न व्यवसाय छोड्न सकिन्छ, न गर्न

समाधान संवाददाता २०७७ साउन १८ गते १९:०३

लकडाउन खुलेको, पसल खुलेको भनेपछि घरबेटीलाई भाडा बुझाउनुपर्ने र त्यसका लागि स्रोत नभएकाले व्यवसायी समस्यामा छन्

कोरोना त्रासका कारण ४ महिनादेखि बन्द रहेका सटर लकडाउन केही खुकुलो भएसँगै खुले ।

बजारमा चहलपहल बढ्यो, तर व्यवसायीले सोचेजस्तो अवस्था छैन । अहिले सटर खोल्ने र बन्द गर्ने काम मात्र भइरहेको व्यवसायी बताउँछन् । पोखराको ठूलो उद्योग मानिने पर्यटन क्षेत्र पनि अहिले थलिएको छ ।

Advertisement

सरकारले ल्याएको राहतका प्याकेज कसरी व्यवसायीसम्म कसरी पुग्छ भन्ने अन्योल नै छ । अहिले व्यवसायीको अवस्था, कोरोनाले सिर्जना गरेका अवसर, कोरोनापछि पोखराको उद्योग र पर्यटन क्षेत्र कसरी अघि बढ्छ भन्ने यकीन छैन ।

प्रस्तुत छ यिनै विषयमा केन्द्रित रहेर समाधानकर्मी अनुप पौडेलले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीसँग गरेको कुराकानी :

Advertisement

लामो समयदेखि बन्द रहेका व्यवसायहरु अहिले सञ्चालनमा आएका छन् । लकडाउनअघि र अहिलेको व्यापारको अवस्था कस्तो छ ?

आम मानिसमा अझै पनि डर त्रास कायम छ । त्यसले गर्दा अत्यावश्यक नभइ मान्छेहरु बाहिर हिँड्ने, भेटघाट गर्ने अवस्था नभएकोले ४ महिने लकडाउनले जनजीवन अस्तव्यस्त बनेको छ ।

सरकारले व्यवसायीलाई राहतको प्याकेज र ब्याजमा छुट दिने भने पनि त्यो कार्यान्वयनमा नआएको लगायत विविध कारणले गर्दा व्यवसायीहरु तनावमा छन् ।

लकडाउन खुलेको, पसल खुलेको भनेपछि घरबेटीलाई भाडा बुझाउनुपर्ने र त्यसका लागि स्रोत नभएकाले व्यवसायी समस्यामा छन् । चैत १० गतेभन्दा अघिको र अहिलेको अवस्था हेर्ने हो भने व्यापार १० प्रतिशत पनि छैन । व्यवसायी लामो समय घरमा बस्दा आत्तिएर खोल्ने वातावरण बनेको छ, व्यापार गर्ने वातावरण बनेको छैन ।

व्यवसायीसँग आफैले लगानी गर्ने पैसा पनि छैन, बैंकबाट ऋण लिएर लगानी गर्ने/नगर्ने भन्नेमा पनि अत्यन्त अप्ठेरो छ । सरकारको सहयोग पनि छैन, व्यवसाय छोड्न र गर्नसक्ने अवस्था छैन ।

सरकारले व्यवसायीलाई राहत दिने भनेर बजेट ल्याएको छ । प्रदेश सरकारले पनि व्यवसयीलाई सम्बोधन गरेजस्तो देखिन्छ । त्यसलाई कसरी प्रयोग गर्न सकिएला ?

सरकारले बजेटमा निजी क्षेत्र सन्तुष्ट हुने गरी सम्बोधन गर्न सकेको छैन । यद्यपि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले व्यवसायीका धेरै कुरा समेटेको छ ।

भिडियो हेर्न यहाँ जानुहोस्

सरकारले ल्याएका पुनर्कर्जा, छुट हिजोका दिनमा हुनेखाने व्यवसायीहरु, जसको पहुँच पुग्छ उनीहरुसम्म मात्रै पुग्थ्यो भने अब मध्यम, निम्न र स्वरोजगार व्यवसायीसम्म पुगोस् भन्ने हामीले अपेक्षा गरेका छौं ।

राष्ट्र बैंकलाई त्यही किसिमले होमवर्क गर्नका निम्ति अनुरोध गरिरहेका छौं । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट आशा गरेका छौं, कार्यान्वयन पक्ष कसरी जान्छ भन्ने पर्खाइमा छौं ।

पीडित व्यवसायीसम्म सरकारले ल्याएका छुट कसरी पु¥याउन सकिएला ?

जो व्यवसायी करको दायरामा गएका छैनन, तिनीहरुलाई सम्बोधन गर्न कठिन छ । तर जो व्यवसायी करको दायरामा गएका छन्, दर्ता गरेर चलेका छन्, बैंकबाट ऋण लिएर चलेका छन् ।

उनीहरुको रेकर्ड बैंकसँग हुन्छ । व्यवसायले ब्याज तिर्न सकेको छ कि छैन, कसरी चल्छ भन्ने सबै छ । त्यसलाईचाहेको खण्डमा बैंकले आफूसँग कारोबार गर्ने व्यवसायीको डाटा लिन सक्छन् । त्यसैले कुनै अप्ठेरोचाहिँ हुँदैन । कार्यान्वयन कसरी गर्ने भन्ने चाहिँबैंकको इच्छाशक्तिमा भर पर्छ ।

कोरोनाकै कारणले कतिको रोजगारी गुम्यो, पोखराको हकमा मजदुरको अवस्था के छ ?

हामीले मजदुरमाथि अन्याय गर्न हुँदैन भनेर उद्योगी व्यवसायीलाई भन्दै आएका छौं । मजदुरले पनि घरमा बसेर पूरै तलब चाहियो भन्न पनि मिल्दैन । यस्तो अवस्थामा मजदुरलाई कामबाट निकालेर झन् अर्को समस्या पार्न उद्योगी व्यवसायीले पनि हुँदैन ।

यसमादुवै पक्षसमझदारीमा कसरी चल्न सकिन्छ, अहिलेको समयलाई भोलिको दिनमा कसरी रिकभर गर्ने भन्ने विषयमा सोच्ने वातावरण बन्नुपर्छ । घरधनीलाई पनि सक्दो छुट दिन अनुरोध गरेका छौं । छुट दिएपछि बाँकी रहेको रकम पनि पछि तिर्ने वातावरण सिर्जना गर्दिनुस् भनेर आग्रह गरेका छौं ।

मजदुरसँगै कति व्यवसायीले आफ्नो व्यवसाय छोडेको पनि सुनिएको छ । पोखराको हकमा कस्ता व्यवसायी पलायन भएका छन् ?

स्वाभाविक हिसाबले पोखरामा पनि त्यस्तो अवस्था सिर्जना भएको छ । व्यवसाय छोडेर गएकाहरुले जानकारी दिएर गएका छैनन् । यद्यपि हामीले अन्यव्यवसायीबाट थाहा पाएका छौं ।

लेकसाइड क्षेत्रमा केही होटल र पसलहरुजहाँ पर्यटन व्यवसाय अझै लामो समय चल्न सक्दैन भन्ने ठाउँमा घरबेटीलाई भाडा तिरेर बस्नुपर्ने भएकाले व्यवसाय छोड्नुभएको छ । धरौटी रकम थोरै भएका र तिर्नुपर्ने धेरै भएका व्यवसायीले छोड्नुभएको छ भने धरौटी रकम धेरै हुनेहरु बस्नुभएको सुन्नमा आएको छ ।

पोखरामा मात्रै नभएर देशैभर यस्तो समस्या आएको छ । हामीले व्यवसायीलाई नआत्तिन, धैर्यताका साथ बस्न भनेपछि कतिपय व्यवसाय छोड्नुभएको छ ।

पोखराको व्यावसायिक क्षेत्र अब कुन दिशातर्फ जाला ?

