पोविविको आन्दोलनमा सांसद थापाको साथ

समाधान संवाददाता
पोखरा
पोखरा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्तिको माग राख्दै नेपाल विद्यार्थी संघले थालेको रिले अनसन बुधबार आठौं दिन पनि जारी रह्यो । विद्यार्थीहरुको हौसला बढाउन केन्द्र, प्रदेश र स्थानीय तहका नेता कार्यकर्ता दिनहुँजसो विश्वविद्यालय पुग्ने गरेका छन् ।
गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापा बुधबार विश्वविद्यालय पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै सरकारले अत्यन्तै अशोभनीय काम गरेको उनले बताए । १० महिनासम्म उपकुलपति र पदाधिकारी नियुक्त नहुनु भनेको २ तिहाइको सरकारकै बेइज्जत भएको उनको भनाइ थियो । प्राज्ञिक थलोमा फोहोरी राजनीति खेल खेलेर विश्वविद्यालयलाई अस्तव्यस्त बनाइएको उनले आरोप लगाए ।
प्रदेश सभाको बैठक विशेष समय लिएर उनले पोखरा विश्वविद्यालयको अस्तव्यस्ताको बारेमा सरकारको ध्यानाकर्षण गराइसकेका छन् । प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले संघ सरकारको मातहतमा रहेकाले समस्या समाधानका लागि समन्वय गर्ने आश्वास दिएकी थिइन् ।
नेविसंघका नेता भानु ढकालले विद्यार्थीले थालेको आन्दोलनको निकास दिलाएरै छाड्ने बताए । केन्द्रीय महामन्त्री आएर २४ घन्टे अल्टिमेटम दिएर गएको भन्दै उनले अब कुलपति तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध नै आन्दोलन थालिने बताए । नेविसंघ जहिले पनि विकृति र विसंगति विरुद्ध लड्दै आएको भन्दै अब पनि त्यसका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । नेपाल भ्रमण वर्ष २०२० कोरोनाले खाए पनि ‘भ्रष्टाचार वर्ष २०२०’ जारी रहेको भन्दै उनले सरकारको कटाक्ष गरे ।
नेविसंघ पोविवि मुल इकाइ अध्यक्ष फिरोज सुवेदीले विद्यार्थीको भविष्यसँग जोडिएको यो विषयलाई राजनीतिक दल र सञ्चारकर्मीले संवेदनशील रुपमा लिइदिन आग्रह गरे । विद्यार्थी नेता राजन भण्डारीले आफूहरु पद जोगाउन र पद पाउन भन्दा पनि नियमित र आंशिक गरी ४० हजार विद्यार्थीको भविष्यका लागि आन्दोलनको मोर्चामा उत्रेको बताए ।
बुधबारकाे अनसनमा सगुन भण्डारी, नूतन भण्डारी र पूजा भण्डारी सहभागी थिए ।
विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार लगायत आवश्यक पदाधिकारी नहुँदा परीक्षाबारे कुनै निर्णय हुन सकेको छैन । देशका अरु विश्वविद्यालयले विद्यार्थीलाई परीक्षाका लागि तयार रहन भने पनि पियुका विद्यार्थी उपकुलपति नियुक्त गरिदिन आग्रह गर्दै हिँड्न बाध्य छन् ।
उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको सभा, शिक्षक नियुक्ति, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत प्रभावित भएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।
विश्वविद्यालयबाट ८ वटै सेमेस्टर सकेका विद्यार्थीको दीक्षान्त समारोह गत फागुनमा हुनुपर्ने थियो । कुलपति र रजिस्ट्रार नहुँदा समारोह हुन सकेन । ट्रान्सक्रिप्ट र सर्टिफिकेट नपाउँदा पास भएका ७ हजार विद्यार्थी शैक्षिक बेरोजगार बनेका छन् ।
उपकुलपति नियुक्त भएर नआउँदासम्म विश्वविद्यालयको कुनै पनि काम अघि बढाउन सम्भव नरहेको उनी बताउँछन् । ‘एक जना डिन र संयुक्त कलेजका निर्देशकबाहेक विश्वविद्यालयमा अधिकारप्राप्त अधिकारी कोही हुनुहुन्न,’ ढकालले भने, ‘कसरी जाने, के गर्ने अन्योलमात्रै छ । विश्वविद्यालय कुन दिशामा जान्छ थाहा छैन ।’
उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको पदसमेत रिक्त रहेको ढकालले जानकारी दिए । व्यवस्थापन संकायमा भने प्राध्यापक हरिबहादुर खड्का डिन छन् । डिनमात्रै होइन स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङबाहेक अरु ३ संयुक्त आंगिक कलेजमा निर्देशक पनि छैनन् ।
विश्वविद्यालयका उपकुलपति प्राडा चिरञ्जीवी शर्माको कार्यकाल गत वर्ष असोज पहिलो हप्ता सकियो । त्यसलगत्तै विज्ञान संकायका डिन बुद्धिराज जोशीले ३ महिनलाई उपकुलपतिको जिम्मेवारी पाए ।
जोशीपछि मानविकी संकायका डिन प्राडा इन्द्रप्रसाद तिवारीले उपकुलपतिको जिम्मेवारी पाए । प्राडा तिवारीले वैशाखमा अवकास पाइसकेका छन् ।
शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटीले उपकुलपतिमा मंसिरमै ३ जनाको नाम सिफारिस गरे पनि प्रधानमन्त्रीले अझै नियुक्त गरेका छैनन् । सूचना अधिकारी ढकालका अनुसार विश्वविद्यालयका ४ आंगिक, ४ संयुक्त आंगिक र देशभर ५८ वटा सम्बन्धन प्राप्त कलेज छन् ।




पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया