जिएमसीकी नर्सलाई दोस्रोपटक कोरोना, कामबाट डेढ महिनादेखि बिदामा थिइन्
समाधान संवाददाता, पोखरा
पोखराको गण्डकी मेडिकल कलेजकी एक नर्समा कोरोना पुष्टि भएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया नर्समा कोरोना पोजेटिभ देखिएको हो । तर उनी एक महिनादेखि बिदामा रहेको मेसु डा. टुमाया घलेले बताइन् ।
उनले भनिन्, ‘उहाँ बिदामा हुनुहुन्छ । अस्पतालमा कुनै जोखिम छैन । उपचारलाई आउन डराउनुपर्दैन ।’ ती नर्समा दोस्रो पटक कोरोना पोजेटिभ देखिएको हो । बुवाको कोरोनाबाटै मृत्यु भएपछि उनी अस्पतालमा आएकी छैनन् ।
यसअघि डेढ महिना पहिले उनमा कोरोना पोजोटिभ देखिएको थियो । त्यसपछि क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार गराएकी थिइन् ।
पहिलोपटक उनमा बुवाबाट कोरोना सरेको थियो । शारीरिक समस्याले थलिएका उनका बुवाको उपचारको क्रममा पोखरामै निधन भएको थियो ।
ती नर्स हाल पोखरा–१० मा आमासँगै बस्दै आएकी छन् । बुवाको कन्ट्याक ट्रेसिङमा परेपछि आमाछोरी दुवैमा पोजेटिभ देखिएको थियो ।
पोखरा बस्ने गरे पनि ती नर्सको घर स्याङ्जाको वालिङ नगरपालिका ३ हो । गाउँ जानलाई स्वाब परीक्षणका लागि दिएकोमा उनमा सोमबार कोरोना पुष्टि भएको हो । कोरोनाबाट मृत्यु भएका ५८ वर्षे उनका बुवालाई वालिङ नगरपालिकाले जेठ २२ मा उद्धार गरेर ल्याएको थियो ।
सोमबार नै मनिपाल शिक्षण अस्पतालका एक डाक्टरमा कोरोना पोजेटिभ देखिएको छ । दुवैको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यो पढ्नुभयो ?
वालिङका संक्रमित भारतबाट आउँदै सिकिस्त, नगरपालिकाले छुट्टै गाडीमा ल्याएको थियो
तपाईको प्रतिक्रिया