कांग्रेसले अवरुद्ध गर्यो गण्डकी संसद
भरत कोइराला
पोखरा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध गरेको छ । असार २३ मा दर्ता गराएको संकल्प प्रस्ताव बैठकको कार्यासूचीमा राख्न माग गर्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो
१ घर १ पिसिआर लगायत माग राख्दै कांग्रेसले पहिलोपल्ट संकल्प प्रस्ताव दर्ता गराएको थियो ।
संसदमा दर्ता भएकाे संकल्प प्रस्ताव कार्यसूचीमा नराखेसम्म सदन अवरुद्ध गर्ने कांग्रेसकाे अडान
उक्त प्रस्ताव दर्ता भएको १ सातापछि सदनमा छलफलका लागि प्रस्तुत हुने प्रावधान छ । त्यसै अनुसार साउन ७ गते बस्ने बैठकको कार्यसूचीमा उक्त प्रस्तावलाई राखिएको थियो । तर मन्त्रीले तयारी नपुगेको बताएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यो दिनको कार्यसूची परिवर्तन गरेका थियो ।
संकल्प प्रस्तावलाई एउटा दलमात्र नभई सबै दलको साझा प्रस्तावका रुपमा लैजाने पहलस्वरुप सभामुख नेत्रनाथ अधिकारीको पहलमा कार्यदल गठन गरिएको थियो । प्रस्तावक कांग्रेस केही लचिलो हुने र नेकपाले पनि त्यसमा सहमति जनाउनेबारेमा छलफल भए पनि निचोडमा पुग्न नसकेका कारण प्रस्ताव अलपत्रजस्तै परेको छ ।
आइतबारको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले जबसम्म संकल्प प्रस्ताव कार्यसूचीमा आउँदैन तबसम्म बैठक चल्न नदिने बताए । उनले भने,‘ सत्तापक्षले हाम्रो प्रस्तावको गम्भिरतालाई नजरअन्दाज गरेर गोलमोटल गरेको महसुस भयो, जनता बचाउने कुरालाई बार्गेनिङको विषय बनाउनु हुँदैन ।’
पिसिआरको दायरा बढाऔं भन्दा सरकारले सकारात्मक सहयोगका रुपमा लिनुपर्नेमा त्यसो नहुँदा आफूहरुलाई दुख लागेको उनको भनाइ थियो । उनले भने, ‘कार्यव्यवस्थामा कार्यदल पनि गठन पनि भएको थियो त्यहाँबाट निकास निस्केलाजस्तो लागेको छैन, ड्युकोर्समा जानुपर्छ ।’
उनले संकल्प प्रस्ताव जसले पनि पेस गर्न सक्ने भन्दै पास फेल जे हुने भए पनि प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । विश्वव्यापी रुपमा कोरोना फैलिएसँगै यसको सामनाका लागि तयार हुनुपर्छ भनेर कांग्रेसले दिएको सुुझाव सरकारले कार्यान्वयन नगरेको उनले बताए ।
अहिले लकडाउन सकिएको भनेको कोरोना नै समाप्त भएको अवस्था जस्तो देखिएको र अब समुदायस्तरमा पुग्ने सम्भावना रहेकाले समस्या झनै बढेको भन्दै उनले सरकार यसमा सम्वेदनशील नदेखिएको भनाइ राखे । उनले भने, ‘विज्ञहरुले पनि यो महिना कोरोनाको उच्च जोखिम छ भनेका छन् । तर सरकारले ध्यानै दिएको छैन ।’
सभामुख नेत्रनाथ अधिकारीले संकल्प प्रस्ताव सबै दलको साझा प्रस्तावका रुपमा अघि बढाउने चलन भए अनुसार नै कार्यदल गठन भएकाले कांग्रेस सांसदलाई बस्न आग्रह गरेका थिए । कांग्रेस सांसद नबसेपछि सभामुखले १ घन्टाका लागि संसदको बैठक स्थगित गरेका छन् ।
तपाईको प्रतिक्रिया