पोखराको ट्राफिक व्यवस्थापन सुधार्न सरोकारवालाले गराए ध्यानाकर्षण

समाधान संवाददाता २०७७ साउन ७ गते १८:४६

साइलेन्सर पाइप मोडिफाइ गरी ध्वनी प्रदूषण गराउने मोटरसाइकल चालक र मोडिफाइ गर्न सघाउने वर्कसपलाई कारवाही गर्न माग

समाधान संवाददाता, पोखरा

Advertisement

कोरोना महामारीका कारण लागु गरिएको लकडाउन अन्त्य भएसँगै सहरी क्षेत्रमा हुने ट्राफिक अस्तव्यस्तताको उचित व्यवस्थापन गर्न सरोकारवालाहरुले कास्की ट्राफिक प्रहरीको ध्यानाकर्षण गराएका छन् ।
सडक सुरक्षा, सौन्दर्यकरण एवं वातावरण सरसफाई लगायतका अभियानमा क्रियाशिल पोखरा उपत्यका वृहत सफाई अभियान, स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपाल, नागरिक समाज पोखराले कास्की ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष रोकालाई १३ बुँदामा सुझावसमेत दिएका छन् ।

दुर्घटना न्यूनिकरणमा प्रभावकारी भूमिका निभाउने अपेक्षा सहित निकायको ध्यानाकर्षण गराएको नागरिक अगुवा रामबहादुर पौडेलले बताए । सडकको प्रकृति र लेनअनुसार स्पिड लिमिट कायम गर्न महानगर, सडक डिभिजनसँग समन्वय र सहकार्य गरी आवश्यकता अनुसारका संकेत चिह्न राख्नुपर्ने उनले बताए ।

Advertisement

ट्राफिक व्यवस्थापनमा नागरिकको पनि साथ लिएर काम थाल्न सरोकारवालाहरुले ट्राफिक प्रमुख रोकासँग आग्रह गरे । ओभर स्पिड, लोड र ओभर टेक जस्ता गतिविधिका कारण दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न कडा निगरानी राख्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

चाइनापुलदेखि पृथ्वीचोकसम्म लामो दुरीका बस रोकेर यात्रु चढाउने गतिविधिले पोखराको मुख्य प्रवेशद्वार असभ्य, अव्यवस्थित, प्रदूषणमय र साँघुरो भएकाले बसपार्कबाटै सञ्चालन गर्न सरोकारवालाको जोड छ । नगरबसले सहरका विभिन्न ठाउँमा जथाभावी रोक्ने गरेको कार्यले सडक साँघुरो बनाएको र बेगनासतालबाट सञ्चालित नगर बसको तीव्र गति विरुद्ध व्यापक गुनासो आएकोले नियन्त्रण तथा अनुगमन गर्न ट्राफिकलाई आग्रह गरिएको छ ।

Advertisement

साइलेन्सर पाइप मोडिफाइ गरी ध्वनी प्रदूषण गराउने मोटरसाइकल चालक र मोडिफाइ गर्न सघाउने वर्कसपलाई कारवाही गर्न माग गरिएको छ । मालबाहक ट्रक र निर्माण सामग्री ओसार्ने ट्रिपरलाई समय तालिका तोकी समयसीमा बमोजिम सहरी क्षेत्रमा प्रवेश गराउने व्यवस्था मिलाउन सरोकारवालाहरुको आग्रह गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै ट्राफिक प्रमुख सन्तोष रोकाले ट्राफिक व्यवस्थापनमा मूलतः ३ विषयक्षेत्र समावेश हुने बताए । रोड इन्जिनियर, शिक्षा र कार्यान्वयन पक्ष समावेश हुने उनले सुनाए । रोड इन्जिनियरिङको पाटो सडक डिभिजनको हुने, शिक्षाको पाटो यातायात कार्यालय र कार्यान्वयनमा मात्र ट्राफिकको हात हुने बताए । तर सबै व्यवस्थापनमा ट्राफिक खटिन नसकिने प्रमुख रोकाको भनाई छ ।
नागरिक अगुवा रामबहादुर पौडेलले नागरिकलाई साथमा लिएर समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया