शिक्षकलाई फर्किन थासाङ गाउँपालिकाको अल्टिमेटम
एसके थकाली
जोमसोम
थासाङ गाउपालिका अन्तर्गतका विद्यालयमा लकडाउन अन्त्यसँगै साविक अनुसार सामान्य अवस्थाझै पढाइ सञ्चालन गर्ने तयारी थालिएको छ ।
थासाङ गाउपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनको अध्यक्षतामा पालिकाका विद्यालयका प्रअ सम्मिलित बैठकले जिल्लाको कोरोना जोखिमको अवस्थालाई मध्यनजर गर्दै सामान्य अवस्थाको पठन/पाठनलाई अघि बढाउने पूर्वतयारी गरेको गाउँपालिकाले जनाएको छ ।
थासाङ गाउपालिकाले साविक बमोजिमको विद्यालय कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको भन्दै पालिकाभित्र कार्यरत शिक्षकलाई जिल्ला फर्किन १ हप्ते सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले जानकारी दिए ।
उनका अनुसार पालिका अध्यक्ष तथा प्रअको बैठकले थासाङका विद्यालयमा पढ्ने विद्यार्थीहरु समेतलाई पनि साविक अनुसार पढाइ सञ्चालन गर्ने प्रवल सम्भावना रहेकाले सकेसम्म जिल्ला फर्किन अनुरोध गरेको हो । ‘लकडाउन अन्त्य भएको छ, विद्यालय सञ्चालन गर्ने वातावरण अनुकुल बन्दैछ,’ केसीले भने, ‘शिक्षकहरु १५ दिन होमक्वोरन्टाइनमा बस्नु पर्ने हुन्छ, त्यस अवधिसम्म पठन पाठनमा सहज वातावरण निर्माण हुने ठानेका छौं ।’
यसअघि सरकारले रडियो, टेलिभिजन, तथा अनलाइन कक्षाको माध्यमबाट दूर शिक्षा अन्र्तगत वैकल्पिक कक्षा पढाइ थालेको थियो । थासाङले शिक्षक अभाव भएको विद्यालयमा स्वयं सेवक शिक्षक परिचालन समेत गरेको थियो । थासाङपछि घरपझोङ गाउपालिका भित्र पनि केही विद्यालयले वैकल्पिक कक्षा पढाई सुरु गरेका थिए ।
थासाङ गाउपालिकाले साविक बमोजिम विद्यालय खोल्ने योजना अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र सरोकारवालाको माग बमोजिम भएको जनाएको छ । उनीहरुले जिल्ला कोरोना मुक्त रहेको र बन्दाबन्दी अवस्था पनि अन्त्य भएको उल्लेख गर्दै साविक अनुसारको विद्यालय सञ्चालन गर्न स्थानीयतहले अग्रसरता देखाउनु पर्ने यसबारे पालिकाले निर्णय गर्न मौखिक अनुरोध गरिएपछि पालिकाले शिक्षक÷शिक्षिकालाई साउन १५ गतेभित्र कार्यक्षेत्रमा फर्किन आह्वान गरेको जनाएको छ ।
थासाङले शिक्षक÷शिक्षिकाहरु कार्यक्षेत्रमा फर्किसकेपछि साविक अनुसार विद्यालय खोल्न मिल्ने नमिल्ने भन्नेबारेमा विद्यालय, समिति, अभिभावक र सरोकारवालाहरुको बैठकले निर्णय गर्ने जनाएको छ । बैठकमा बहुमतले विद्यालय खोल्ने निर्णय गरेमा गाउपालिका कार्ययोजना अघि बढाएर पठन÷पाठन सञ्चालन गर्ने योजना रहेको प्रशासकीय अधिकृत केसीले बताए ।
थासाङ गाउपालिकाले भदौ १ गते सम्म अपौचारिक विद्यालय खोल्ने निर्णय गरेमा वा यसबारे कुनै निर्णय नभएपनि कक्षा १ देखि १० सम्म सञ्चालन वा जोरबिजोर, त्यो पनि नभए कक्षा १ देखि ५ कक्षा सम्मको सामान्य स्तरको पठन÷पाठनलाई अघि बढाउने तयारी गरेको हो ।
सरकारले कोरोना भाइरसको जोखिम पहिचान गर्ने र त्यस अनुसारको आवश्कता र औचित्यताका आधारमा विद्यालय खोल्नसक्ने जनाएपछि थासाङले सामान्य अवस्थामा रही विद्यालय खोल्ने अवधारण अघि बढाएको जनाएको छ । थासाङमा ३ वटा माध्यमिक विद्यालयसहित १३ वटा सामुदायिक विद्यालय छन् । थासाङले विद्यालय पूर्णरुपमा खोल्न वातावरण बनेमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सावधानीका उपायहरुको बन्दोबस्त गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया