पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिस्टार नियुक्ति माग्दै अनसन
रामशरण नेपाली, लेखनाथ
पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहँदै आएको उपकुलपति र रजिस्टार नियुक्तिको माग गर्दै नेविसंघले अनसन थालेको छ ।
विद्यार्थी नेताहरु गोविकृष्ण तिवारी, निरोज लामिछाने र राजीव भण्डारीले बिहीबारबाट केन्द्रीय कार्यालयको गेटमै रिले अनसन सुरु गरेका हुन् । आफूहरुको माग पूरा नहुँदासम्म अनसन जारी राख्ने विद्यार्थी नेता गोपीकृष्ण तिवारीले बताए ।
विगत १० महिनायता विश्व विद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै रिले अनसन बस्नुपरेको राजीव भण्डारीले वताए ।
विश्वविद्यालय नेतृत्वविहीन नभएपछि विश्व विद्यालयको सभा, कर्मचारी नियुक्ति, शिक्षक नियुक्ती, परिक्षा प्रणाली, छात्रवृत्ति, स्ववियुको चुनाव, दीक्षान्त समारोह, टिचिङ अस्पतालको निर्माण लगायत काम प्रभावित भएका छन् ।
उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिकाविहीन बनेको छ । उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको पदसमेत रिक्त छ । पूर्णकालीन पदाधिकारी नहुँदा विश्व विद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न सकेको छैन ।
विश्वविद्यालयका पूर्वउपकुलपति चिरञ्जीवी शर्माको कार्यकाल गत वर्षकै असोज ७ गते सकिएको थियो । त्यसलगत्तै विश्वविद्यालयको कुलपति तथा प्रधानमन्त्रीको निर्देशनमा डिन बुद्धिराज जोशीको ३ महिने नियुक्ति भयो ।
उनको पनि ३ महिने म्याद सकिएपछि प्राडा इन्द्रप्रसाद तिवारीलाई पुस १४ गते अर्को व्यवस्था नभएसम्मका लागि नियुक्ति दिइयो । तिवारी वैशाख २१ गते अवकास भए ।
शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटीले उपकुलपतिमा मंसिरमै ३ जनाको नाम सिफारिस गरे पनि प्रधानमन्त्रीले अझै नियुक्ति गरेका छैनन् ।
यसबीचमा सरकारले पोखरा विश्व विद्यालयको नाममा पोखरा ३२ मा रहेको ३५० रोपनी जग्गासमेत गण्डकी विश्व विद्यालयलाई दिने निर्णयसमेत गरिसकेको छ ।
तपाईको प्रतिक्रिया