म्याद गुज्रिएको बिस्कुट खाँदा पोखरामा ४ बालबालिका बिरामी
समाधान संवाददाता
पोखरामा म्याद गुज्रिएको बिस्कुट खाँदा ४ बालबालिका बिरामी परेका छन् । पोखरा–५ मालेपाटनस्थित मल्लाजी स्टोर्सबाट मंगलबार बिस्कुट किनेर खाएका स्थानीय २ बालक र २ बालिका बिरामी परेका हुन् ।
अन्नपूर्ण गाउँपालिका घर भइ पोखरा बस्ने प्रेमराज अधिकारीका छोरीहरु १० वर्षे सम्झना,८ वर्षकी सपना र अरु २ बालक पनि बिरामी परेका हुन् ।
बालबालिका बिरामी भएपछि वडा प्रहरी कार्यालय बैदाममा अभिभावकले मौखिक उजुरी गरेका थिए । प्रहरीले त्यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेललाई जानकारी गराएको थियो ।
खाद्य निरीक्षक पोखरेल बुधबार बिहान अनुगमनमा पुग्दा त्यहाँ ६ हजार मूल्य बराबरको म्याद गुज्रेका सामग्री भेटिएको छ ।
पर्वतका भीमप्रसाद आचार्यले सञ्चालन गरेको उक्त पसलमा विभिन्न प्रकारका मिठाइँ, बिस्कुट, कोल्ड ड्रिंक्स लगायत म्याद गुज्रेका सामान भेटिएको खाद्य निरीक्षक पोखरेलले जानकारी दिए । म्याद गुज्रिएका खाद्य सामग्री वडा प्रहरी कार्यालय बैदामले जफत गरेर नष्ट गरेको छ ।
बिस्कुट खाँदा बिरामी परेकाहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख यादव ढकालले बताए ।
ती बालबालिका मंगलबार अस्पताल भर्ना भएका थिए । म्याद गुज्रिएको सामान बेच्ने पसल दर्ता पनि छैन । खाद्य निरीक्षक पोखरेलले भने, ‘पसल दर्ता पनि रहेनछ, १ हप्ताभित्र दर्ता गर्न भनेका छौं । फेरि अनुगमनमा जान्छौं ।’
यो पनि
मन्त्रीले रासन किन्ने दोकानमै म्याद गुज्रेका सामान !
तपाईको प्रतिक्रिया