विधिबिनाको समाज
प्रा. विश्वराज अधिकारी
हाम्रो समाजमा सकारात्मकभन्दा धेरै गुणा नकारात्मक चेतको आलोचनाको वा मूल्यांकनको द्रूत विकास भएको पाइन्छ । अति सामान्य घर व्यवहारदेखि, न्यायालयका विशिष्ट फैसलासम्म, व्यापार शिक्षण संस्था, खानेपानी, बिजुलीदेखि राष्ट्रिय राजनीतिसम्म सबै कामका सकारात्मकभन्दा नकारात्मक टिप्पणि आउनु समाज पतनको दिशातर्फ उन्मूख छ भन्ने तीतो यथार्थ आजको सचेत नागरिकले थाहा पाउनु जरुरी छ ।
निराशावाद भन्नाले कुनै पनि परिस्थितिबाट सिर्जित अवस्था र परिणाम अनिश्चित र दुःखद हुन्छ भन्ने धारणा हो ।
हुन त नेपालमा मात्र नभई संसारभरिनै नकारात्मक तथा निराशावादी सोचको विकास तीव्ररूपमा भएको छ जसले गर्दा मानव जीवन अस्वस्थ, पीडादायक र डिप्रेसनमा गहिरिँदै छ । हाम्रो समाजलाई निराशावादतिर उन्मुख गराउने महत्त्वपूर्ण कारक तत्त्व भनेको विधि बिनाको निर्णय हो । अकाट्य सामाजिक न्यायको निर्लज्ज चीरहरण हो । निर्णयकर्ताको अदूरदर्शी, प्रभावयुक्त फैसला हो, कर्म र कर्तुतको लगनगाँठो हो ।
यसरी विचार गर्दा हामी कुनै विराधाभास र अतार्किक पक्षको पृष्ठपोषण गर्न सक्दैनौं तर पनि केही महत्त्वपूर्ण आधारहरू भने मनन् गर्न सक्छौं । पहिलो उठाउने विषयमा निराशावाद र नकारात्मक सोच हो । निराशावाद भन्नाले कुनै पनि परिस्थितिबाट सिर्जित अवस्था र परिणाम अनिश्चित र दुःखद हुन्छ भन्ने धारणा हो । यस्तो धारणाले सम्पूर्ण जीवन र जगतप्रति नकारात्मक भाव पैदा गर्दछ । निराशावादी र आशावादीलाई सँगै सोधिने एउटा साधारण प्रश्न हो; गिलास आधा खाली छ वा आधा भरी छ ?
निराशावादीले आधा खाली देख्छ भने आशावादीले आधा भरी । निराशावादी दार्शनिकमध्ये ग्रिकका हेराल्किटर्स र हेगेसियसलाई रुन्चे दार्शनिक भन्नुको तात्पर्य निराशावादी सोचकै कारण थियो । युरोपेली दार्शनिकहरु जस्तै भोल्तेयर, रुसो, लियोपार्डी, आर्थर सोपनहाउर, फेडरिक नित्से, अलबर्ट क्यामु आदिले जीवन र जगतको निराशालाई उजागर गरेका छन् ।
सबै दार्शनिकको सारमा हामीले बुझेको जीवन र जगत घृणालाग्दो यथार्थको थुप्रो हो, जसबाट आउने परिणाम अनपेक्षित, अलोकप्रिय र तितो हुन्छ । त्यसैले सम्पूर्ण मानव जीवन विसगतिले भरिएको छ । अल्बर्ट क्यामुले यतिसम्म भनेका छन् कि जसरी कर्ता र उसको व्यवस्था विशृंखलित छ, त्यसरी नै मानिस र उसको जीवनबीच सम्बन्ध विच्छेद भएको छ ।
हुन त हामीले उभिएको धरातल फरक फरक छ । सबैका दुख र पीडा जीवन जगतप्रतिको मोह र विरक्ति आआफ्नै छन् । तर पनि नकारात्मक सोच समाजका लागि घातक बन्न जान्छ । हामी यस्तो भइसक्यौं कि राम्रो, असल, ठीक भन्ने शब्द नै हराउने डर उत्पन्न भइसक्यो । कुनै पनि काम, त्यसको परिणाम, त्यसले पार्ने दीर्घकालीन असर आदिका आधारमा राम्रो नराम्रो, असल खराब खुट्याउन नसक्नु र विरोधका लागि विरोध, निषेधका लागि निषेधको अवस्था सिर्जना गर्नुमा कतै हाम्रो विधि, नियम र पद्धतिमा आएको विचलन त हैन भन्ने हेक्का राख्नु आवश्यक छ ।
दोस्रो कुरा अनुभव र अनुभूतिसँग सम्बन्ध राख्दछ । अनुभव भन्नाले हामी सबैले भोगेको, देखेको र सुन्ने गरेको घटना परिघटना हो । साधारणभन्दा साधारण काम समयमै नहुँदा, अन्यायपूर्वक शोषण र दमन हुँदा, घिनलाग्दा व्यक्ति विशेष निर्णायक स्थानमा पुग्दा, अझ भनौं २ हप्तासम्म धारामा पानी नआउँदा, १ हप्ता बिजुली नआउँदा, बाटो घाटोको दुरावस्था देख्दा, सहज हुने कामलाई घूस नदिइ सम्पन्न गर्न नसक्दा व्यक्तिलाई मिल्ने पाठ नै अनुभव हो । अनुभूति भावनासँग जोडिएको हुन्छ ।
सबै मानिसले एकै प्रकारको अनुभूति गर्न सक्दैनन्, सानो कुराले कसैलाई ठूलो चोट पुग्दछ भने कसैलाई सामान्य लाग्न सक्छ । एउटै निर्णय पनि व्यक्ति विशेषले विभिन्न किसिमले ग्रहण गर्दछ । मानिसभित्रका आवेग तथा संवेग जस्ता अनुभूतिजन्य मनोवैज्ञानिक असरहरूले गर्दा मानिस अन्य जीवजन्तुभन्दा फरक भएको हो । दुख, सुख, क्रोध, घमण्ड, राम रमाइलो सबै अनुभूति नै हुन् । यसरी धेरै व्यक्तिका अनुभव र अनुभूतिले विस्तारै समाजमा भए गरेका काम, कारवाही, निर्णय आदि आदिका बारेमा एउटा साझा मत निर्माण हुन्छ जसले सकारात्मक वा नकारात्मक निकासको बाटो तय गर्दछ ।
तेस्रो कुरा आशा र प्राप्ति हो । प्रत्येक मानिसको जीवन जिउने आधार आशा मात्र हो । हरपल उसले केही न केही आशा गरेको हुन्छ । आफूले गरेका अनगिन्ती आशाहरु थोरै मात्र पूरा भए पनि ऊ खुसी हुन्छ । समय मै पढाइ सकिनु, जागिर पाउनु, धन आर्जन गरी सुख सुविधा प्राप्त गर्नु मात्रै आशा र प्राप्ति होइनन् । एउटा सचेत नागरिकले समाज कस्तो छ; देश कसरी चलिरहेको छ; राजनीतिक पार्टी के कस्ता हैसियतमा छन्; सामाजिक संघ संस्था के के कुरामा जिम्मेवार छन्; स्वस्थ्य शिक्षा जस्ता सेवाबाट हामी कति नजिक वा टढाा छौ भन्ने सामान्य ज्ञान र ती कुराबाट व्यक्तिले र समुदायले पाउने सहज सुविधाको आशा पनि महत्त्वपूर्ण छ । हाम्रो समाज पश्चिमेली देशहरुमा झै सबै थोकमा एक नम्बर बन भनेर दौडन थालिसकेको अवस्थामा कर्म गर फलको आशा नगर भन्ने पूर्वीय दर्शनले सधैं काम नलाग्ने रहेछ भन्न सकिन्छ ।
चौथो पक्ष भनेको परिवर्तन र यथास्थिति हो । गतिशील समाज यथास्थितिमा रहन सक्दैन । समयको दौडसँगै संसारका सबै वस्तु परिवर्तित हुन्छन् । तर परिवर्तन के का लागि र कस्तो राज्य प्रणालीका लागि भन्ने प्रश्न अहम् छ । जबसम्म देशका नागरिकले परिवर्तनले ल्याएका सकारात्मक पक्षको राम्रोसँग महसुस गर्न सक्दैनन् तबसम्म उनीहरुमा निराशा, अविश्वास, भ्रम र संकट पैदा गर्दछ ।
इतिहासका काल खण्डमा विभिन्न राजनैतिक व्यवस्था र राजनेताको शासन प्रशासनमा भुक्तभोगी नेपाली समाज परिवर्तनभन्दा यथास्थिति, गणतन्त्रभन्दा पञ्चतन्त्र राम्रो भन्ने आम धारणाको विकास भयो भने हाम्रो समाज लथालिंग र भताभुंग पक्कै पनि हुन्छ । सत्ता स्वार्थमा लिप्त भएर, अदालती फैसलामा प्रभाव पारेर, जनताका दैनिन्दिनीमा खेलवाड गरेर शक्ति भक्ति र रवाफमा रमाउने नेता तथा बुद्धिजीवी नामधारीहरु वास्तवमा परिवर्तनका विरोधी प्रगति र समृद्धिका बाधक तथा यथास्थितिका पृष्ठपोषक हुन् ।
