स्वास्थ्य प्रोटोकल सम्बन्धी प्रशिक्षण
पोखरा
पर्यटन क्षेत्रका व्यवसायी महिलाले कोभिड– १९, को संक्रमणबाट जोगिन अपनाउनु पर्ने स्वास्थ्य सतर्कताका बारेमा तालिम लिएका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा र पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आफ्ना सदस्यलाई स्वास्थ्य सुरक्षा सचेतना सम्बन्धी प्रशिक्षण दिइएको मञ्चका अध्यक्ष जमुना पराजुलीले बताइन् । पराजुलीले भनिन्, ‘लामो समयको बन्दाबन्दीले पछि सञ्चालन हुन लागेको पर्यटन व्यवसायलाई कसरी स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्ने सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिएका हौं ।’
कोरोना जोखिम बढिरहेकै अवस्थामा सञ्चालन हुन लागेका होटल, रेस्टुरेन्ट, ट्रेकिङ लगायतका अन्य व्यवसाय सञ्चालन गर्दा विश्व स्वास्थ्य संगठनले जारी गरेको ‘हेल्थ प्रोटोकल’लाई अपनाएर कसरी व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा इन्टरनेसनल मेडिकेयर एन्ड एसिस्टेन्स सेन्टरका डाइरेक्टर डा. मुकेश मल्लिकले प्रशिक्षण दिएका हुन् ।
उनले कोरोना असावधानिका कारण फैलने भन्दै व्यवसाय सञ्चालन गर्दा प्रारम्भिक तहदेखिनै सेवा प्रवाहको अन्तिम अवस्थासम्म ध्यान दिनुपर्ने र सेवा प्रवाह गर्दा आवश्यक स्वास्थ्य सामग्री, त्यसको प्रयोग, सामाजिक दुरीका बारेमा केन्द्रित रहेर प्रस्तुति राखेका थिए । डा. मल्लिकले घरमै स्यानिटाइजर बनाउन सकिने विधिका बारेमा समेत सिकाएका थिए ।
कार्यक्रममा मञ्चका सल्लाहकार देवका पहारीले विषम परिस्थितिमा सञ्चालन हुन थालेको पर्यटन व्यवसायलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य प्रोटोकलको प्रशिक्षण निकै प्रभावकारी भएको भन्दै पालनामा जोड दिन आग्रह गरिन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले व्यवसायमा सानो सानो लापर्वाहीले ठूलो क्षति बेहोर्नु पर्ने अवस्था आउने हुँदा स्वास्थ्य सतर्कता पूर्व तयारीका साथ व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा पर्यटन व्यवसायमा संलग्न विभिन्न क्षेत्रका ५० व्यवसायी महिला सामाजिक दुरी कायम गरेर कार्यक्रम सहभागी भएको सचिव उमा भण्डारीले बताइन् ।
तपाईको प्रतिक्रिया