पोखरेली उपभोक्ताको पक्षमा खानेपानी संस्थान : अध्यक्ष चौधरी

समाधान संवाददाता २०७७ साउन ८ गते १३:४४

केदार धमला, पोखरा

Advertisement

नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष जीउलाल चौधरीले पोखरेली उपभोक्ताको हितमा संस्थान क्रियाशील भएर लागेको बताएका छन् ।

जापानिज सहयोग संस्था जाइकाले सुरु गरेको खानेपानी शुद्धीकरण आयोजनाको अवलोकन गर्न पोखरा आइपुगेका अध्यक्ष चौधरीले पोखरा शाखा ठूलो भएकोले बजेटदेखि कर्मचारी व्यवस्थापनमा संस्थानको पहिलो प्राथमिकता रहेको बताए ।

Advertisement

नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन सकिएसँगै काम थालनी गर्ने जानकारी दिए । मजदुरका कारण रोकिएको समस्या खुकुलो भएकोले समस्या नपर्ने उनको भनाई थियो ।

अध्यक्ष चौधरीले सेती किनार हुँदै पोखरा सहरमा आएको खानेपानीको पाइप जोगाउन स्थानीय, प्रदेश र नगरपालिकासँग सहकार्य गर्नुपर्ने बताए ।

Advertisement

उनले तटबन्ध बनाउन स्थानीयको जमिन जोगाउँदै सबैको सहकार्यमा काम सम्पन्न गर्ने बताए । पोखरेली उपभोक्तालाई स्वच्छ खानेपानी वितरण गर्दै सिंगो महानगरमा संस्थानले सेवा गर्ने बताए ।

साविकको लेखनाथ नगरपालिकालाई समेत समेटेर संस्थानको आकार बढाउने उनको धारणा थियो । लेखनाथ उपभोक्ता समितिमा कार्यरत करिव ३४ जना कर्मचारीलाई उचित व्यवस्थापन गर्ने योजना संस्थानले बनाउने उल्लेख गरे ।

अध्यक्ष चौधरीले खानेपानी मन्त्रालयको लक्ष्य र योजना अनुरुप बक्यौता रकम संकलन गर्न संस्थानले काम गरिरहेको बताए । उपभोक्ताको हितमा पानी महशुलमा लागेको जरिवानामा ९० प्रतिशतसम्म बक्यौताको प्रकृति अनुरुप छुटको योजना सार्वजनिक गरिएको बताए ।

जाइकाको नेपाल सरकारलाई अनुदान र सरकारबाट खानेपानी संस्थानलाई करिव ५ अर्ब रुपैयाँको ऋण लगानीमा निर्माण भइरहेको पोखरा खानेपानी शुद्धिकरण आयोजनाको काम निर्धारित समयमै सकिने संस्थान पोखरा शाखा कार्यालयका प्रमुख ई. आशिष कार्कीले जानकारी दिए ।

२०७९ सालसम्ममा शुद्ध पानी पोखरेलीको धारामा झर्ने कार्कीले दावी गरे । आयोजना निर्माणमा लकडाउनले केही ढिलाई भएपनि आयोजनाले थप म्यानपावर र निर्माण सामग्रीको जोहो गर्ने तयारी गरिरहेको आयोजनामा खटिएका ई. सन्तोष दासले बताए । दासले भने, ‘४ महिना जापानिज साथीहरुका कारण ढिलाई हुनेमात्र हो, आयोजना ढिलाई हुने होइन ।’

२०७६ साल जेठमा खानेपानी मन्त्री विना मगरले शिलान्यास गरेसँगै आयोजनाले लिएको गतिमा गत पुससम्ममा १९ प्रतिशत काम सम्पन्न भएको थियो भने लकडाउन पूर्वमात्र ४ प्रतिशत काम सम्पन्न भएको ई. दासले जानकारी दिए ।

लकडाउन सुरु अघि लक्ष्यभन्दा डेढ प्रतिशतका दरले काम हुँदै आएको थियो । आयोजनामा ६ सय जना मजदुरले काम गर्दै आएकामा संख्या बढाउने तयारीसमेत भएको ओजनाका प्रमुख एवं नेपाल खानेपानी संस्थान ईन्जिनियरिङ महाशाखा प्रमुख ईश्वर प्रसादले जानकारी दिए ।

खानेपानी संस्थानले जाइका आयोजना अन्तर्गतकै मुख्य सहरमा पाईप लाइनको काम गरिरहेको पोखराका प्रमुख ई. कार्कीले बताए ।

पानी वितरणका लागि सडकमा पाइप बिस्तारको काम करीब १५ प्रतिशत सकिएको छ । १ सय किलोमिटर खानेपानी पाइप बिस्तार गर्नुपर्नेमा हालसम्म १५ किलोमिटरमा पाइप बिस्तार गरिसकिएको उनले जानकारी दिए ।

आयोजना सम्पन्न भएससँगै पोखरा महानगरका १ नम्बर वडादेखि १९ वडासम्मका नगरबासीले स्वच्छ खानेपानी पिउन पाउने छन् ।

पोखरामा दैनिक ४ करोड ८० लाख लिटर पानी खपत भएपनि उपभोक्ताको चाहना अनुरुप पानी प्रदान गर्न सकिएको छैन । पोखरामा दैनिक ५ करोड ८० लाख लिटर माग छ ।

आयोजनामा पहिलो चरणको ग्रिड च्याम्बर र सेडिमेन्टेसन निर्माणले गति लिएको प्रमुख कार्कीले जानकारी दिए ।

आयोजना अन्तर्गत मर्दी मुहानमा बनाइने ४ दशमलव १ करोड लिटरका ४ वटा ग्रिड च्याम्बर, बालुवा हटाउने ट्यांकी ४.१ करोड लिटरका २ वटा सेडिमेन्टेसन ट्यांकी निर्माणको काम १० प्रतिशत सकिएको छ ।

पानी प्रशोधनका लागि हेमजा उत्तरतर्फ रहेको याम्दी खोलापारि पोखरा महानगरपालिका वडा नम्बर २५ मा निर्माण गरिँदै गरेको सफा पानी ट्यांकी ९३० घन मिटरका २ वटा, पानी छान्ने फिल्टर ४.१ करोड लिटरका ६ वटा र फिल्ट्रेसन प्लान्टको काम झन्डै ७० प्रतिशत सकिएको छ ।

पानी वितरणका लागि २०/२० लाख लिटरको ३ ठाउँमा निर्माणाधीन पानी ट्यांकी मध्ये पोखरा फूलबारीको ८० प्रतिशत, पस्र्याङको ५ प्रतिशत र कोलपाटनको ओभरहेड पानी ट्यांकी निर्माणको १५ प्रतिशत सकिएको उनले जानकारी दिए ।

आयोजना निर्माण पश्चात पोखरेलीले सिधै धाराबाट पिउन मिल्ने पानी प्राप्त गर्नेछन् । मेलम्ची खानेपानी आयोजना पछिको नेपालकै दोस्रो ठूलो खानेपानी आयोजना मर्दी खोला आयोजनाको काम जापानको हाज्मा आन्दो कर्पोरेसनले गर्दैै आएको छ ।

तपाईको प्रतिक्रिया