मृत्युको ३ हप्ता पहिला पोखरामा पार्टी दिएकी थिइन् चिनियाले
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/corona-death-woman-chinese.jpg)
अनुप पौडेल, पोखरा
कोरोना भाइरस संक्रमित चिनिया १ महिलाको बुधबार मृत्यु भयो । पोखराबाट उपचारका लागि काठमाडौं पुगेकी ४९ वर्षीया ती महिलाको शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई पोखराबाट हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । त्यसअघिचाहिँ पोखराकै मणिपाल पुर्याइएको थियो ।
मणिपालले काठमाडौं जान सुझाएपछि उनलाई ग्रान्डी अस्पताल पुर्याइयो । मृतक चिनिया महिलाको ‘प्राइमेरी कन्ट्याक’ मा आउने अधिकांश चिनियानै छन् ।
उनको सम्पर्कमा आएका १७ चिनिया र ५ नेपालीको स्वाब संकलन भइसकेको पोखरा महानगरपालिका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
३१ असार राति ती महिलाको स्वास्थ्यमा समस्या देखियो । ३ जना चिनिया साथीले राति १२ बजे आसपास मणिपाल शिक्षण अस्पताल पु¥याए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेकी चिनिया महिलालाई हृदयघात भएको मणिपालका डाक्टरले बताए ।
स्वास्थ्यमा समस्या देखिनुभन्दा १३ दिन पहिले उनले आफ्ना साथीलाई
‘पार्टी’ दिएकी थिइन् । त्यसैले महिलालाई ‘पार्टी’ बाट कोरोना सरेको अनुमान गरिएको छ । फेवा किनारको गौरीघाटमा होटल सञ्चालन गर्दै आएकी उनले १९ जनालाई १७ असारमा पार्टी दिएकी थिइन् ।
पार्टीमा ती महिलासहित १७ चिनिया र ३ नेपाली सहभागी थिए । उनी नेपालमा एक्लै बस्दै आएकी थिइन् । १ वर्षदेखि चीन नफर्किएकाले कोरोनाको स्रोत १७ असारको पार्टी भएको अनुमान अधिकृत आचार्यले लगाए ।
उनले भने, ‘बाहिर गएको देखिएन । चीनबाट आएका साथीलाई पार्टी दिएकी रहिछन् । त्यहीँबाट सर्याे भन्ने अनुमान छ ।’ उनले आफ्नै होटलमा नभई साथीको होटलमा सबैलाई बोलाएकी थिइन् ।
लेकसाइडकै चिनजानकी साथी सीता (परिवर्तित नाम) ले ती चिनिया बिरामी भएको थाहा पाइन् । सीता चिनियासँग विवाह गर्ने नेपाली महिला हुन् । त्यसले गर्दा उनीहरुबीच चीनजान थियो । सीता बिहानै १२ वर्षीया छोरीसहित मणिपाल पुगिन् । अहिले कोरोना परीक्षणका लागि स्वाब दिएपछि उनीहरु घरमै बसेका छन् ।
समस्या थप जटिल बन्दै गएपछि चिनियाँ महिलालाई काठमाडौं लैजाने तयारी गरियो । मनिपाल पु-याएको भोलिपल्टै प्रभु हेलिकोप्टरमार्फत उनलाई ग्रान्डी अस्पताल लगियो ।
पोखराबाट ती महिलालाई लिएर उनका भाइ, एक डाक्टर, एक क्याप्टेन र हेलिकोप्टरका स्टाफ काठमाडौं गएका थिए ।
महिलासँग गएका सबै काठमाडौंमै छन् । ग्रान्डीबाट कोरोना परीक्षणका लागि स्वाब लिँदा पोजेटिभ देखियो । त्यसपछि शिक्षण अस्पतालमा रेफर गरिएको थियो ।
‘उहाँको परिवारबारे हालसम्म केही खुल्न सकेको छैन । पोखरामै रहेकाहरुसँग दोभाषे प्रयोग गरेर सोधपुछ गरिरहेका छौं,’ अधिकृत आचार्यले भने ।
तपाईको प्रतिक्रिया