बताए ।
थुनुवा भएका मुद्दाको पुनरावेदन दर्ता गरी सुनुवाई गर्ने र दुवै पक्षले मुद्दाको सुनुवाई गरी पाऊँ भनी निवेदन दिएका मुद्दामा समेत प्रक्रिया अघि बढाउने निर्णय उच्च अदालतले गरेको छ ।
सार्वजनिक बस नचलेका कारण मुद्दाका पक्ष मात्र होइन कर्मचारी समेत सहज रुपमा कार्यालय आउन सकेका छैनन् । यस्तो अवस्थामा पनि नागरिकको अधिकार रक्षाका लागि अदालतले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कसर नराखेको रजिस्ट्रार कृष्णप्रसाद पौडेलले बताए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया