लेखनाथ उद्योग वाणिज्य संघमा स्वागत
लेखनाथ
धादिङ, मकवानपुर र थाहा उद्योग वाणिज्य संघको एक प्रतिनिधि टोलीलाई लेखनाथ उद्योग वाणिज्य संघले बिहीबार स्वागत तथा सम्मान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारण सभा तथा चुनावका सिलसिलामा आएको भ्रमण टोली र लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीबीच सहकार्यका आधारमा अगाडि बढ्ने र संघ—संघबीचको सम्बन्धलाई अझ बढी प्रभावकारी बनाउँदै भाइचाराको सम्बन्ध विस्तार गर्नुपर्ने सुझाव राखिएको थियो ।
स्थगित भएको महासंघको निर्वाचनलाई सहमतिका आधारमा यथासक्य चाँडो गराउनुपर्नेमा धारणा राखिएको छलफल कार्यक्रममा खुलातर्फ महासंघको सदस्य पदमा उम्मेदवार दिन लागेका धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वोदनाथ दवाडी, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवाल, थाहा उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री र लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्वअध्यक्ष बाबुराम गिरी लगायतले संघहरु बीचको अनुभव साटासाट गर्दै व्यावसायिक हकहितका सवालमा आवाज उठाउनुपर्नेमा जोड दिइएको थियो ।
संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गोपिचन्द्र बास्तोलाले सञ्चालन र प्रथम उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । महासंघको ५४ औं वार्षिक साधारण सभा तथा अधिवेशनका लागि लेखनाथ उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष बाबुराम गिरीलाई गण्डकी प्रदेश केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेको छ ।
तपाईको प्रतिक्रिया