नागरिक समाज कास्कीमा इन्द्रकमल
समाधान संवाददाता
पोखरा
नागरिक समाज कास्की संयोजकमा इन्द्रकमल मानन्धर चयन भएकी छन् । संस्थाको बिहीबार भएको १० औं वार्षिक साधारणसभा तथा तेस्रो सम्मेलनले मानन्धरको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
समाजको सहसंयोजकमा नरेन्द्रमान लालचन, प्रवक्तामा गोकुलबहादुर कार्की, सहप्रवक्तामा सूर्यनाथ पहारी र अर्थसंयोजकमा शिवप्रसाद बास्तोला चयन भएका छन् ।
सदस्यमा शशि तुलाचन, पवित्रा जिसी, सावित्री शर्मा, अर्जुन भण्डारी, धीरज थापा, हरिश्चन्द्र अधिकारी, सुजन गुरुङ र रामचन्द्र लामिछाने चयन भए । निर्वतमान संयोजक विष्णुहरि अधिकारी र संस्थापक संयोजक रामबहादुर पौडेल हुन् ।
संस्थापक संयोजक पौडेलले सर्वसम्मतरुपमा नयाँ समिति चयन गरेको जानकारी गराए । तत्कालीन समयमा ७ नम्बर वडा मात्रै कार्यक्षेत्र रहनगरी स्थापना भएको संस्थाले पछि कार्यक्षेत्र पोखरा महानगर क्षेत्रमा विस्तार गरेको हो । संस्थापक संयोजक पौडेलले पोखराबाट कार्यक्षेत्र बढाएर कास्की जिल्लाभर बनाउने राखेको प्रस्ताव सर्वसम्मत रुपमा बिहीबारै पारित भएको छ ।
सरकारी र गैरसरकारी सहयोग नलिइकन सञ्चालन हुँदै आएको संस्थाले स्थानीय, प्रादेशिक र राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय सवालमा समेत विविध कार्यक्रम गर्दै आएको छ । पौडेलले संस्थाले विरोधका लागि विरोध मात्र नभएर रचनात्मक कार्यका लागि निरन्तर लागिरहने बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं वरिष्ठ अधिवक्ता तीलक पराजुलीले नागरिक समाजले स्वयंसेवी भावनाले गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने भनाइ राखे । लकडाउन सकिए पनि कोरोना संक्रमण नसकिएको भन्दै यसको महामारीबाट जोगिनका लागि सचेतना फैलाउने काम गर्न उनले सुझाव पनि दिए ।
नयाँ समिति घोषणा हुनुअघि संयोजक विष्णुहरि अधिकारीले आफू नेतृत्वमा आएदेखि हालसम्म गरेको कामको विवरण प्रस्तुत गरेका थिए । सकेसम्म धेरै कार्यक्रम गर्ने प्रयास गरे पनि कतिपय विषय समय अभावले छुटेको उनले सुनाए । कार्यक्रममा पवित्रा जिसीले आर्थिक प्रतिवेदन पेस गरेकी थिइन् ।
नवनिर्वाचित संयोजक इन्द्रकमल मानन्धरले नागरिक समाजलाई नागरिकले निकै सुक्ष्मरुपमा अवलोकन गरिहेको भन्दै यसको शाख माथि पु¥याउने लक्ष्यका साथ आफूले काम गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘हामी नागरिक समाजको सदस्यका रुपमा टोलटोलमा चिनिएका छौं, हामीले गर्ने हरेक कामले हाम्रो स्तर मापन गरिहेको हुन्छ, समाजलाई अझै उचाइमा पु¥याउने गरी काम गर्नुछ ।’
उक्त अवसरमा पोखरा महानगरपालिका वडा नम्बर ९ का सचिव लोकदर्शन कोइराला, माछापुच्छ्रे महिला क्लब उपाध्यक्ष पार्वती पौडेलले शुभकामना व्यक्त गरेका थिए ।
समाजले पोखरा उपत्यका वृहत सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । जसमा स्तस्फूर्त रुपमा सरकारी र गैरसरकारी निकायले सहयोग गर्दै आएका छन् । कोरोनाको महामारीका कारण अहिले भने उक्त अभियान स्थगगित छ ।
तपाईको प्रतिक्रिया