राईपुरका विद्यार्थीलाई शैक्षिक सामग्री

समाधान संवाददाता २०७७ साउन ११ गते १९:१८

पाेखरा

Advertisement

लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले शुक्लागण्डकी नगरपालिका–११ राईपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले यहाँका नौ विद्यालयका कक्षा एकमा अध्ययनरत १ सय १ जना विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको हो ।

क्लबका अध्यक्ष श्यामबहादुर श्रेष्ठका अनुसार आधारभूत मावि साँखेका २२ जना, महेन्द्र मावि हटियाका २३ जना, राजपुर मावि भुस्नापुरका १४ जना विद्यार्थीलाई वितरण गरिएको हो । नारायण आधारभूत विद्यालय बिसौनाका १० जना, बालज्योति आधारभूत विद्यालय बाँसपानीका ९ जना, कलिका आधारभूत विद्यालय कालीकोटका ४ जना, सरस्वती आधारभूत विद्यालय अलैचेका ६ जना, गोकुल आधारभूत विद्यालय नाम्सीकोटका ५ जना र जानकी आधारभूत विद्यालयका जरेबरका ८ जनालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

Advertisement

नवज्योति क्याङदी खोला आमा समूह साँखे, हटिया भुस्नापुर पिपलछाप नेवा देवः दबु गुठी समाजलाई ५ सय लिटरका ट्यांक र साँखे भिमसेनथान मन्दिरका लागि १० थान कुर्सी वितरण गरेको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार खेलकुद सामग्री वितरण र खेलाडीलाई सम्मान पनि गरिएको छ । उनले आफ्नो जन्मथलोका विद्यालयका विद्यार्थी र संघसंस्थालाई क्लबको तर्फबाट सहयोग गरेको बताए ।

आधारभूत मावि साँखेमा भएको कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गर्दै लायन्स क्लब इन्टरनेसनल ३२५ बि वान नेपालका गर्भनर मनबहादुर रोकाले जहाँ आवश्यकता त्यहाँ लायन्स क्लब पुग्ने दाबी गरे । भविष्यका कर्णधार विद्यार्थीलाई पढ्नका लागि लायन्स अभिभावक बन्ने उनले बताए । सहरभन्दा बाहिर ग्रामीण भेगमा आफूहरु भन्दा कम अवसर पाएका बालबालिकाको पढाइमा सघाउनुपर्ने उनको भनाइ छ ।

Advertisement

शुक्लागण्डकी नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर थापाले लायन्सको शैक्षिक सामग्री सहयोगले विद्यार्थीलाई पढाईमा उत्प्रेरणा मिल्ने बताए । आधारभूत मावि साँखेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थमनबहादुर थापा, लायन्स क्लब इन्टरनेसनल ३२५ वान नेपालका डिष्ट्रिक क्याविनेट ट्रेजरी उदयकुमार नेपाल, पोखरा फिस्टेलका सचिव केदारप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्ष रेशमबहादुर श्रेष्ठ, सदस्य शान्ति पौडेल लगायतले बोलका थिए ।

त्यस अवसरमा आधारभूत माविमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड, मास्क, सेनिटाइजर वितरण गरिएको थियो । सेनेटरी प्याड प्रयोग गर्ने तरिकाबारे पनि सिकाइएको थियो ।

तपाईको प्रतिक्रिया