महानगरको ‘ढुकुटी चोर्ने’लाई हुन्न कारबाही, पैसा फिर्ता गरे पुग्छ !

समाधान संवाददाता २०७७ साउन ९ गते १८:१४
sdr

ईश्वर देवकोटा, पोखरा

Advertisement

सेवाग्राहीले तिरेको राजस्व लुकाउने कर्मचारीलाई पोखरा महानगरपालिकाले दण्डित गर्नुको साटो उन्मुक्ति दिएको छ । उल्टै जसले चोरी थाहा पायो र महानगरमा उजुरी दियो, उनैलाई जिम्मेवारीबाट तानिएको छ ।

पोखरा १३ वडा कार्यालयका खरिदार दीपेन्द्रप्रसाद मरासिनीले २ जना सेवाग्राहीबाट घरनक्सा पासका लिएको राजस्व अपचलन गरेको पुष्टि हुँदासमेत कारबाही हुन नसकेको हो ।

Advertisement

२ वटा कार्बन हस्तलिखित रसिदबाट मरासिनीले २३ हजार ७ सय ९५ रुपैयाँ सेवाग्राहीबाट राजस्व लिएका थिए तर कम्प्युटर सफ्टवेयर मार्फत महानगरमा १ हजार ३० रुपैयाँमात्रै दाखिला गरेका थिए ।

उक्त राजस्व २०७६ फागुन १२ गते लिइएको हो । मरासिनीको गल्ती झन्डै ५ महिनापछि वडा कार्यालय १३ मा सञ्चालित सेवा केन्द्र ४ ले पत्तो पाएपछि महानगरसम्म पुगेको थियो ।

Advertisement

गल्ती फेलापरेपछि कारबाहीमा पर्ने डरले उनले आफ्नै नामबाट ‘नक्सापास वा सम्पन्न नामसारी आसिसी’ शीर्षकमा ०७७ असार १६ गते बाँकी रकम दाखिला गरेका छन् ।

कर्मचारी मरौसनीको गल्ती फेलापरे पनि अहिलेलाई सचेत मात्र गराइएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले समाधानलाई बताए । ‘कर्मचारीसँग स्पष्टीकरण माग भएको हो । स्पष्टीकरण चिक्त बुझेन । दोस्रोपटक पनि माग भयो,’ उनले भने, ‘कर्मचारी मरासैनीले सफ्टवेयर नचलेकाले हस्तलिखित रसिद काटेको र अहिले उक्त पैसा आफूले जम्मा गरिसकेको भने ।’

विद्यमानमा जे व्यवस्था थियो सोहीअनुसारको कर्मचारी उपरको प्रक्रिया टुंग्याइएको पौडेलले जानकारी दिए । ‘यस्ता प्रकृतिका गल्ती नदोहो¥याउने गरी सचेत गराइयो,’ उनले भने । स्पष्टीकरण सोध्नभन्दा पहिल्यै कर्मचारी मरासिनीले रकम दाखिला गरिसकेकाले सचेत गराइएको पौडेल बताउँछन् ।

‘कर्मचारीलाई विभागीय कारबाही गर्नलाई कानुन चाहिन्छ । स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई कारबाही सम्बन्धी कानुनी व्यवस्था छैन,’ उनले भने, ‘भोलि उसले च्यालेन्ज गर्यो भने आधार त चाहियो ।’

संघले आधार मापदण्ड तोकेर प्रदेशले कानुन बनाएपछि सोही आधारमा महानगरले आफ्नो कानुन बनाउन सक्ने हुँदा माथिबाटै अभाव भएको सूचना अधिकारी पौडेलले बताए ।

कर्मचारी मरासिनी जिल्ला विकास समितिबाट समायोजन भई महानगरमा आएका कर्मचारी हुन् । उनको हकमा निजामती कर्मचारीको जस्तो कानुन आकर्षित नहुने पौडेलको तर्क छ ।

गल्ती पत्तो पाएकै दिन राजस्व दाखिला

वडा कार्यालयमा सफ्टवेयरकै माध्यमबाट राजस्व आम्दानीका रसिद काट्न्छि । तर मरासिनीले सेवाग्राहीलाई हस्तलिखित रसिद थमाए ।