पाँचौं महत्त्वपूर्ण विषय भनेको व्यक्तिको विचार र भावनासँग जोडिएको छ । विचार निर्माण गर्ने विभिन्न माध्यम हुन्छन् । अध्ययन र अनुसन्धान विचार निर्माण गर्ने सशक्त माध्यम हो । हामीले अवलम्बन गरेका प्रगतिशील हुनु वा प्रजातान्त्रिक सबै विचारहरू हाम्रा पूर्वज दार्शनिकहरुले निर्माण गरेका सिद्धान्तबाट विकसित भएका छन् । ती विचारहरूको सार भनेको मानव जातिको भलाइ नै हो । यसको विपरीत विचार र व्यवहारको; नियम र कार्य सम्पादनको; कर्म र कर्ताको बेमेल पढ्दै जाँदा हाम्रो भावनामा चोट पुग्नु, निराशा र घोर असन्तुष्टि सिर्जना हुनु कुनै पनि समाजका लागि खतराको सूचक भने पक्कै हो । आजसम्मको हाम्रो अनुभवले देखाएको महत्त्वपूर्ण निष्कर्ष भनेको हाम्रा सामाजिक रुपान्तरण गर्न सक्ने महान विचारहरू व्यक्ति र समाजका संवेदनशील भावनासँग एकाकार गर्न नसक्नु नै हो ।
छैटौं जल्दोबल्दो विषयवस्तु भनेको सुशासन र नागरिक दायित्व पनि हो । मुख्यतः सुशासन भनेको हाम्रा राज्य सञ्चालन गर्ने अंगहरु, सामाजिक संघ संस्थाहरु, न्यायिक तथा अर्धन्यायिक संस्थाहरुमा निर्णय कसरी हुन्छ र त्यसको कार्यान्वयन कति पारदर्शी छ भन्ने बुझिन्छ । वास्तवमा सुशासन कुनै पनि देशको आत्मा हो, मुटु हो, राज्य संचालनको अमूल्य पूजा हो ।
सुशासनको अनुभूति सबैभन्दा तल्ला निमुखा, दुखजिलो गरी खाने वर्गलाई हुनु पर्नेमा थोरै औंलामा गन्न सकिने वर्ग मात्र यसबाट सन्तुष्ट हुने हो भने विधिसम्मत समाजको कल्पना गर्न सकिँदैन । हुनतः कसैले प्रश्न गर्न सक्दछ तपाईंको दायित्व के भनेर ? नागरिक दायित्व भनेको हाम्रो संविधानलाई अक्षरसः पालना गर्ने, प्रजातान्त्रिक गणतान्त्तिक प्रक्रियामा सहभागी हुने; संघ, प्रदेश तथा स्थानीय सरकारको नीति नियमहरुको पालना गर्ने, अन्य व्यक्तिका अधिकार, धर्म, विचार धारणालाई सम्मान गर्ने, आफ्नो अधिकार क्षेत्र पर्ने विषयको निष्पक्ष निर्णय र त्यसको कार्यान्वयन गर्ने आदि आदि पर्न सक्दछन् ।
हामी सचेत हुनु, अन्यायको विरोध गर्नु, जनमत र धारणाको निर्माण गर्नु, सरकारका निर्यायहरुलाई सुधारात्मक आलोचना गर्नु, विधि पद्धति; र मान्यताको खुलेयाम समर्थन गर्न कदापि पछि नपर्नु पनि नागरिक दायित्व भित्र पर्दछ । तर दिन प्रतिदिन लेनदेन, सम्झौता र नाता सम्बन्ध हेरी गरिने कुनै पनि प्रकारका निर्णयहरुमा औला ठड्याउनु पनि नागरिक दायित्व नै हो ।
विधिबिनाको समाज पानीबिनाको माछाजस्तै हो । यस्तो समाज कि निस्क्रिय भएर चीर निद्रामा सुतेको हुन्छ; कि खतरनाक हिंस्रक जंगली जनावरको झैं एक आपसमा जाइलाग्छ । मुख्य कुरा सबै क्षेत्रमा आइपर्ने असन्तुष्टिको सामाजिक प्रदर्शन हो । हाम्रा निराशा र नकारात्मक मनोवैज्ञानिक असरले अब आउने थुप्रै पुस्तासम्मलाई प्रभाव पार्दछ । हाम्रा आशा र प्राप्ति, विचार र भावनासँग परिवर्तन र यथास्थ्तिि, सुशासन र दायित्वलाई एकाकार गरी सकारात्मक आलोचनात्मक चेतको विकास गर्नु सम्पूर्ण सचेत नागरिकको कर्तव्य हो ।
तपाईको प्रतिक्रिया