१ विद्यार्थी ५ एभोकाडो
समाधान संवाददाता, स्याङ्जा
आँधीखोला गाउँपालिकाले गाउँपालिकाले १ विद्यार्थी बराबर ५ एभोकाडोको बिरुवा वितरण गरेको छ । पालिका भित्रका १८ वटा विद्यालयका विद्यार्थीलाई १ हजार ७ सय एभोकाडोको बिरुवा निशुल्क वितरण गरेको हो ।
विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई विद्यार्थीसँग उत्पादन कार्यक्रम अन्र्तगत बिरुवा वितरण गरेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।
एभोकाडोमा अत्यधिक पौष्टिक तत्व पाइने भएकोले बजारमा माग धेरै नै रहेको र थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने र स्वास्थ्यका लागि पनि लाभदायक मानिने भएकोले एभोकाडो खेतीमा विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले बिरुवा वितरण गरेको पौडेलले बताए ।
उनले विद्यार्थीलाई भविष्यमा आर्थिक रूपले सक्षम बनाउन व्यावसायिक खेती तर्फ आकर्षित गर्न पालिकाले जोड दिएको बताए । पहिलो पटक गाउँपालिकाले विद्यार्थीलाई उत्पादनमा जोड्ने अभियान थालेको भन्दै पौडेलले प्रत्येक वर्ष कक्षा ६ का विद्यार्थीलाई वितरण गर्दै जाने बताए ।
बिरुवा रोपेको ४ देखि ६ वर्षभित्र उत्पादन दिने भएकोले अहिले रोपेको बिरुवाले कलेज पढ्ने बेलामा विद्यार्थीले आफ्नो कलेजको मासिक शुल्क तिर्न सकून भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको हो ।
अधिकांश व्यापारीले बोटै मोल मोलाई गरेर एभोकाडोको फल खरिद गरेर लैजाने गरेको कृषि शाखा प्रमुख अर्जुन चापागार्इंले बताए । उनले फल्ने सिजनको सुरुआतमै प्रति किलो १ सय ५० रुपैयाँदेखि सिजनको अन्तिमसम्म ५ सय रुपैयाँ प्रति केजी पुग्ने बताए ।
प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडो उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि लाभदायक मनिने गरिएको छ ।
५० वर्षसम्म उत्पादन दिने एउटा बोटमा वार्षिक २ सय किलोसम्म फल लाग्ने र समुन्द्री सतहको ४ सयदेखि १ हजार ७ सय मिटर उचाइको पहाडी भूगोलमा हुने एभोकाडोको खेती आँधीखोलाको हावापानीमा पनि सम्भव भएको चापागाईंले बताए ।
गाउँपालिकाले पालिका भित्रका ६ वटै वडाका हरेक विद्यालयमा पुगेरै विद्यार्थीलाई हात हातमा एभोकाडो बिरुवा वितरण गरेको हो । बिरुवा पाएसँगै आँधीखोला ४ सेपत सिरानचौर मावि कक्षा ९ का शिशिर रानाभाटले बिरुवा रोपण गरेर गाउँपालिकाको उद्देश्य पूरा गर्ने बताए ।
तपाईको प्रतिक्रिया