मुस्ताङको सौरुका २२ घर जोखिममा
एसके थकाली
जोमसोम
मुस्ताङको थासाङ गाउँपालिका—२ सौरुगाउँका २२ घरधुरी अहिले बाढी÷पहिरोको उच्च जोखिममा छन् । पूर्वतर्फको निलगिरी हिमालको फेदबाट बग्ने ठाडो तमखोलाको बहाव उच्च हुँदा सौरुगाउँ उच्च जोखिममा परेको हो ।
बेनी—जोमसोम मुख्य सडकको कालिगण्डकी पूर्वपट्टि केही भिरालो र केही समथर जमिनमा अवस्थित सौरुगाउँमा बर्खायाममा नदी कटान र बाढी÷पहिरोले जोखिम सिर्जना गर्छ । सौरुको माथिल्लापट्टिका घरधुरीलाई ठाडो खोलाको बाढी र पहिरो अनि तल्लोपट्टिका घरधुरीलाई कालिगण्डकी नदीको कटानले बर्सेनि सास्ती दिने गरेको थासाङ २ का वडाध्यक्ष नरप्रसाद हिराचनले बताए ।
वडाध्यक्ष हिराचनका अनुसार गत साउन ५ गतेको बाढीले सौरुगाउँ झनै जोखिममा परेको हो । गाउँमाथिको भिरालो सतहमा तमखोलाको बहावले तटबन्धन र सिँचाइ कुलोसमेत बगाएको र बस्ती, खेतीयोग्य जमिन र ठाडो खोलाको लेबल समान हुन थालेकाले बस्तीलाई थप जोखिम सिर्जना भएको वडाध्यक्ष हिराचनले जानकारी दिए ।
तमखोलाको बाढीले सौरुगाउँका हिमालध्वज तुलाचनको परिवार विस्थापित भएको छ । तुलाचनको घरमा बाढीले पूरै घर जलमग्न भएको वडाध्यक्ष हिराचनले बताए । विस्थापित परिवारलाई गाउँकै गुम्बामा स्थान्तरण गरिएको छ । बाढीले सौरुगाउँमा रहेको करिब २५ रोपनी जग्गामा लगाइएको अन्नबालीमा क्षति पु¥याएको छ ।
बाढीले खेतमा लगाइएको मकै, सिमी, फापर लगायतका बालीमा क्षति पुगेको छ । खेतमा लगाइएको करिब १ सयभन्दा बढी स्याउका बिरुवा बालुवा र गेग्रानले पुरिएको स्थानीय दीपक तुलाचनले जानकारी दिए । अर्का स्थानीय सोजन हिराचनले तम खोलाको बाढीले सिँचाइ कुलो, खानेपानी र खेतमा क्षति पुगेको बताए । उनले गाउँ बाढीको उच्च जोखिमा रहेकाले वर्षा हुँदा उच्च सतर्कता अपनाउन आवश्यक भएको बताए ।
थासाङ गाउँपालिकाले सौरु बस्ती तथा खेतीयोग्य जमिन संरक्षण गर्न डोजर परिचालन गरेर खोला पन्छ्याउने काम गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले जानकारी दिए । गाउँ र खेत जोगाउन खोलाको लेबल घटाउन गाउँपालिकाले पहल गर्ने केसीले बताए ।
सौरुगाउँ जस्तै, थासाङ—४ को घाँसा पनि बाढी पहिरोको जोखिममा परेको छ । गाउँ माथिको गाडखोला बहाव उच्च भएपछि घाँसा गाउँ जोखिमा परेको हो । गत असारको बाढीले घाँसामा खेतीयोग्य जमिनमा बाढी पसी अन्नवालीमा क्षति पु¥याएको थियो भने, सडक, ढल, पुल, बिजली र सञ्चार संरचनामा क्षति पु¥याएको वडाध्यक्ष विशाल शेरचनले बताए । थासाङ—२ नाउरिकोट, कोबाङ र लार्जुङ लगायत गाउँमा समेत बाढी—पहिरोले क्षति गरेको थियो ।
……….
तपाईको प्रतिक्रिया