सांसद भन्छन् : सरकार विलासितामा, जनता दुखमा

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा शून्य र विशेष समय लिएर बोल्ने सांसदले बाढीपहिरो, कोरोना लगायत समसामयिक विषयमा आवाज उठाएका छन् । शून्य समयमा २ र विशेष समयमा ७ सांसदले भनाइ राखे । बाढी पहिरोले बर्सेनि क्षति पु¥याए पनि रोकथाम र नियन्त्रणका लागि सरकारले दीर्घकालीन उपाय अवलम्बन गर्न उनीहरुले सुझाएका छन् ।
पहिरोका कारण घरवास गुमाएकाहरुको बसोबासका लागि सरकारले जिम्मा लिनुपर्ने, घाइतेको तत्काल उद्धार र उपचार गर्नुपर्ने माग पनि उनीहरुले गरेका छन् । जनताको दुखमा साथ दिनुपर्ने बेलामा विलासितामा रमाएको भन्दै सरकारको आलोचना पनि सदनमा भएको छ ।
आइतबारको बैठकमा ३ मन्त्रीले जवाफ पनि दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले विभिन्न समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिएका हुन् ।
मन्त्री लम्सालले प्राविधिको तहमा परेका २ जिल्लाका वन रक्षकले सोही अनुसारको तलब नपाउने अवस्था साउनबाट अन्त्य हुने बताए । सर्वोच्च अदालतले फैसला गरिसके पनि स्याङ्जा र कास्कीका वन रक्षकले ग्रेड वृद्धि वापतको रकम पाउन सकेका थिएनन् । पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आर्थिक अभावका कारण कर्मचारी कटौतीमा परेको जानकारी आफूले पाएको उनले जानकारी गराए ।
मन्त्री थापाले बाढी पहिरोबाट कृषि बाली र पशुमा पुगेको क्षति विवरण संकलन भभएरहेको र राहतका लागि स्थानीय तहदेखि नै प्रक्रिया पु¥याएर ल्याएको खण्डमा मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । धवलागिरीका जिल्लामा सलहको प्रकोप देखिए पनि ठूलो समस्या नआएको जानकारी आफूले पाएको उनले जनाए ।
मन्त्री पुनमगरले कोरोन नियन्त्रण र रोकथामका लागि प्रदेश सरकार क्रियाशील रहेको जिल्ला अस्पतालको स्तरवृद्धिका लागि पहल भइरहेको जानकारी गराइन् । कतिपय ठाउँमा आइसियु र भेन्टिलेटरका लागि स्थानको अभाव हुँदा समस्या परेको उनको भनाइ थियो ।
आइतबारको बैठकमा विधायसमिति सभापति मोहनप्रसाद रेग्मीले गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना र सञ्चालन गर्न बनेको विधेयकको प्रतिवेदन सभामा पेस गरेका छन् । अर्को बैठक सोमबार दिनको १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए ।
…
पृना क्याम्पसको अवस्था सुधार होस्
राजीव पहारी
कास्की, नेकपा
मानव सभ्यताको मुल आधार शिक्षा हो । विकास भनेको फगत बाटोघाटो पुल पुलेसामात्र होइन । ज्ञान विवेकसँग विकास जोडिएको हुन्छ । प्रविधि पनि जोडिएको हुन्छ । पोखरेली शिक्षा सेवीको अग्रसरतामा २०१७ साल भदौमा पृथ्वीनारायण कलेज स्थापना भयो । मुलुकमा आवश्यक दक्ष जनशक्ति यहीँबाट उत्पादन भए । यहाँ पढेका धेरै व्यक्ति राज्य सञ्चालनको उच्च तहमा पुगेका छन् ।
म आफै पनि त्यो क्याम्पससँग जोडिएको छु । मैले स्ववियुको नेतृत्व लिँदा २२ हजार विद्यार्थी थिए । अहिले पिसिएल फेजआउट हुँदा पनि १२ हजार विद्यार्थी छन् ।
२४ विषयमा स्नातकोत्तर विषयको पढाइ भइरहेको छ । तर क्याम्पस समस्यामा छ । खानेपानीको अभाव छ । बोरिङको पानीले पुगेको छैन । पुरुष छात्रावास बन्द छ । महिला छात्रावास पनि पानी चुहिएर जीर्ण बनेको छ ।
पोखरामा यो सभागृहबाहेक ५ सयभन्दा बढी अट्ने हल छैन । पिएन क्याम्पसमा ७ सय जना अट्ने अडिटोरियम हल छ । तर फर्निचर र फर्निसिङ नहुँदा अलपत्र परेको छ । पार्किङ पनि पर्याप्त छ । धेरै कार्यक्रम गर्न सकिन्छ ।
हुन त प्रदेश सरकारले आफ्नै गण्डकी विश्वविद्याय बनाउँदै छ । यसो हुँदा हुँदै पनि सबैको गौरव पृथ्वीनारायण क्याम्पसलाई अगाडि बढाउनु हाम्रो दायित्व हो । थोरै लगानीमा पनि धेरै प्रतिफल पाउन सकिन्छ ।
प्रदेश सरकारको अथक प्रयासले प्रदेशमा कोरोना नियन्त्रणभित्र छ । लेकसाइडमा रेस्टुरेन्ट चलाएकी एक चिनिया महिलाको मृत्यु भयो । उनीसँग सम्पर्कमा आएकाहरुको रिर्पोट नेगेटिभ आएको छ । लकडाउन सकिए पनि कोरोना सकिएको छैन । कोरोनाबाट जोगिनबाट अपनाउनुपर्ने उपाय अबलम्बन कडा रुपमा लागु गर्नुपर्यो । पोखरामा जाम बढिरहेको छ । सचेतना बढाउनुपर्ने छ ।
बाढी पहिरोका कारण जनधनको ठूलो क्षति हुँदै आएको छ । खोला बस्तीमा होइन बस्ती खोलामा बसेकाले समस्या आएको छ । यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।
…
नारायणीले बस्ती बगायो
विष्णुप्रसाद लामिछाने
नवलपुर, नेपाली कांग्रेस
मुलुक कोरोनाको संक्रमणबाट त्रस्त भएका बेला बाढी र पहिलोले आक्रान्त पारेको छ । नवलपुर जिल्लामा बुलिङटारमा दलित दम्पतीको मृत्यु भएको छ । उनीहरुको परिवालाई तत्काल क्षतिपूर्ति प्रदान गरिनुपर्छ ।
नारायणी नदीले धेरैतिर कटान गरेको छ । गैंडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकामा कटान भएको छ । मध्यविन्दुको कटान रोक्न तत्काल पहल नभएको भए ठूलो क्षति हुने थियो । तर संकट टरेको छैन । नदीको बहाव परिवर्तनका लागि थप रकम चाहिन्छ । नारायणी नदी मात्र होइन नवलपुरका केरुङे लगायतका खोलाले ठूलो क्षति पुर्याएका छन् । बजेट सक्ने काम भएको छ । तर दीर्घकालीन काम हुन सकेको छैन ।
मध्यविन्दुको अमलटारीमा नारायणी नदी गाउँमा पसेर २१ घर विस्थापित भएका छन् । अमलटारीबाट पुरानै धारमा फर्काउन सकियो भने त्यहाँको धेरै समस्या समाधान हुन्छ ।
…
सरकार विलासितामा रमायो
पियारी थापा
बागलुङ, जनमोर्चा
कोरोना हाम्रा लागि नयाँ हो । त्रास फैलाइरहेको छ । हामी यसैबीचमा प्राकृतिक विपत्तिसँग जुध्नु परेको छ । यो नौलो होइन । तर सरकार अनभिज्ञता जनाएर बसेको छ । बर्खा लाग्दा समस्या आउँछ सरकारका मान्छे पैसा बोक्छन् सहयोग गर्छन, फोटो खिच्छन आउँछन्। अर्को वर्ष पनि त्यही क्रमले निरन्तरता पाउँछ । स्थानीय बासिन्दा त्यही ठाउँमा टहरो बनाएर बस्न वाध्य हुन्छन् । अर्को बर्खामा त्यही वितन्डा । सरकार किन मौन छ । जवाफ चाहिन्छ हामीलाई ।
पहाडी भूगोलमा भएको बाढीपहिरोको कारण विकासका काममा आलाकाँचापन हो । सरकारलाई यसको वास्ता छैन । बर्खामासमा बाटो बन्या छ । डाँडा कोपरेको छ । काम गर्ने शैली परिवर्तन भएन । आर्थिक वर्ष वैशाखबाट सुरु गर्न मेरो सुझाव छ ।
सरकार विलासितामा रमाउने, जनता दुखमा दिन बिताउनु परेको छ । गण्डकी प्रदेश सरकारले ६० वटा गाडी मात्रै किनेको खबर बाहिर आएको छ । कम्युनिस्टको मुकटभित्र लुकेको शासकीय शैली, विलासिता, पद प्रतिष्ठाको पदलोलुप, रहस्यमय जीवनशैलीको परिवर्तन आवश्यक छ । यो विषम परिस्थितिमा के नैतिकताका आधारमा विलासिताको गाडी भोग गर्ने ? बरु जनताको आहातमा राहतको प्याकेज लैजाऔं, भौकै प्यासै रोगव्याधिसँग लडेका हरेक नेपालीसँग सरकारको बलियो उपस्थिति पुर्याउने विषयमा काम गरौं ।
…
उद्धारका लागि जिल्लामा कार्यदल चाहियो
धनन्जय दवाडी
लमजुङ, नेकपा
कोरोनासँगै असार २५ साउन ५, ६, र ७ गते बाढी आएको छ । मस्र्याङ्दीमा ८३ घर विस्थापित भएका छन् । २१ घर पुरेको छ । गाईवस्तु बगाएको छ । दोर्दी, ढोडेनी, मध्यनेपाल लगायत धेरै ठाउँमा मानिसहरु विस्थापित भएका छन् । यो विस्थापितको तस्बि मात्र होइन हाम्रो विकासको मोडलको तस्बिर पनि हो ।
सरकारबाट गरिनुपर्ने उद्धारका लागि अभाव खड्केको छ । उद्धारका लागि धेरै तयारी गर्छौ, फिल्डमा उत्रिने बेला हामीसँग पर्याप्त जनशक्ति छैन । यसका लागि प्रत्येक पालिका र जिल्लामा कार्यदल खडा गरिनुपर्छ ।
मस्र्याङ्दी पल्लोटारीका ८३ परिवारलाई पुनःस्थपित गराउनुपर्ने छ । खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।
हामीकहाँ दलित, गरिब, महिला बालबालिकाका नाममा धेरै एनजिओले काम गरेको पाइन्छ । तर अहिले पीडितको उद्धारका लागि फाटफुटवाहेक प्रयास भएको छैन । प्रदेश सरकारले यसमा चासो दिनु जरुरी छ । लमजुङको दुवार गाउँमा ६० भन्दा बढी परिवार विस्थापित भएका छन् । मुख्यमन्त्री वातावरणमैत्री कार्यक्रम पनि प्रभावित भएको छ ।
हिजोदेखि बसेको थातथलो बगरमा परिणत भएको देख्दा चित्त दुखेर आउँछ । २२ वर्ष विदेशमा बसेर कमाएको सम्पत्ति २२ मिनेटमा बिनास हुँदा मन बटाएिर आउँछ । सुत्केरी, बालबालिकाले तातो ठाउँ पाएका छैनन् । हाम्रो संविधानमा बाच्न पाउने, आवास र खान पाउने अधिकार उल्लेख छ । प्रदेश सरकारले नीति योजना र कानुन निर्माण गरेर काम गर्नुपर्ने छ । बोल्न नसक्नेहरुका लागि सरकार आफै आवाज बनेर आएको भन्ने अनुभूति होस । लमजुङको पहिरोमा परेकाहरुका चितवनमा उपचार भइरहेको छ । उनीहरुको उपचार खर्च प्रदेश सरकारले बेहोरिदियोस्भन्ने अनुरोध गर्दछु ।
…
राजनीतिक पूर्वाग्रहले बाटो खायो
मेखलाल श्रेष्ठ
स्याङ्जा, नेपाली कांग्रेस
देश कोभिडबाट प्रभावित हुँदै प्राकृतिक रुपमा जर्जर भएका बेला यो सदनमा प्रदेशका जनताका समस्या सुन्ने मन्त्रीज्यूहरको उपस्थिति निकै कम छ । प्रदेश सभामा कस्ता विषय आएका छन् भन्ने कुरा सुनेर समाधान गर्ने बेलामा अगाडिको लाइन खाली छ । मन्त्रीज्यूहरु निकै कम देखिुनभएको छ । यही समस्या समाधानका लागि जिल्ला जानुभएको छ कि आन्तरिक किचलोका कारण सत्ता जोगाउने खेलमा लाग्नुभएको छ । यस्तो हुनुहुँदैन ।
स्याङ्जाको भीरकोट नगरालिकाको बयरघारी–मयनडाँडा हुँदै पर्वत जाने, टेन्डर गरेर पिच हुने अवस्थामा थियो । ठेकेदारको समय थप भएको छ । तर सरकारले पैसा नदिएका कारण काम हुन सकेको छैन । बयरघारी बानेथोक बिरुवाको बाटो राजनीतिक पूर्वाग्रहका कारण बजेट नपरेकाले मोटर साइकल हिँड्न सक्ने अवस्था छैन । बिरामी हुँदा उपचारका लागि अस्पताल लैजान समेत समस्या परेको छ ।
हेलु कालिका सामुदायिक कालिका अस्पतालले जसरी आफूले अग्रसर भयो । अहिले प्रदेशले आफ्नो मातहतमा ल्याउन मुख्यमन्त्रीले धेरैपटक वचन दिनुभयो । तर सरकारले चासो देखाएन ।
…
पीडितलाई बास दिऊँ
मणिभद्र शर्मा
बागलुङ, नेपाली कांग्रेस
साउन महिनामा बागलुङका धेरै ठाउँमा घर जोखिममा छन् । विस्थापित भएर अरुको घरमा बस्नुपरेको छ । ती दुवैथरीलाई राहतसहितको सामग्री उपलब्ध गराइ बसोबासको व्यवस्था गरिनुपर्छ ।
बागलुङकै रामरेखाको कालिगण्डकी किनारमा पहिरोले ३ साधन पुरेको छ । २ जना चालक पहिरोमा पुरिएकोमा १ जनाको शव भेटिएको छ । हराइरहेकाको खोजीका लागि अनुरोध गर्छु ।
नेपालमा ६४ वटा संस्थानले वार्षिक ९० करोडको घाटा दायित्व पारिरहेका छन् । हाम्रै प्रदेशको गोरखकाली रबर उद्योगले पनि हालसम्म १ अर्ब ६० करोड अहिलेसम्म घाटा दायित्व सरकारले बेहोरेको छ । घाटा दायित्व बेहोर्दा खर्च भएको रकमले नयाँ उद्योग सञ्चालन हुनेथियो । सकिन्छ सञ्चालन गरौं ।नसके बन्द गरौं । बर्सेनि खर्च मात्र नथपौं ।
….
प्याकेज ल्याएर बाटो बनाऊँ
हरिशरण आचार्य
जनता समाजवादी, गोरखा
बाढी पहिरोका कारण नेपालमा अर्को संकट परेको छ । आफैले निर्माण गरेका भौतिक संरचनामार्फत जोखिम निर्माण गरेका छौं । यो निर्माण हुने गतिविधिलाई तत्काल रोकियोस म आग्रह गर्छु । गोर्खा लगायत धेरै ठाउँमा बाढीले वितन्डा मच्चाएको छ । पालुङटारको सेराबजारमा रहेको जग्गाको आलि कान्ला नचिन्ने भएको छ । दरौंदीको खारखोलाको खेतको पनि आली नचिन्ने अवस्था छ । बगरमा परिणत भएको छ । सहयोगका लागि किसानले स्थानीय र प्रदेश सरकारसँग आग्रह गरेका छन् । नयाँ नापी गरे तत्काल जग्गा छुट्याउन सरकारले पहल थाल्नुपर्छ ।
गोरखाका धेरै ठाउँमा समस्या छ । हिजो करोड लगानी गरेका संरचना मर्मतका लागि ५ गुना बढी खर्च हुने अवस्था छ । मुख्य सडक हिँड्न नसकिने भएको छ भने भित्री सडकको अवस्था त निकै दयनीय छ । प्याकेज ल्याएर ११ वटै जिल्लाका बाटोघाटो बनाउन सरकारसँग आग्रह गर्छु ।
विस्थापितलाई बसोबासको व्यवस्था गर
भगवतप्रकाश मल्ल
स्याङ्जा, नेपाली कांग्रेस
स्याङ्जाको गल्याङ नगरपालिका १० मा २५ मिटर माथिबाट पहिरो गए माया सारुको मृत्यु भएको छ । नारायणी सारुको पोखरामा उपचारपछि घर फर्केकी छन् । विस्थापित १५ परिवारका ८० जना छिमेकमा बसेका छन् । पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराएर विस्थापितलाई वसोवासको व्यवस्था गरिनुपर्छ ।
एम्बुलेन्स हिँड्ने बाटो बनाऊ
प्रकाशचन्द्र दवाडी
गोरखा, नेपाली कांग्रेस
बाढी पहिरोले धेरैतिर जोखिम पुर्याएको छ । गोरखाको वारपाक सुलिकोटस्थित तीनखण्डेमा ८ घर बस्नै नहुने भएको छ । ३ घर पूर्ण विस्थापित भएका छन् । यसमा सरकारको ध्यान पुगेको छैन । वारपाक सुलिकोटमा धेरै धनजनको क्षति भएको छ । १२ किलो वारपाक सडक एम्बुलेन्स सम्म हिँड्ने बनाउन सके हुन्थ्यो ।
………







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया