चिन्ता, चिन्तन र शुभेच्छा

समाधान संवाददाता २०७७ साउन १० गते १३:०८

नारायणप्रसाद बाँस्तोला

Advertisement

म राजनीति धेरै बुझ्दिनँ । सरकारको सानोतिनो नोकरीमा लागेको, जनताको सेवक भएको कारण धेरै व्यक्त हुनु पनि आचरण विपरित हुन जाला कि भनेर सचेत हुनुपर्नेछ । तर यही समाजको प्रत्यक्ष अप्रत्यक्ष प्रशिक्षण प्राप्त व्यक्ति भएको कारण राजनीतिक हिसाबले सचेत छु । सचेत भई गरिने स्वभाविक चासो र चिन्तासम्मलाई अन्यथा नलिइएला भन्ने आशा गर्छु ।

लोकतान्त्रिक देशको नागरिक पनि भएको कारण मर्यादित तवरले अभिव्यक्ति स्वतन्त्रताको हक सबैलाई होला । मलाई पनि होला । हामी सबैलाई घटित राजनीतिक घटनाक्रमहरुले कहीं न कहीं छुने गर्छ । प्रभावित तुल्याउने गर्छ । कुनै घटनाले कसैलाई खुसी बनाउला, त्यसैमा अवसर देख्ला भने कसैलाई दुखी र चिन्तित तुल्याउला ।

Advertisement

हामी वल्लोपल्लो घरका दाजुभाइ, काका, ठूलाबा, मामा, गुरु आदिको सामाजिक र राजनीतिक चेत र चरित्र हेरेर आफ्नो कित्ता स्पष्ट पार्ने धेरै छौं । विचारभन्दा बढी कुनै विचार बोकेकाहरुको व्यवहार र प्रवृत्तिबाट आकर्षित र विकर्षित हुने धेरै हौलान् । हामी आफैंले केही व्यवस्था, पात्र र प्रवृत्तिहरुलाई अनुभव गरिसक्यौं, भोगिसक्यौं । योभन्दा त्यो, त्योभन्दा यो, उ भन्दा ऊ पो राम्रो हो कि ? धेरै विचार र दर्शन, पात्र र प्रवृत्तिहरुको परीक्षण भइसकेको छ ।

वर्तमान अवस्थामा विभिन्न घटना र परिघटनाकाबीच राजनीतिक मूल नेतृत्वका माझ देशमा जुन खालको बेमेल, तिक्तता, असमझदारी, किचलो र तनाव जस्तो परिदृश्य देखा परेका छन् । यसबाट समग्र देश र आफ्नो सामाजिक र राजनीतिक दृष्टिकोणप्रति साँचो माया र सम्मान हुने जो कोही पनि दुखी भएको हुनुपर्छ । धमिलो पानीमा माछा मार्ने दाउ हेरेर बसेका अराजक र स्वार्थीहरुको कुरा बेग्लै होला । कुनै ठूलो दुर्घटना नहोस् ।

Advertisement

जनताको अपार माया र विश्वास प्राप्त तपाईंहरुबाट अभिव्यक्त आशा र विश्वासको मतप्रति कुनै धोखाधडी नहोस् । जनताले पटकपटक कसैलाई मौका नदिएको इतिहास हाम्रासामू जीवितै छ, छर्लंग छ । सोचौं, बेलैमा सचेत बनौं । निहीत व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर देश र जनताप्रति इमान्दार बन्नुस् । धेरै ठूलाठूला सपनाहरुको भारी बोकाउनु भएको छ, तपाईंहरुले हामी जनतालाई । हामी विकासप्रेमी शान्तिप्रिय नेपाली जनताहरुको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक विकासको भोक मेटिइसकेको छैन ।

यहाँहरुले विवेक गुमाएकै कारण, उद्देलित भएकै कारण यहाँहरुले उत्कृष्ट भनेर सिकाएको कुनै विचार र सिद्धान्तप्रति अनास्था नबढोस्, विकर्षण पैदा नहोस् । प्राप्त उपलब्धिहरु जोखिममा नपरुन् । अतिसय निरासाको बिजारोपण नहोस् । निरास नपार्नुस् ।

हामी आशावादी छौँ, उच्च राजनीतिक चरित्र र विवेकको प्रदर्शन हुनेछ यहाँहरुबाट । एकता, संघर्ष र रुपान्तरण । फेरि बलियो एकताको सन्देश दिन सफल हुनुस् । कोभिड १९ ले प्राविधिक रुपमा बढाएको सामाजिक दुरीजस्तै यहाँहरुले विवेक गुमाएका कारण यहाँहरुकाबीच राजनीतिक दुरी र यहाँहरुका शुभेच्छुक जनताहरुबीच हार्दिक दुरी नबढोस् र नबढाइयोस् ।

सबैलाई राष्ट्रिय एकताको डोरीमा बाँध्न र बाँधिन, जनजनको मनमा राष्ट्रिय भावना र राष्ट्रप्रेम जागृत गराउन सफल हुनुस् । हार्दिक शुभकामना ।

पोखरा १९, कास्की

तपाईको प्रतिक्रिया