किताबमा श्रीमान् थुलुङको सम्झना

समाधान संवाददाता २०७७ साउन ९ गते ९:५२

समाधान संवाददाता, पोखरा

Advertisement

गायक, संगीतकार एवं गीतकार श्रीमान थुलुङको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थको विमोचन गरिएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्तले ‘स्मृतिमा श्रीमान थुलुङ’ नाम सो स्मृति ग्रन्थको विमोचन गरे । स्मृति ग्रन्थको विमोचन गर्दै सरुभक्तले स्मृति ग्रन्थले श्रीमान थुलुङको सम्झना गराइरहने बताए ।

Advertisement

गायक श्रीमान थुलुङलाई चिर स्थायी बनाउन स्मृति ग्रन्थको महत्वपूर्ण भूमिका हुने भन्दै उनले परिवारको सक्रियता र सहयोगी मनहरूको सहकार्यमा अक्षयकोष स्थापना गरी संगीत क्षेत्रका प्रतिभालाई सम्मानको थालनी गर्न लागिएकामा खुसी व्यक्त गरे । सरुभक्तले अक्षयकोषका लागि आफूले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं कास्कीका सह–इन्चार्ज श्रीनाथ बरालले श्रीमान थुलुङले जति जीवन बाँचे त्यति सार्थक जीवन बाँचेको विचार राखे । ‘श्रीमान थुलुङका सपना पूरा गर्न बाँचेकाहरूले विशेष काम गर्नुपर्छ,’ उनले भने ।

Advertisement

पूर्वाञ्चल सेवा समाज, कास्कीका अध्यक्ष गोपाल खड्काले श्रीमान थुलुङ सबैसँग मिल्न सक्ने मिलनसार व्यक्तित्व भएको बताउँदै उनले सञ्चालन गरेको तराना म्युजिक सेन्टरलाई संगीत शिक्षालयका रुपमा विकास गर्न सके सच्चा श्रद्धाञ्जली हुने धारणा राखे ।

स्मृतिमा श्रीमान थुलुङ स्मृति ग्रन्थ प्रकाशन समितिका संयोजक डीबी राईको अध्यक्षतामा भएको विमोचन समारोहमा अनुज कुलुङले समीक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा किरात सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र राई, संरक्षक डा. लक्ष्मीप्रसाद राई, त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक नवराज बराल, प्रकाशन समितिका सम्पादक अनुराग अधिकारी, रुपिन्द्र प्रभावी लगायतले थुलुङको व्यक्तित्वबारे बोलेका थिए । त्यस अवसरमा स्मृति राई, संगीता राई र उमेश राईले थुलुङको सम्झनामा गीत सुनाए ।

थुलुङको २०७५ साल चैत २८ गते अकल्पनीय दुर्घटनामा परी निधन भएको थियो । उनको प्रथम स्मृति दिवसको अवसरमा विमोचन गर्ने तयारी गरिएको भए पनि विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण स्मृति दिवसको दिनमा विमोचन हुन सकेन । तर, बुधबार थुलुङको ५५ औं जन्म जयन्तीको अवसर पारेर स्मृति ग्रन्थ विमोचन गरिएको प्रकाशन समितिका संयोजक राईले प्रष्ट पारे ।

स्मृति ग्रन्थ बिक्रीबाट आएको रकमबाट श्रीमान थुलुङको सम्झनामा अक्षयकोष स्थापना गरी हरेक वर्ष संगीतको क्षेत्रमा अगाडि बढ्ने संगीतकर्मीलाई सम्मान गरिने राईले जानकारी दिए । स्मृति ग्रन्थको प्रकाशक तराना म्युजिक सेन्टर र संरक्षक थुलुङकी श्रीमती विमला राई छन् ।

स्मृति ग्रन्थमा ४६ शीर्षकमा ४६ जना विभिन्न क्षेत्रका व्यक्तिले श्रीमान थुलुङको बारेमा लेखेका लेख समावेश गरिएको छ ।

जन्मथलो पोखरा नभए पनि कर्मथलो पोखरालाई बनाई थुलुङ सांगीतिक क्षेत्रमा सक्रिय थिए । उनको जन्म प्रदेश नं. १ को सोलुखुम्बु जिल्लामा भएको हो । २०५० सालमा थुलुङ भाषाको गीत ‘बान्तालङ मेनु ल म्यो दयुखा’मार्फत रेडियो नेपालमा उनले स्वर परीक्षा उत्तीर्ण गरेका थिए ।

पोखराको सयपत्री संगीत प्रशिक्षण केन्द्रमा ९ वर्ष संगीत प्रशिक्षकको रूपमा काम गरेपछि आफैंले तराना म्युजिक सेन्टर स्थापना गरेका थिए । दैनिक रुपमा गायन प्रशिक्षण, तबला, बाँसुरी, गीतार, मादल, ढोलकका नयाँ प्रतिभा पोखरामा उत्पादन गर्न उनको महत्वपूर्ण योगदान छ ।

तपाईको प्रतिक्रिया