स्याङ्जाका एसपीसहित १८ प्रहरीमा कोरोना, एसपी भन्छन् – कोरोनालाई जित्नेमा ढुक्क छु

समाधान संवाददाता २०७७ साउन १२ गते १६:४३

समाधान संवाददाता, स्याङ्जा

Advertisement

स्याङ्जाका एसपीसहित १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । एसपी विमलराज कँडेलसहित १८ प्रहरीमा सोमबार कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले पुष्टि गरे ।

साउन ६ गते २ हवल्दार र १ जना सिपाहीमा कोरोना पुष्टि भएपछि कार्यालयमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो । त्यसपछ प्रहरी कार्यालय सिल गरिएको थियो ।

Advertisement

२ पटक गरेर एसपीसहित १ सय जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो । त्यसमध्ये १७ पुरुष र एक महिलामा सोमबार पोजेटिभ देखिएको हो । परीक्षणका लागि पोखरा ल्याइएका स्वाबमध्ये ६० जनाको रिपोर्ट आउन बाँकी छ ।

संक्रमित प्रहरी अधिकारीलाई कालिका सामुदायिक अस्पताल र क्वारेनडाँडा आइसोलेसनमा व्यवस्थापन गरिने प्रमुख शर्माले जानकारी दिए । उनले भने, ‘एसपी साब आफ्नै क्वाटरमा बस्न चाहनुभए त्यहीँ राख्छौं । अरुलाई आइसोलेसनमा लैजान्छौं ।’

Advertisement

कोरोना पोजेटिभ देखिएका एसपी कँडेलले आफूले कोरोनालाई जित्नेमा ढुक्क रहेको बताएका छन् । उनले समाधानसँग भने, ‘जनताको सेवामा खटिँदा संक्रमित भइयो । कोरोनालाई जित्नेमा ढुक्क छु ।’

कार्यालय प्रमुखसहित २१ प्रहरीमा कोरोना देखिएपछि पुतलीबजारभित्र कडाई गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । उनले पहिलो चरणमा प्रहरी प्रमुखदेखि जवानसम्मको स्वाब लिइएको र सम्पर्कमा आएकाको खोजी थालिएको बताए ।

स्याङ्जामा सोमबार प्रहरीबाहेक अरुमा कोरोना पुष्टि भएको छैन ।योसहित जिल्लाभर संक्रमितको संख्या २ सय २३ पुगेको छ । संक्रमितमध्ये १ सय ८८ जना निको भएका छन् भने २ जना पुरुषको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया