पोखराका साइकलवाला संक्रमित : स्वाब दिए, रिपोर्ट नआउँदै व्यापार गर्न हिँडे

समाधान संवाददाता २०७७ साउन १० गते २०:५०

अनुप पौडेल, पोखरा

सर्लाहीका २३ वर्षे युवक १३ दिन पहिले पोखरा आए । पोखरा–११ मा डेरा गरी बस्दै आएका उनी लकडाउनअघि नै गाउँ फर्किएका थिए ।

साढे ३ महिनापछि पोखरा फर्किएर उनी डेरामै सेल्फ क्वारेन्टाइनमा बसे । डेरामा उनीसँगै गाउँका अरु २ साथी बस्छन्। सेल्फ क्वारेन्टाइनमा बसेको १ हप्तापछि उनको स्वाब संकलन गरियो । स्वाब दिएपछि पनि उनी आफ्नो नियमित काममा गइरहे ।

Advertisement

५ साउनमा स्वाब लिइएकोमा शुक्रबार कोरोना पुष्टि भयो । ‘रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसन लैजान उनको डेरामा पुग्दा त्यहाँ भेटिएनन्,’ पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने, ‘साइकलमा कपडा बेच्ने भएकाले रामबजार पुगेका रहेछन् ।’

उनलाई मोबाइलमा सम्पर्क गरेर डेरामा नै बोलाइयो । संक्रमित युवक अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा छन् । उनमा कोरोनाको कुनै लक्षण नरहेको अधिकृत आचार्यले जानकारी दिए ।

Advertisement

५ साउनमा स्वाब संकलन भएपछि उनी साइकल लिएर बजार डुल्न थाले । अधिकृत आचार्यले भने, ‘लक्षण छैन भनेर कपडा बेच्न हिँडेछन् । हामी लिन पुग्दा कोठामा थिएनन् । त्यसअघि पनि सायद हिँडे होलान् ।’

संक्रमितको कन्ट्याक ट्रेसिङ भइरहेको वरिष्ठ स्वास्थ्य अधिकृत आचार्यले बताए । संक्रमित युवकसँगै बस्दै आएका २ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रि–आइसोलेसनमा लगिएको पोखरा–११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए ।

एउटै कोठामा बस्ने तीनै जनाले पोखरामा साइकलमा कपडा बेच्दै आएका थिए । ‘३ जना सल्लाह गरेर पोखराको छुट्टाछुट्टै ठाउँमा कपडा बेच्ने रहेछन् । अहिले दुई साथीलाई क्षेत्रीय अस्पतालमा राखेका छौं । दुवैमा कुनै लक्षण देखिएको छैन,’ वडाध्यक्ष बास्तोलाले भने ।’

पोखरामा हालसम्म ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७० जना निको भएका छन् । गण्डकी प्रदेशभर शनिबार साँझसम्म १३ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ११ सय ४५ जना निको भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका २, गोरखा र बागलुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया