विरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा, पुरै बजार सुनसान
समाधान संवाददाता
कोरोना भाइरसको संक्रमण समुदायमा सरेको आशंकासंगै तराईको ब्यापारिक सहर विरगञ्जमा अनिश्चितकालिन कफ्र्यू (निषेधाज्ञा) सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज विहानै देखि सो आदेश लागु गरेको छ ।
आदेश जारी भएसंगै पुरै बजार क्षेत्र सुनसान छ । अत्यावश्यक अर्थात विरामी बाहेक अरु कसैलाई सडकमा निस्कन प्रतिबन्ध लागेको छ । बजार पुरै बन्द छ । औद्योगिक नगरीको रुपमा चिनिने विरगञ्जका उद्योग धन्दा पनि बन्द छन् ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।
खास गरेर भारतीय आवागमन ठप्प पारिएको छ । उताबाट गाडी आउन समेत पाउने छैनन् । खास गरेर भारतीय क्षेत्रमा महामारी फैलिएपछि नेपाली पक्ष सजग बनेको हो ।
‘भारतबाट पूर्णरुपमा प्रवेशमा रोक लगाइएको छ । सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने, लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण गर्न नसकेको ठाउँमा सेना समेत परिचालन गर्ने निर्णय स्थानीय प्रशासनले गरेको छ ।
वीरगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमा फैलिएको छ । समुदायस्तरमा संक्रमण फैलिएको चर्चा सुरु भएलगत्तै स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्न दबाव बढेको थियो ।
तपाईको प्रतिक्रिया