राष्ट्रपतीय निर्बाचन सार्ने ट्रम्पको प्रस्ताव, आफ्नै पार्टीबाट तिव्र आलोचना
एजेन्सी
विश्वकै महाशक्ती अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिका लागि निर्बाचन हुँदैछ । सो चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटको तर्फबाट जोए बाइडन चुनावी प्रतिस्प्र्धामा छन् ।
प्रचार प्रसार तिव्र चलेको छ । यही बेलामा एकाएक राष्टपति ट्रम्पले निर्बाचन सार्नु पर्ने बताएका छन् । उनी बेला बेलामा विवादित वक्तब्य दिएर चर्चामा आइरहन्छन् । यस पटक निर्बाचन पछि सार्ने कुरामा निकै विवाद र आलोचना भैरहेको छ ।
ट्रम्पले चुनावमा छल हुन सक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नु पर्ने बताएका थिए । त्यसपछि विपक्षी डेमोक्र्याटले त्यसको तीव्र आलोचना गरेकोमा रिपब्लिकन पार्टीका शीर्ष नेताहरुले पनि विरोध गरेका छन् ।
माथिल्लो सदन सिनेटका मेजोरिटी लिडलर मिच म्याकोनेल र तल्लो सदनका माइनोरिटी लिडर केविन म्याकर्थीले ट्रम्पको प्रस्ताव खारेज गरेका हुन् । उनीहरु दुवै रिपब्लिकन हुन् । ट्रम्पसँग चुनाव पछि सार्ने कुनै अधिकार छैन । चुनाव पछि सार्ने सम्बन्धी प्रस्ताव कंग्रेसले पास गर्नु पर्छ ।
ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली, छल तथा तथ्यगत नतिजा नआउने भन्दै चुनाव सार्ने प्रस्ताव गरेका हुन् । नागरिकले व्यवस्थित, स्वातन्त्र तथा सुरक्षित रुपमा मतदान गर्न पाउने अवस्था सिर्जना भएपछि चुनाव गर्नु पर्ने उनले बताएका हुन् ।
कोरोना भाइरसको महामारीका कारण आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा धेरै अमेरिकीले हुलाक मार्फत मतदान गर्दै छन् । ट्रम्पको दाबीलाई पुष्टि गर्ने प्रमाणहरु छैनन्, उनी लगातार हुलाक मार्फत हुने मतदानको विपक्षमा रहँदै आएका छन् ।
सन् १९३० को ग्रेट डिप्रेसन यताकै खराब अवस्थामा अमेरिकी अर्थतन्त्र पुगेका बेला ट्रम्पले चुनाव सार्ने प्रस्ताव गरेका हुन् ।
बलियो अर्थतन्त्रलाई प्रमुख मुद्दा बनाउँदै आएका ट्रम्प अर्थतन्त्र नै खराब भएपछि आफू दोस्रो कार्यकालका लागि निर्वाचित नहुने भयका कारण त्यसलाई टार्न चुनाव सार्ने खेलमा लागेको विपक्षीको आरोप छ । रिपब्लिकनहरुले नै अमेरिकी इतिहासमा राष्ट्रपति चुनाव कहिल्यै पनि पछि नधकेलिएको भन्दै ट्रम्पको प्रस्ताव खारेज गरे ।
राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेदवार बन्दै छन् । ट्रम्प पछिल्ला अधिकांश सर्वेक्षणहरुमा बाइडेन भन्दा दोहोरो अंकले पछि देखिएका छन् ।
तपाईको प्रतिक्रिया