चरा उडेको बाटो र भ्रष्टाचार

समाधान संवाददाता २०७७ साउन ७ गते ९:०७

सम्पादकीय

Advertisement

३१ असारमा इन्जिनियर मीलन अधिकारीलाई १ लाख रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले समात्यो ।

संयोग कस्तो भने उनी कास्कीका बासिन्दा भए पनि जागिरचाहिँ बागलुङको ढोरपाटन नगरपालिकामा गर्थे र घुसका लागि उनले गृहजिल्ला रोजे । यहीं पक्राउ परे ।

Advertisement

अर्काे संयोग त्यस दिनपछि उनको जागिर अवधि सकिँदै थियो । तर करियरै सक्ने धन्दामा उनी उत्रिए । अझै रोचक त के भने उनी लुटतन्त्र विरुद्ध भन्ने नारासहित २०७४ सालको आम निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ मा उम्मेदवार थिए ।

तत्कालीन विवेकशील साझा पार्टीको तराजु चिह्नबाट चुनाव लड्दा उनले ८२७ मत ल्याएर तेस्रो स्थान बनाएका थिए ।

Advertisement

भलै त्यो निर्वाचन तत्कालीन एमाले उम्मेदवार जगतबहादुर विश्वकर्माले ३२ हजार ६ सय ९० मत ल्याएर जिते र पछि खेलकुद मन्त्रीसमेत भएका छन् । ३ साउनलाई नेपाली इन्जिनियरहरु इन्जिनियर्स दिवस मनाउँछन् । त्यसकै पूर्वसन्ध्यामा इन्जिनियर मीलनको घुसकाण्ड उदांगो भयो ।

मीलन हाम्रो समाजका प्रतिनिधि पात्र हुन् । प्रश्न मीलनको होइन । प्रश्न त भर्खरै करियर बनाउँदै गरेको युवा इन्जिनियर किन घुसमा लालायित छ ? हाम्रा युवा पनि किन भ्रष्टाचारमा उद्दत छन् ? भन्ने हो ।

अझ आफै भ्रष्टाचारको विरोधी अभियन्ता बनेको मान्छे नै भ्रष्टारचारमा आकर्षित किन छ ? के हामी पाखण्डीहरुको समाज भएका छौं ? प्रश्न टड्कारो बनेको छ ।

अख्तियारले दिनदिनै जसो घुससहित सरकारी कर्मचारीहरु पक्रेको पक्र्यै छ । तर घुस खाने खोज्नेहरु कम भएका छैनन् । कोरोना महामारीले संसारै आक्रान्त हुँदा मान्छेहरु बाँच्नै पो पाइन्न कि भन्नेसम्मको त्रासमा थिए ।

त्यस्तो बेलामा पनि अख्तियारले कर्मचारीहरुलाई घुससहित पक्राउ गरेको ग¥यै थियो । भ्रष्टाचार भनेको कतिसम्मको कुरा रहेछ भन्ने त्यस्ता दृष्टान्तले देखाउँछन् ।

अझ अख्तियारले समातेका घुसकाण्डमा संलग्न धेरैजसो इन्जिनियर र प्राविधिकहरु धेरै छन् भनेर पनि भन्ने गरिएको छ । यसको तुलनात्मक तथ्यांक सार्वजनिक भएको छैन, तर प्राय प्राविधिकहरु पक्राउ पर्दा मानिसहरुको नजरले त्यस्तै ठम्याउँदैछ । स्कुलमा अब्बल विद्यार्थी हुनेहरु नै डक्टर र इन्जिनियर हुने नेपाली समाज कस्तो भएको होला ?

किन तिनै अब्बल अर्थात स्कुल पढ्दासम्मका फस्ट सेकेन्ड व्यायहरु (गर्लहरु भ्रष्टाचारमा पनि परेको भेटिएको छैन हाला कि फस्ट र सेकेन्ड ब्वायमात्रै हुँदैनन् गर्लहरु पनि उत्तिकै हुन्छन्) यसरी अनैतिक र भ्रष्ट कर्ममा उद्दत छन् ? उनीहरुले कस्तो शिक्षा पाएका रहेछन् ?

वास्तवमा मानिस आफैं नैतिकवान र निष्ठावान नभएसम्म सरकारी अरु संयन्त्रले चाहेर पनि यसको अन्त्य गर्न कठिनै छ । सिंगो समाजमै भ्रष्टाचारले जरा गाडेको छ ।

छाल गनेर पनि भ्रष्टाचार गर्नेहरु थुप्रै छन् यहाँ । तसर्थ समाजलाई नै नैतिकवान बनाउन जरुरी छ, राष्ट्रभक्त र जनता भक्त बनाउन जरुरी छ । आफ्नो व्यावसायिक धर्ममा निष्ठावान बनाउन जरुरी छ ।

किनभने भ्रष्टाचारलाई पूरापूर अन्त्य गर्न सकिन्न, यसलाई नियन्त्रणमात्रै गर्न सकिन्छ । किनभने भ्रष्टाचारीहरुले कसरी भ्रष्टाचार गर्न भन्नेबारे चाणक्यले ऊ बेलै भनेका थिए कि भ्रष्टाचार पत्ता लगाउनु र आकाशमा उडेको चराको बाटो पत्ता लगाउनु उस्तै उस्तै हुन्छ ।

तसर्थ भ्रष्टाचारै हुन नदिने र नगर्ने वातावरण सिर्जना गर्नेतर्फ लाग्नुपर्छ ।

तपाईको प्रतिक्रिया