सेवाग्राहीको जब घर नक्सा सम्बन्धी काम अघि बढ्यो प्राविधिकले फाइल हेर्दा हस्तलिखित रसिद भेटेपछि सेवा केन्द्र प्रमुखलाई प्रमाणित गरिदिन भने ।

केन्द्र प्रमुख अशोककुमार सुनारले रसिद नं. ७३२१४ र ७३२१५ को हस्तलिखित आम्दानी रसिदमा विष्णुमाया तिमिल्सिना र बुद्धिसागर तिमिल्सिनाको नाममा क्रमशः ११ हजार ८ सय १५ र ११ हजार ९ सय ८० रहेको तर अनलाइनमा दाखिला नभएको जानकारी महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई दिए ।

राजस्व शाखाले पत्र पाएको भोलिपल्टै असार १७ गते सेवा केन्द्रलाई उक्त हस्तलिखित रसिद अनुसारको रकम दाखिला नभएको जानकारी दियो ।

कर्मचारी मरासिनीले काटेको हस्तलिखित रसिद नम्बरको अनुसारको आम्दानी अनलाइनमा हेर्दा एउटाबाट ३ सय र अर्कोबाट ७ सय ७० रुपैयाँ दाखिला भएको पाइयो । त्यसमा पनि घर नक्साका वास्तविक सेवाग्राहीको नभई नवीना गुरुङ र गीता भट्टराईको नाममा दाखिला भएको देखायो ।

केन्द्रबाट असार १६ मा महानगरलाई पत्रमार्फत सेवा केन्द्र प्रमुख सुनारले जानकारी गराएका थिए । गल्तीबाट पन्छिन सोही दिन कर्मचारी मरासिनीले आफ्नै नामकाे ७३५८५ रसिदबाट २३ हजार ७ सय ९५ रुपैयाँ एकमुष्ठ दाखिला गरे ।

उनले राजस्व फिर्ता गरेपनि सेवाग्राहीले सास्ती भोग्नु परेको छ । कर्मचारी मरासिनीको नाम राजस्व तिरेको रसिदमा भएपछि वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले सेवाग्राहीको नाममा रसिद प्रमाणित गर्न महानगर राजस्व शाखालाई सिफारिस पठाएका छन् ।

‘भुलवंश दीपेन्द्रप्रसाद मरासिनी हुन पुगेको तर कैफियतमा रसिद नम्बरहरु उल्लेखित भएकोमा असार १६ गतेको रसिदलाई नै विष्णुमाया तिमिल्सिना र बुद्धिसागर तिमिल्सिनाको नाममा प्रमाणित गरिदिनुहुन,’ वडाध्यक्ष लामाले पठाएको सिफारिसमा भनिएको छ ।

कारबाही सिफारिस गर्ने कर्मचारी महानगर तानिए

राजस्व लुकाएर गल्ती गर्ने कर्मचारी मरासिनीलाई सेवा केन्द्र प्रमुख अशोककुमार सुनारले कारबाही सिफारिस गरे । महानगरले गल्ती गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुको साटो कानुनी समस्या देखाएर उन्मुक्ति दियो । तर नियमसंगत काम हुनुपर्छ भन्ने कर्मचारी सेवा केन्द्र ४ प्रमुख सुनारलाई महानगरमा तानिसकेको छ ।

उनले कर्मचारी दीपेन्द्रप्रसाद मरासिनीलाई कारबाही सिफारिस गरेको केही दिनमै महानगर तानिएको हो । अधिकृत सातौंस्तरका सुनार निजामती तर्फबाट समायोजन भई स्थानीय तहमा आएका हुन् ।

महानगरमा तानिएका उनलाई जिम्मेवारविहीन बनाइएको छ । ‘साउन ६ गतेको निर्णयले सेवा केन्द्र प्रमुखको जिम्मेवारीबाट महानगरमा तानिएको जानकारी आएको छ,’ सुनारले समाधानसँग भने, ‘अहिले बिदा लिएर बसेको छु ।’

अधिकृत सुनारलाई महानगर तान्ने काम कारबाही सिफारिससँग सम्बन्धित नरहेको सूचना अधिकारी भरतराज पौडेलले दाबी गरे ।

तपाईको प्रतिक्रिया