मुख्यमन्त्री र मन्त्रीले रासन किन्ने दोकानमै म्याद गुज्रेका सामान !

समाधान संवाददाता २०७७ साउन १४ गते २१:३३

अनुप पौडेल
पोखरा, १४ साउन

Advertisement

आडैमा मन्त्री निवास छ, पछाडिपट्टि मुख्यमन्त्रीको । मन्त्रीको निवासमा नजिकैको आकृति थापा किराना स्टोर्सबाट रासन पुग्छ । तर मन्त्रीदेखि मुख्यमन्त्रीको निवासमा रासन पुर्‍याउने पसलमै म्याद गुज्रिएका वस्तु र बढी मूल्यमा सामान बिक्री गरेको पाइएको छ ।

अनुगमनका क्रममा बुधबार पोखरा राष्ट्रबैंक चोकस्थित आकृति थापा किराना स्टोर्समा पुगेको टोलीले त्यस्तो भेटाएको हो । अनुगमन टोली त्यहाँ पुग्दासम्म मन्त्री, मुख्यमन्त्रीको भान्सामा त्यहीँबाट नुनतेल पुग्छ भन्नेमा बेखबर थियो । पसल सञ्चालकबाटै पछि सबै कुरा थाहा भयो ।

Advertisement

उक्त स्टोर्सबाटचिनी ५ र मुसुरो दाल १० रुपैयाँ बढी मूल्यमा बेचेको पाइएको अनुगमन समिति सदस्य कपिलनाथ कोइरालाले जानकारी दिए ।म्याद गुज्रिएका वस्तु बिक्री र मूल्यवृद्धिमात्रै होइन, उक्त स्टोर्सले फुटपाथ ओगटेर व्यापार गरेको छ ।

पसल साँघुरो भएपछि सञ्चालकले हिँड्नका लागि बनाइएको फुटपाथमा पाल टाँगेर सामान राखेको पाइएको हो । ‘हिँड्नका लागि बनाइएको फुटपाथ ओगटेर सामान बिक्रीका लागि राखेको देखियो । त्यसलाई तत्काल हटाएर उहाँलाई सम्झायौं,’ सदस्य कोइरालाले भने, ‘म्याद गुज्रेका वस्तु बेच्दैनौं भने पनि त्यस्ता वस्तु राख्न छुट्टै ठाउँ नभएकाले मुखले भने पनि व्यवहारमा त्यस्तो देखिँदैन ।’

Advertisement

अनुगमन समितिले पसल सञ्चालकलाई मूल्य सूची देखिने ठाउँमा राख्न, दर्ता नवीकरणका कागजात चुस्त दुरुस्त राख्न, सार्वजनिक पेटी मिचेर सामान नराख्न निर्देशन दिएको छ ।

स्टोर्स सञ्चालक मनोजबहादुर थापाले प्रदेशका मुख्यमन्त्री, मन्त्री आफूकहाँबाट मासिक रुपमा पैसा तिर्ने गरी खाद्यान्न लैजाने गरेको बताए । नुनतेल, साबुन लिन मन्त्री निवासका कर्मचारी बेलाबखत आउने गरेको सञ्चालक थापाले बताए ।

उनले भने, ‘छिमेकमा भएकाले त्यहाँको भाइहरु यहीँ आएर खुद्रा सामान लैजानुहुन्छ । चामल भने कहिलेकाहीँ ५ केजीको मात्रै जान्छ । चामल त अन्तैबाट ल्याउनुहुन्छ होला ।’

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कानुनमन्त्री हरिबहादुर चुमान, अर्थमन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतकहाँ आफ्नै पसलबाट खुद्रा सामग्री पुग्ने थापाले बताए ।

राष्ट्रबैंक चोकमा रहेका विभिन्न जुस पसलले पनि फुटपाथ मिचेर व्यापार गरेको पाएपछि अनुगमन टोलिले आउँदो दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन दिएको छ ।

‘खाद्य अभाव छैन’

पोखरामा कोरोनाले गर्दा खाद्य सामग्रीको अभाव देखाउँदै मूल्यवृद्धि गरिए पनि कुनै वस्तुको अभाव नरहेको अनुगमन समितिले जनाएको छ ।

समितिका संयोजक गोकुल शर्मा पौडेलले आवश्यक सबै खाद्य वस्तुको पर्याप्त स्टक रहेको बताए । उनले भने, ‘अहिले कतै खाद्य अभाव छैन । कसैले बढी मूल्य लिएको पाए कारबाही हुन्छ ।’

तपाईको प्रतिक्रिया