विश्वको अर्थ व्यवस्था नै कसरी चल्छ भन्ने ठेगान नभएको अवस्थामा पोखरामा हामीलाई टुरिजम र यातायात क्षेत्रप्रत्यक्ष प्रभावित छन् । यी क्षेत्र लामो समयसम्म रिकभर भएर जान सक्दैनन् ।

पोखरमा ठूलो उद्योगभन्दा पनि मझौला र साना उद्योग धेरै छन् । मझौला र साना उद्योग रिकभर भएर चल्न सक्छन् तर पर्यटन र यातायात क्षेत्र लामो समयसम्म धेरै चल्न सक्दैनन् ।

कोभिड–१९ को भ्याक्सिन नआउँदासम्म व्यवसाय पहिलाकै स्थितिमा फर्कने अवस्था कमजोर देखिन्छ । सबैभन्दा ठूलो डर भनेको सीमा जोडिएको छिमेकी मुलुकमा संक्रमितको संख्या दिनप्रति दिन बढिरहेकाले त्यसको प्रभाव हाम्रोमा पनि पर्छ ।

भारतबाट तराईमा आउने र तराईबाट पहाडमा मान्छेको आवतजावतको कारणले गर्दा त्रास छ, त्यसैले गर्दा व्यवसायलाई तुरुन्त रिकभर गर्न सकिन्छ भन्ने अवस्था छैन ।

हरेक समस्याले नयाँ बाटो देखाउँछ भनिन्छ, अब उद्योग व्यवसाय र पर्यटनक्षेत्र अब कसरी अघि बढ्न सक्लान् ?

कोरोनाले पर्यटन र उद्योगको क्षेत्रमा त्यति धेरै अवसर ल्याएको छैन । चलिआएको ट्रेन्डलाई परिवर्तन गर्ने काम गरेको छ । उद्योगको क्षेत्रमा स्वास्थ्यसँग सम्बन्धित सामग्री हिजो बाहिरबाट खरिद गरेर यहाँ बेच्नेमात्रै गरिन्थ्यो भने कतिपयले अहिले यहीँ उत्पादन गर्न थालेका छन् ।

बजारमा मास्क अभाव हुँदा त्यतिबेला बाहिरबाट मेसिन ल्याएर पोखरामै मास्क र सेनिटाइजर बन्न थालेको छ । त्यसैले कोरोनाले गर्दा स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मार्ने र स्तरोन्नति गर्ने काम भएको छ । उद्योग र पर्यटनको क्षेत्रमा नयाँ अवसर देखिँदैन ।

नेपाल उद्योग वाणिज्य संघको चुनाव नजिकै छ । ५ दशक लामो इतिहास बोकेको संस्थामा पुग्न चाहनेमध्ये योग्य उम्मेदवार कसरी छनोट गर्नुहुन्छ ?

महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्षमा एकातर्फ चन्द्र ढकाल र अर्कोतर्फ किशोर प्रधान टिम नै बनाएर अघि बढ्नुभएको छ । चैत अन्तिममा हुने भनिएको सम्मलेन साउनको २६ र २७ गते तोकिएको थियो । तर सरकारले सभा सम्मेलन नगर्न भनेकाले अहिले स्थागित भएको छ ।

हामीले दुवै पक्षका उम्मदेवारलाई योग्य उम्मेदवार छान्छौं भनेका छौं । कुनै एउटा उम्मेदवारको पछाडि आँखा चिम्लेर व्यक्तिका कारणले समूहमा नै विलीन हुने गरेर हामी लाग्न सक्दैनौं ।

तपाईंहरु मिलेर आउनुस् भनेर आग्रह गरेका छौं, यदि मिल्नुहुन्न निर्वाचनमा जानुहुन्छ भने व्यवसायीको निम्ति लाग्ने,व्यवसाय प्रवद्र्धनदेखि व्यवसायीको समस्यासँग जुध्ने उम्मेदवारको पक्षमा लाग्ने छौं । कुनै एउटा प्यानल भनेर हामी लाग्दैनौं भनेर भन्दै आएका छौं र त्यो गर्छौं पनि ।

तपाईको प्रतिक्रिया