पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

समाधान संवाददाता २०७७ साउन १६ गते ११:०४

पोखरा

Advertisement

कास्कीको माछापुच्छ्रे गाउँ पालिका वडा नं ८ मा साउन २ गते बिहानपख गएको पहिरोमा ज्यान गुमाउनेका परिवारलाई मर्दीखोला समाज युकेले आर्थिक सहयोग गरेको छ ।

समाज युकेका अध्यक्ष धर्मराज गुरुङको अग्रसरतामा संकलित २ लाख १२ हजार ४ सय रुपैयाँ बिहीबार पोखरा –१६ लामाचौरमा मृतकहरुका बुबा र हजुरबुबलाई मर्दीखोला समाज युके आमा समूहका सल्लाहकार कमला गुरुङले हस्तान्तरण गरिन् ।

गुरुङले प्राकृतिक विपत्तिमा परेर कलिला बाबु नानीले ज्यान गुमाएको समाचारले निकै मर्माहत भएको भन्दै धैर्य धारण गर्न शोकसन्तप्त परिवारलाई आग्रह गरिन् । उनले भनिन्, ‘यो निकै कठिन अवस्था हो, सन्तान वियोगमा बुबा–आमा, हजुरबुबा –हजुरआमा जस्तै हामी सबै भेगीय दाजुभाई दिदी बहिनीलाई मर्माहत बनाएको छ ।’ उनले तन टाढा भए पनि मन आफ्नै जन्मभूमिको माटोमा रहेकाले विपद्को घडीमा सबैले एकअर्काप्रति सहयोग र सद्भाव राखेर अघि बढ्नु पर्ने बताइन् ।

Advertisement

वडाध्यक्ष कृष्णप्रसाद दवाडीको उपस्थितिमा मृतकहरुका बुबा र हजुरबुबालाई उक्त रकम हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष दवाडीका अनुसार उक्त घटनाबाट वडामा ३ जनाको ज्यान गएको थियो । प्रभावित ९ घरमध्ये ३ घर पूर्ण रुपमा क्षति भएको छ । दवाडीले विपद् व्यवस्थापन तथा पुनस्थापना कोष खडा गरेर सहयोगको कार्य अगाडि बढाएको जानकारी दिए ।
उनीहरु एउटै घरपरिवारका ३ भाइका छोराछोरी हुन् । बन्दाबन्दीको समयमा हजुरबुबा हजुरआमा रहेको खोराको मुखस्थित गाउँको घरमा गएका थिए । मृतकका हजुरबुबा प्रेमराज विकले आफ्ना ३ छोराका नाति नातिना गुमाउनु पर्दाको पीडाले निकै भावविह्वल बनाएको बताए । ‘कालले हामीलाई लगेन ती कलिला बाबुनानी अल्पायूमै टिपेर लग्यो । मन सम्हाल्नु कसरी ? आँखाभरिका आँशु पुछ्दै विकले भने, ‘यस्तो विपत्ती अब कसैले भोग्न नपरोस् ।’
स्थानीय शंखरमान गुरुङले विदेशमा भएर पनि भेगीय गाँउका दाजुभाइ दिदीबहिनीले आर्थिक सहयोग संकलन गरेर चराइरहेको घाऊमा मल्हम लगाएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया