संक्रमित चिनियाँको उपचारमा संलग्न थिए मनिपालका डाक्टर
अनुप पौडेल
कोरोना पुष्टि भएका मनिपाल शिक्षण अस्पतालका डाक्टरले कोरोना संक्रमितको उपचार गरेको खुलेको छ । मनिपाल अस्पतालका एक चिकित्सकका अनुसार गत बुधबार मृत्यु भएकी चिनियाँ महिलाको उपचारमा यी डक्टर पनि सहभागी थिए ।
त्यसैले चिकित्सकलाई तिनै ४९ वर्षीया चिनियाँ महिलाबाट कोरोना सरेको हुनसक्ने ती स्वास्थ्कर्मीको भनाइ छ । ती चिनियाँ महिला ३१ असारमा बिरामी परेपछि मध्यराति मनिपाल लगिएको थियो ।
हृदयघात भएको बताएपछि चिनियाँलाई थप उपचारका लागि काठमाडौं रेफर गरियो । सुरुमा ग्रान्डी अस्पताल पुगेकी उनमा कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगन्ज रेफर गरिएको थियो । उपचारको क्रममा गत उनको मृत्यु भएको थियो ।
सोमबार कोरोना पुष्टि भएका मनिपालका डाक्टर मनिपाल कलेजमा एमडी पहिलो वर्षमा पढ्छन् । ती युवक मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन् । उनी अस्पतालकै आवासमा बस्छन् ।
आइतबार उनको स्वाब क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका लागि पठाइएकोमा कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकर्मी रिपोर्ट नआउँदासम्मै बिरामी परीक्षण गरिरहेको थिए ।
उनी कति दिनदेखि संक्रमित थिए र कति बिरामी परीक्षण गरे भन्ने अन्योल कायमै छ । ती युवकलाई अहिले क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।
मनिपालको आवास र मेडिकल वार्डलाई स्यानिटाइज गर्ने र ती चिकित्सकको सम्पर्कमा आएका मानिसहरुलाई निगरानीमा राख्ने प्रयास भइरहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।
चिनियाँ महिला कसरी मनिपाल पुगिन् ?
३१ असार राति लेकसाइडमा होटल गर्दै आएकी चिनियाँ महिलाको स्वास्थ्यमा समस्या देखियो । ३ जना चिनिया साथीले राति १२ बजे आसपास मनिपाल शिक्षण अस्पताल पु¥याए । उनलाई हृदयघात भएको मनिपालका डाक्टरले बताए ।
स्वास्थ्यमा समस्या देखिनुभन्दा १३ दिन पहिले उनले आफ्ना साथीलाई ‘पार्टी’ दिएकी थिइन् । उनले १९ जनालाई १७ असारमा पार्टी दिएकी थिइन् । पार्टीमा ती महिलासहित १७ चिनिया र ३ नेपाली सहभागी थिए । उनी नेपालमा एक्लै बस्दै आएकी थिइन् ।
मणिपालले काठमाडौं जान सुझाएपछि उनलाई ग्रान्डी अस्पताल पु¥याइयो । मृतक चिनियाँ महिलाको ‘प्राइमेरी कन्ट्याक’ मा आउने अधिकांश चिनियाँनै छन् ।
उनको सम्पर्कमा आएका १७ चिनियाँ र ५ नेपालीको स्वाब संकलन भइसकेको छ । तीमध्ये १२ जना रिपोर्ट नेगेटिभ आएको छ भने बाँकीको रिपोर्ट आइसकेको छैन । रिपोर्ट आएका १२ जनामा कोरोना नेगेटिभ रहेको महानगर स्वास्थ्य महाशाखा स्रोतले जानकारी दियो ।
ती चिनियाँ महिलाले आफ्नै होटलमा नभई साथीको होटलमा सबैलाई बोलाएकी थिइन् । थप उपचारका लागि पोखराबाट ती महिलालाई लिएर उनका भाइ, एक डाक्टर, एक क्याप्टेन र हेलिकोप्टरका स्टाफ काठमाडौं गएका थिए । ग्रान्डीबाट कोरोना परीक्षणका लागि स्वाब लिँदा पोजेटिभ देखियो । त्यसपछि शिक्षण अस्पतालमा रेफर गरिएको थियो । त्यसपछि उपचारको क्रममा त्यहीँ मृत्यु भयो ।
तपाईको प्रतिक्रिया