कोरोनाको महामारी फैलिएपछि स्याङ्जा जिल्ला १० दिनलाई सिल
समाधान संवाददाता
स्याङ्जा
जनताको सुरक्षाका लागि अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि स्याङ्जामा १० दिनको लागि सिल गरिएको छ ।
समाजमा कोरोना भाइरस फैलिन नदिन अत्यावश्यक सेवा बाहेक आवतजापतमा पूर्णरुपमा बन्देज गरिएको हो । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनताको सुरक्षामा खटिएका प्रहरी प्रमुखसहित २१ जना सुरक्षाकर्मी कोरोना पुष्टि भएपछि जिल्ला बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रहरी प्रमुखसहित सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र सम्पर्कमा आएकाले प्रभाबको हिसाबले पुतलीबजार धेरै जोखिम देखिए पनि समुदायमा पूर्णरुपले फैलिन नदिन अन्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको क्षेत्रीले बताए ।
घोषित रुपमा सिल नभने पनि अवस्थालाई हेरेर अघोषित रुपमा सिल नै भएको क्षेत्रीले बताए । आवश्यक परेर घर बाहिर निस्कनु परेमा अनिवार्य माक्स लगाउनु आग्रह गर्दै क्षेत्रीले जिल्ला भित्र रहेका सबै पालिकाहरुलाई नियन्त्रणमा लिन अनुरोध गरेको बतााए ।
कोराना नियन्त्रण गर्न दुरी कायम गर्ने, भिडभाडमा नजाने, माक्स तथा सेनिटाइजर प्रयोग गर्न जिल्लाबासीहरुमा क्षेत्रीले आग्रह गरेका छन् । अत्यावश्यक कामहरु बाहेक भीडभाड नगर्न प्रजिअ क्षेत्रीले आग्रह गरेका छन् ।
सिसिएमसीको निर्णयलाई अवज्ञा गर्ने जो कोहीलाई पनि कारबाही हुने प्रजिअ क्षेत्रीले बताए । जिल्ला पूर्णरुपमा बन्द गरे पनि कोरोना संक्रमित प्रत्यक्ष सम्पर्कमा आएकाको स्वाब लिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।
उनले सुरक्षाकर्मीको धेरै प्रत्यक्ष सम्पर्कमा आएका मध्येबाट उमेर बढी भएका र दीर्घ रोगीको पहिलो चरणमा स्वाब लिइने बताए । यहाँ साउन ६ गते ट्राभल हिस्ट्री नभएका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भेटिएको थियो भने साउन १२ गते प्रहरी प्रमुख एसपीसहित संक्रमण फैलिएको थियो ।
तपाईको प्रतिक्रिया