मुक्तिनाथ ब्रान्ड ‘यार्तुङ’ कोरोनाले प्रभावित

समाधान संवाददाता २०७७ साउन १३ गते १८:१८

एसके थकाली
जोमसोम

Advertisement

हिमाली भेगका बासिन्दाको महत्वपूर्ण सांस्कृतिक पर्व हो ‘यार्तुङ’ । ‘यारको शाब्दिक अर्थ बर्खा र तुङको अर्थ समाप्ति’ । अर्थात् बर्खायामपछि हिउँदको सुरुआतनै यार्तुङ हो । बर्खायामको बिदाइ र हिउँदको आगमनको क्षणलाई स्वागत गर्दै मनाइने यार्तुङ पर्वले हिमाली क्षेत्रको धार्मिक, सांस्कृतिक र सामाजिक मौलिक सभ्यतालाई जर्गेना गरेको छ ।

मुस्ताङको ३ स्थानीयतहमा बस्ने आदीवासी जनजाति समुदायले यार्तुङ पर्व आआफ्नै शैलीले मनाउने गर्छन् । मुस्ताङको लोछोदिन क्षेत्र र वारागुङ मुक्तिक्षेत्रमा बर्सेनि यार्तुङ पर्व उल्लासका साथ मनाउने चलन रहिआएको छ । बर्खायाममा खेतीपातीको काममा व्यस्त हुने र बर्खापछि फुर्सदिलो याम सुरु हुने भएकाले यसको खुसियालीमा यार्तुङ पर्व मनाउने गरिएको हो । स्थानीय परम्परागत जातीय मौलिक संस्कृति, भेषभूषा र रहनसहन अंगाल्दै मिठो खाने, राम्रो लगाउने र आपसमा भाइचारा अभिबृद्धि गर्न यार्तुङ पर्व महत्वपूर्ण माध्यम बन्ने गरेको छ ।

Advertisement

यार्तुङमा देश विदेशमा छरिएर रहेका मुस्ताङी गाउँ फर्किन्छ । यार्तुङ पर्व गुरुङ, बिष्ट र लोहा समुदायका स्थानीयले २ दिनदेखि एकसाता सम्म मनाउछन् । यार्तुङ पर्वको मुख्य विशेषता घोडा दौड हो । कुदिरहेको घोडामा चढेका व्यक्तिले जमिनमा राखिएको खाँदा टिपेर आफूलाई घोडा दौडको अब्बल सावित गर्ने साहसिक खेलको रुपमा पनि यसलाई लिइन्छ । यार्तुङको मुख्य दिन मौलिक भेषभूषमा सजिएर स्याब्रो नाच देखाउने चलन छ । नाच देखाउँदा उनीहरुले तिब्बती शैलीको स्याब्रो गीत पनि गाउछन् ।

मुस्ताङका ३ स्थानीय तहमा यार्तुङ पर्व मनाइने भए पनि वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथमा मनाइने यार्तुङ विशेष प्रकारको हुने गर्छ । विगत एक दशक अघिदेखि ब्रान्डको रुपमा मनाइँदै आएको यार्तुङ पर्व तामझामको साथ मनाइने गरिन्छ । मुक्तिनाथ जनप्रिय युवाक्लबले यार्तुङ पर्वलाई जातीय पर्वको रुपमा मात्र नभई महोत्सवकै रुपमा सञ्चालन गर्ने गरेको छ । मुक्तिनाथ यार्तुङमा क्लबले फुटबल, तारो हान्ने खेल, घोडा दौड प्रतियोगिता, डान्स पार्टी र विभिन्न रमाइलो सांगितिक कार्यक्रम प्रस्तुत गर्ने गर्छ । यार्तुङमा क्लबले राष्ट्रिय ख्यातिप्राप्त कलाकारलाई झिकाएर कार्यक्रम गर्ने गथ्र्यो । यार्तुङमा मुक्तिनाथका होटल तथा रेस्टुरेन्ट पर्यटकले हाउसफूल हुन्थे ।

Advertisement

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड—१९) कारण यसपटक मुक्तिनाथमा मनाइने ब्रान्ड यार्तुङ प्रभावित हुने पक्का भएको छ । जनप्रिय युवा क्लव मुक्तिनाथका अध्यक्ष उर्गेन गुरुङले कोरोना कहरलाई मध्यनजर गर्दै आगामी सोमबार रक्षा बन्धनका दिनदेखि मनाइने यार्तुङ पर्वका सबै औपचारिक कार्यक्रम रद्द गरिएको जानकारी दिए ।

कोरोना जोखिमको अन्त्य नभएको र सरकारले पनि भीडभाडको कार्यक्रममा प्रतिबन्ध लगाएकाले यसपटकको यार्तुङमा कुनै पनि प्रतियोगिता र सांस्कृतिक कार्यक्रम नहुने स्पष्ट पारे ।
उनका अनुसार परम्परा धान्नका लागि अनौपचारिक रुपमा यसपटक सामान्य हिसाबले मनाउने तयारी भइरहेको छ । यसपटक स्थानीय भेषभूषासहितको स्याब्रो नाच र अप्रतियोगिताको रुपमा घोडा कार्यक्रममा हुने अध्यक्ष गुरुङले बताए । गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजना र क्लबको समन्वयमा यार्तुङ महोत्सव सञ्चालन भएको थियो ।
फाइल फोटो

तपाईको प्रतिक्रिया