थापाखोलाबाट मुस्ताङलाई बिजुली
एसके थकाली
जोमसोम
बाढी/पहिरो तथा नदी कटानले १ सातादेखि अन्धकार रहेको मुस्ताङमा सोमबारदेखि बिजुली बलेको छ । थासाङ गाउपालिका—१ टुकुचेमा सञ्चालित थापाखोला हाइड्रो पावर कम्पनीले वैकल्पिक विद्युत उत्पादन गरी मुस्ताङको विद्युत समस्याको अन्त्य गरेको हो ।
बाढी /पहिरो र नदी कटानले म्याग्दी र मुस्ताङ खण्डमा राष्ट्रिय विद्युत प्रसारण लाइनको ५ दर्जनाभन्दा बढी पोलमा क्षति पुगेको थियो । नेपाल विद्युत प्राधिकरणको पर्वतको मिलनचोक सबस्टेसन हँुदै मुस्ताङको कोवाङसम्म केन्द्रीय प्रसारण लाइनको सबस्टेसन छ ।
केन्द्रीय प्रसारणको विद्युत संरचनमा अकल्पनीय क्षति पुगेपछि मुस्ताङमा दैनिक २२ घण्टा लोडसेटिङ भएको थियो । नेपाल विद्युत प्राधिकरणसँग ठेक्कामा लिएको निलगिरी उपभोक्ता सहकारी संस्थाले स्थानीय लघु जलविद्युत आयोजनाको १ सय २५ किलोवाट विद्युत र केन्द्रीय लाइन खरिद गरी मुस्ताङमा विद्युत वितरण गर्दै आइरहेको थियो । तर केन्द्रीय लाइनमा प्राकृतिक प्रकोपका कारण समस्या आएपछि मुस्ताङबासीले चरम लोडसेडिङको पीडा सहनु परेको थियो ।
यस्तै माउन्ट इ कैलाश हाइड्रो पावर कम्पनीले २०७४ सालदेखि विद्युत उत्पादन गरेपनि उसले उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिसकेको थियो । थापाखोलाले उत्पादन गरेको विद्युत मुस्ताङको पहुचमा थिएन । त्यहाँको विद्युत सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिन्थ्यो । यसका कारण मुस्ताङमा भएको थापाखोलाको उत्पादनले मुस्ताङका लागि कुनै उपयोगमा आउन सकेको थिएन ।
मुस्ताङमा विद्युत नियमित गर्न महिनौं लाग्ने देखिएपछि जिल्ला प्रसारण कार्यालय मुस्ताङले मुस्ताङमा विद्युत नियमित गर्न वैकल्पिक उपायको खोजी ग¥यो । यसका लागि स्थानीय जनप्रतिनिधिले समेत सहजीकरण गरे । १३.६ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता भएको थापाखोला हाइड्रोको २ वटा टर्वाइनमध्ये १ मात्र सञ्चालनमा छ । जसले ६.८ मेगावाट विद्युत उत्पादन गर्नसक्छ । तर, उक्त टर्वाइनमा पनि राष्ट्रिय ग्रिडको विद्युतबाट टर्वाइन उठाउनु पर्ने भए पनि हाइड्रोको डिजेलपम्म समेत बिग्रिएको थियो । यसले गर्दा झनै समस्या थपिएको थियो ।
स्थानीय प्रशासनको सक्रियता र जनप्रतिनिधिको सहजीकरणपछि डिजेल पम्पको व्यवस्था गरिएपछि थापाखोला हाइड्रोले पहिलो पटक मुस्ताङका लागि चाहिने विद्युत उत्पादन गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।
निजी कम्पनीको हाइड्रोले मुहानबाट टनेलमा बग्ने पानीको बहाव घटाएर करिब १ किलोवाट विद्युत उत्पादन गरी मुस्ताङलाई विद्युत सप्लाई गरेको हाइड्रोका प्रबन्धक सुदीप खड्काले जानकारी दिए ।
उनका अनुसार अहिले मुस्ताङलाई मात्रै भनेर विद्युत उत्पादन भएको छ । उनले भने, ‘राष्ट्रिय ग्रिडको समस्या समाधान भएपछि हाइड्रोले उत्पादन गर्ने विद्युत राष्ट्रियमा जोडिन्छ । उनका अनुसार थापाखोला हाइड्रोले पूरै उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिसकेको र अहिले मुस्ताङलाई आकस्मिक सुविधा मात्र दिलाएको उनले बताए ।
यसअघि लगातार विद्युत अवरुद्ध हुँदा मुस्ताङका बैक तथा वित्तीय संस्था, कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा प्रशासनिक कार्यसम्पादन प्रभावित हुँदै आइरहेको थियो । मुस्ताङका ४ स्थानीय तहमा विद्युत विस्तार भएको छ ।
तपाईको प्रतिक्रिया