संक्रमित मेयर सरावगीलाई भेटेका थिए पोखराका मेयरले
अनुप पौडेल, पोखरा
वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा बिहीबार कोरोना पुष्टि भयो । उनलाई कहाँबाट कोरोना सर्यो भन्ने यकीन भएको छैन । संक्रमण पुष्टि भएका मेयर सरावगी ४ दिन पहिले काठमाडौंमा एउटा बैठकमा सहभागी हुन पुगेका थिए ।
त्यहाँ विभिन्न नगरपालिका, उप–महानगरपालिका र महानगरपालिकाका प्रमुख उपस्थित थिए । मेयरलाई कोरोना पुष्टि भएपछि देशका विभिन्न पालिकाका प्रमुखमा त्रासको वातावरण सिर्जना भएको छ ।
गत सोमबार बसेको सोमबारको नगर विकास कोषको बैठकमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी पनि थिए । कोरोना संक्रमित मेयर सरवागी र पोखराका मेयर जिसी बीच काठमाडौंमा भेट भएको थियो । मेयर जिसीले समाधानसँग भने, ‘नगर विकास कोषको बैठक थियो । सामाजिक दुरी कायम गरेरै भेटघाट भयो ।’
सुरक्षा व्यवस्था र सामाजिक दुरी कायम गरेर बैठक भएको मेयर जिसीले बताए । मेयर जिसीले आफ्नो स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइसकेको जानकारी दिए । उनले भने, ‘उहाँ (वीरगञ्ज) का मेयरलाई कोरोना देखियो । स्वाब दिइसकें । रिपोर्ट बेलुकासम्म आउला ।’
तपाईको प्रतिक्रिया