आँपुखोलामा पक्की सडक उद्घाटन

समाधान संवाददाता २०७७ साउन १७ गते २०:१०

समाधान संवाददाता, पोखरा

Advertisement

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गगत कास्कीको रुपा गाउँपालिका आँपुखोलामा पक्की सडक निर्माण भएको छ ।

गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत उक्त बाटोका लागि २५ लाख रुपैयाँ विनियोजन गरेका थिए । उक्त बजेटबाट उपभोक्ता समितिले ३ सय ७० मिटर ढलान बाटो बनाएको छ ।

Advertisement

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज तथा प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले शनिबार उक्त बाटो उद्घाटन गरेका छन् । अधिकारीले पार्टी के होला भन्ने विषयमा चिन्ता नगर्न आग्रह गर्दै एकताबद्ध भएर जनताको सेवा निरन्तर लाग्ने बताए ।

गण्डकी प्रदेश सभामा अर्थ तथा विकास समिति सभापति समेत रहेका सांसद कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य पुष्टि गर्नेकाम आँपु खोलाका जनताले गरेको कामबाट भएको बताए । गाउँपालिकाको समन्वयमा बजेट विनियोजन गरिएको भन्दै कोइरालाले कम्युनिस्ट पार्टीको नेतृत्वका कारण नै विकासका कार्यक्रमले निरन्तरता पाएको दाबा गरे ।

Advertisement

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचनको बेला जनतासँग गरेका वाचा अनुसार बाटो निर्माण भएको बताए । प्रदेश र संघसँगको सहकार्यले रुपाका जनताको मुहारमा खुसी आउने गरी काम भएको उनको भनाइ थियो । अध्यक्ष ओझाले गाउँपालिकाले ६ महिनाभित्र पालिकाभित्र खरको छानो भएका सबै घरमा जस्ता पाता राखिने बताए ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका प्रमुख इन्जिनियर किरण आचार्यले आँपुखोलाका जनताले इस्टिमेट भन्दा पनि ९० मिटर बढी बाटो बनाएर उदारणीय कार्य गरेको बताए । बाटो निर्माणमा जनताले देखाएको सहभागिताले निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमको उपयोगितालाई पुष्टि गरेको उनको भनाइ थियो । रुपा गाउँपालिका वडा ६ र ५ लाई जोड्ने उक्त मोटरबाटो निर्माणपछि गाउँलेको मुहारमा खुसी छाएको आँपुखोला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष बलराम थापाले बताए ।

कार्यक्रममा वडानं ६ का वडाध्यक्ष नारायण गुरुङ, उपभोक्ता समितिका रामचन्द्र खड्का, कोषाध्यक्ष लक्ष्मी खड्का, सचिव बुद्धिसागर घिमिरे लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया