‘माई लर्ड, आफ्नै भविष्यदेखि डर लाग्यो !’
अनुप पौडेल, पोखरा
पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेकाे पदपूर्तिको माग गर्दै विद्यार्थी सडकमा उत्रिएका छन् । विश्वविद्यालय नेतृत्वविहीन भएपछि पठनपाठनमा समस्या भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने उनीहरुको माग छ ।
उपकुलपति नियुक्तीको माग गर्दै विद्यार्थीले शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि प्रदर्शन गरेका छन् । उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको सभा, शिक्षक नियुक्ती, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत काम प्रभावित भएको छ ।
प्रदर्शनमा सहभागी विद्यार्थी प्रदीप पौडेलले विगत १० महिनायता उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको पठनपाठनले गति लिन नसकेको बताए । पूर्णकालीन नेतृत्व चयन नहुँदा अन्य विश्वविद्यालयका विद्यार्थीभन्दा आफूहरु पछि परेको उनले सुनाए ।
‘अरु विश्वविद्यालयका साथी र म एउटै दौडमा छौं । तर हाम्रोमा दौड कहिले सुरु हुन्छ भन्ने नै अन्योल छ । अरु विश्वविद्यालयकासँग कसरी प्रतिष्पर्धा गर्ने ?,’ पौडेलले सरकारलाई प्रश्न गरे । जिम्मेवार पदाधिकारी नहुँदा विश्वविद्यालयमा अध्ययनरत ४० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको उनले बताए ।
प्रदर्शनमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ला–ग्रान्डी, पोखरा कलेज अफ म्यानेज्मेन्ट, पोखरा इन्जिनियरिङ कलेजका विद्यार्थी सहभागी थिए । उनीहरुले ‘पोखरा विश्वविद्यालय बिर्सिनु भयो कि कुलपति ज्यू’, ‘माई लर्ड, मलाई आफ्नै भविष्यदेखि डर लाग्यो’, ‘निमित्त होइन पूर्णकालीन नेतृत्व चाहियो’, लगायतका प्लेकार्ड बोकेका थिए ।
विद्यार्थीले शुक्रबार नै सिडिओ ज्ञानप्रसाद ढकाललाई दुई बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा ४ दिनभित्र उपकुलपति नियुक्तीबारे जानकारी गराउन र प्राध्यापक तथा विद्यार्थीलाई शिक्षा मन्त्रालयसँग सम्पर्क गर्ने वातावरण बनाइदिन आग्रह गरिएको छ । ४ दिनभित्र आफूहरुको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने
विद्यार्थी सृष्टी जोशीले बताइन् ।
उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको पदसमेत रिक्त छ । साथै परीक्षा नियन्त्रक र विभिन्न केन्द्रका कार्यकारी निर्देशक पनि छैनन् ।
तत्कालीन उपकुलपति चिरञ्जीवी शर्माको कार्यकाल गत वर्षकै असोज ७ गते सकिएको थियो । त्यसलगत्तै विश्वविद्यालयको कुलपति तथा प्रधानमन्त्रीको निर्देशनमा डिन बुद्धिराज जोशीको ३ महिने नियुक्ति भयो । उनको कार्यकाल सकिएपछि अहिले विश्वविद्यालय नेतृत्वविहीन बनेको हो ।
सन् १९९६ मा स्थापित विश्वविद्यालयका चार आंगिक र देशभर ५५ वटाभन्दा बढी सम्बन्धन प्राप्त कलेज छन् ।
तपाईको प्रतिक्रिया