‘पाेखरा महानगर अनियमितताको अखडा’

समाधान संवाददाता २०७७ साउन १३ गते १०:०३

समाधान संवाददाता, पोखरा

Advertisement

पोखरा महानगर अनियमितताको अखडा बनेको वडाध्यक्षहरुले नै बताएका छन् । कांग्रेसबाट निर्वाचित ११ वडाध्यक्षले सोमबार संयुक्त पत्रकार सम्मेलन गरेर ठेक्कापट्टामा अनियमितता भइरहेको, बेरुजु बढेको र महानगर भाडाको लोभमा डुबेको आरोप लगाए ।

स्मार्ट सिटी बनाउनलाई आफूहरुले पटकपटक सुझाव दिए पनि त्यसमा कसैले वास्ता नगरेको उनीहरुको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सचेतक एवं पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले पृथ्वीचोकको बसपार्क निर्माणका विषयमा पनि मेयर मानबहादुर जिसीले कुनै चासो नदिएको बताए ।

Advertisement


‘पृथ्वीचोकमा बसपार्क बनाउन भनेर मेरो संयोजकत्वमा टोली बनाइयो । हामीले २८१ पृष्ठको प्रतिवेदन महानगरलाई पेश गर्‍याैं,’ उनले भने, ‘महानगर आफै काम दिन्छ । जिम्मेवारी पूरा गरेपछि वास्ता गर्दैन ।’
महानगरपालिकाको कामकारबाहीमा विभिन्न विकासका योजना तथा ठेक्का सम्झौतामा एकलौटी गरेको, आफ्नै कार्यकर्ता पोस्ने काम गरेको, विभिन्न घाटहरुको ठेक्का सम्झौतामा अनियमितता गरेको, महानगर स्वामित्वका भवनहरुको घरभाडा आर्थिक चलखेल गरेको, बैंक ग्यारेन्टी नराखेको, पार्किङ ठेक्कावापतको रकम अझै असुल नगरेको वडाध्यक्षको भनाइ छ ।


पोखरा महानगरको लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै वडाध्यक्ष लामिछानेले पछिल्ला वर्षमा बेरुजु बढेको बताए । होर्डिङ बोर्डको जिम्मा वर्षौंदेखि पोखरा उद्योग वाणिज्य संघलाई नै निरन्तरता दिएको भन्दै त्यसमा मिलेमतोको गन्ध आएको वडाध्यक्षहरुको भनाइ छ ।

Advertisement

कांग्रेस वडाध्यक्षहरुले ट्राफिक आइल्याण्ड, यात्रु प्रतिक्षालय, मलमुत्र, सोलार लाइट–बोर्ड, फोहरमैला, डस्टविनलगायत बिना टेण्डर आफ्ना मान्छेलाई दिएकाले महानगरको करोडौं राजश्व गुमेको बताए ।

पोखरा रामघाटको ठेक्का सम्झौता गर्दा राजी कन्ट्रक्सनसँग प्रचलित कानुन एवं प्रकाशित सूचना विपरीत हुने गरी ३ करोड ५ लाख बराबरको रकम बैंक ग्यारेन्टी एवं नगद २ साताभित्र जम्मा गर्ने गरी सम्झौता भएकोमा रकम जम्मा एवं बैंक ग्यारेन्टी पेस नगरेको प्रतिवेदनमा बताइएको छ ।

जनप्रतिनिधि आउनुअघि बेरुजु करिब २३ करोड भएकोमा हाल कुल १ अर्ब २६ करोड हुन गएको, मालपोत कार्यालयअघि महानगरको सटर विगतमा २५ हजार मासिक भाडा लिइँदै आएकोमा अहिले १०/१२ हजारमै सम्झौता गरी आर्थिक हिनामिना गरेको वडाध्यक्षहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया