अधुरै रह्यो निसानको नेपाल आइडल बन्ने धोको
एसके थकाली
जोमसोम
पृथ्वी जगतमा पैदा हुने हरेक प्राणीको जन्मसँगै मृत्यु धु्रवसत्य र वास्तविकता हो । मृत्य त एक वहाना हो, परलोक जाने बाटोको अनेक नाटकीय मञ्चन निष्ठुरी दैवले तय गर्छ ।
दैवले लेखेको एउटा अध्यायको अधुरो किताबको पीडादायी र मर्मस्पर्शी अवसानको कथा हो निसान तुलाचनको अकल्पनीय मृत्यु । २०५९ मंसिर १ गते जन्मेका निसान भर्खर १७ वर्ष पुग्दै थिए । लक्का जवान तन्नेरी निसानको घर थासाङ —२ को बेनी—जोमसोम मुख्य सडकको छाक्ताङ हो । उनी आफ्नो घर परिवारका सदस्यलाई जति माया गर्थे त्योभन्दा बढी उनले मावली परिवारलाई पनि गर्थे । उनी व्यवस्थापन संकायको प्लस टु मा अध्ययनरत ज्ञानोदय मावि लेतेका विद्यार्थी थिए ।
गीत, संगीतप्रति रुचि राख्ने उनको नेपाल आइडल रियालिटी शोको गायन प्रतियोगितामा भाग लिने धोको पनि अधुरो बन्यो ।
लकडाउनपछि उनको पढाइ अवरुद्ध भयो । पढाइ रोकिएपछि उनी घरमा बस्न मानेनन् । उनी मावली घरमा हजुरबालाई सघाउन र हजुरबाकै सहयोगका लागि सोही वडाको नाउरिकोकोट गाउँमा पुगे । घरमै बस्न बाआमाले आग्रह गरे पनि उनी मानेनन् । के थाहा उनकालाई मृत्युले पर्खिएर बसेको । के थाहा उनलाई अन्तिम समाधि मावली घरमै हुन्छ भनेर ।
आखिर त्यो कालो रातको घडी निसानको अन्तिम मृत्युको सन्देश लिएरै आइछाड्यो । हजुरबा रनप्रसाद गौचन भान्सामा र निसान अर्को कोठामा सुतिरहेका थिए । झन्डै ५० वर्ष पुरानो एकतले कच्ची घर त्यो पनि थकाली मौलिक सभ्यताको थियो । पछिल्लो समय जलवायु परिवर्तनका कारण यस्ता घरहरु प्राय जोखिममै हुन्छन् ।
साउनको मुसलधारी झरी । झरीसँगै साउन १२ गते झिसमिसे उज्यालोमा मावली घर डङ्रंग ढल्न पुग्यो । जिन्दगीको स्वर्णिम सपनामा रम्दै गरेका निसानले मृत्युलाई जित्ने कुनै अवसरनै पाएनन् । न मृत्युअघि बाआमाको नाम जप्न पाए । नत उनले मावली परिवार र हजुरबालाई गुहार माग्न भ्याए । दैवले उनलाई खोसेरै लग्यो । पुरानो घर भत्कियो हजुरबा पनि घाइते भए । नातीलाई जोगाउन मौका समेत पाएनन् । हजुरबा भन्छन्, ‘काल पनि कति पक्षपाती, जो मर्न पर्ने थियो उसलाई जिउँदो राख्यो, जो बाँच्नु पर्ने थियो टपक्क टिपेर लग्यो ।’
निसानको परिवार अहिले शोकाकुल छ । ‘१७ वर्षसम्म हुर्कायो, बढायो, पढायो र त्यही सन्तानको आशामा रंगीन सपनाको आशा जगायो त्यही सपना क्षणभर खरानी भयो,’ निसानकी आमा सतल तुलाचन भावुक हुँदै भन्छिन् । निसान धौलागिरि युवा क्लबका एक होनाहार सम्पति पनि थिए । गीत, संगीतप्रति रुचि राख्ने उनको नेपाल आइडल रियालिटी शोको गायन प्रतियोगितामा भाग लिने धोको पनि अधुरो बन्यो । वाद्यवादनतर्फ निसान गितार बजाउन पोख्त थिए ।
गत वर्ष उनी थाक सांस्कृतिक विकास संघले आयोजना गर्ने गायन प्रतियोगितमा दोस्रो समेत भएका थिए । तिम्रो त्यो हसिलो मुहार बोलको दीपक खरेलकाे गीत उनले त्यो बेला गायका थिए ।
तपाईको प्रतिक्रिया