कागबेनीमा यार्तुङको रौनक

समाधान संवाददाता २०७७ साउन १९ गते १९:४२

एसके थकाली
जोमसोम

Advertisement

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका—३ कागबेनीमा परम्परागत यार्तुङ महोत्सव २०७७ भएको छ । बर्सेनि मुक्तिनाथमा लाग्दै आएको ब्रान्ड यार्तुङ महोत्सव यसपटक कोरोना कहरका कारण स्थगित भएसँगै कागबेनीले यार्तुङ महोत्सव सञ्चालन गर्ने अवसर पाएको हो ।

बर्खायामको मौसमलाई बिदाई गर्दै हिउँदयामको मौसमलाई स्वागत गर्न हिमाली क्षेत्रका बासिन्दाले यसप्रकारको यार्तुङ पर्व मनाउने चलन छ । बर्खायामको मौसममा खेतीपातीको काम सकेर अन्नबाली घरमा थन्क्याएपछि हिउँदयामको सुरुआतसँगै फुर्सदिलो महिनामा स्थानीयले यार्तुङ मनाउने गर्छन् । यार्तुङ पर्वको मुख्य दिन जनैपूर्णिमाको तिथिमा पर्छ ।

Advertisement

धार्मिक तथा सांस्कृतिक र सामाजिक सभ्यताको प्रर्वद्धन गर्दै आपसमा मिठो खाने, राम्रो लाउने र आपसी भाइचारा अभिवृद्धि गर्ने प्रतीक रुपमा यार्तुङ पर्वलाई लिइने गरेको कागबेनी गाउँ मुखिया आङजिङ गुरुङले जानकारी दिए । मौलिक कलासंस्कृति र भेषभूषाको संरक्षण तथा संम्वद्धन गर्दै परम्परागत पर्व धान्न यसपटक कागबेनीले यार्तुङ महोत्सव सञ्चालन गरेको गाउँ मुखिया गुरुङले बताए । उनका अनुसार स्थानीय प्रशासन र सुरक्षा निकायसँग पूर्व स्वीकृति लिई सम्भावित कोरोना भाइरसको संक्रमण जोखिमलाई ध्यानमा राखी आवश्यक सजगता अपनाउँदै यार्तुङ महोत्सव सञ्चालन भएको हो ।

कागबेनीमा गत शनिबारदेखि पहिलो पटक यार्तुङ महोत्सव सञ्चालन भएको हो । कागबेनी यार्तुङ व्यवस्थापन समितिले आयोजना गरेको महोत्सव संञ्चालनका लागि स्थानीयबासीबाट आर्थिक सहयोग जुटाइएको समितिका संयोजक अर्का आङजिङ गुरुङले बताए । महोत्सवको सोमबार अन्तिम दिन कागछोदे गुम्बामा स्थानीय मौलिक कला संस्कृतिका विभिन्न कार्यक्रम भएको छ । गाउँका अग्रज महिला तथा पुरुषहरुको समूहले वारागुङ मुक्तिक्षेत्रको मौलिक भाषाको लु गीत गाउँदै गुम्बा परिक्रमा गरे ।

Advertisement

स्थानीय भेषभूषामा सजिएर जातीय पहिचान झल्किने कपडाले हिमाल सम्भयताको मौलिक परम्परालाई झल्काएको थियो । वारागुङ मुक्तिक्षेत्रका १९ वटा गाउँहरुले कार्यक्रममा आ—आफ्ना स्थानीय मौलिक संस्कृति प्रस्तुत गरे । स्थानीयले परम्परागत स्याब्रो नाच देखाए भने कतिपयले लु गीत गाउँदै नाचे । केहीले स्टेजमा ढोलु गीत गाए । कोरोना भाइरसको विषम अवस्थामा पनि वारागुङ मुक्तिक्षेत्र लगायत आसपासका स्थानीय दर्शकको उल्लेख्य उपस्थिति थियो ।

खेलकुद तथा सास्कृतिक कार्यक्रम
वारागुङ मुक्तिक्षेत्र कागबेनीको यार्तुङ महोत्सव व्यवस्थापन समितिले महोत्सवका अवसरमा विभिन्न प्रतियोगिता गरेको छ । यार्तुङको मुख्य आर्कषणका रुपमा लिइएको घोडा दौड प्रतियोगिता आइबार भयो । घोडा चढेर जमीनमा राखिएको खाता टिप्ने साहसिक खेलका रुपमा दौडाइने घोडा दौडमा पालिका भित्रका १२ समूहले सहभागिता जनाए ।

घोडा दौड प्रतियोगितामा झारकोटका पाल्गेन गुरुङ प्रथम, झोङका छिरिङपेम्बा गुरुङ दोस्रो र झारकोटकै खमसुङ गुरुङ तेस्रो भए ।

आर्चरी अर्थात् तारो हान्ने खेल प्रतियोगितमा मीलन युवा क्लब कागबेनी प्रथम, लुङवुक युवाक्लब धाकार्जुङ दोस्रो र तिरी गाउँ तेस्रो भए ।

कुल ९ समूह सहभागी रहेको प्रतियोगिता ७ डोर ७० सेटमा खेलाइएको थियो । प्रतियोगितामा मीलन युवा क्लबले ४७ सेट, लुङबुक युवाक्लबले ४० सेट र तिरी गाउँले ३८ सेट मार्किङ गरेको थियो ।

यस्तै यार्तुङकै अवसरमा सोमबार भएको सेभेन ए साइड फुटबल प्रतियोगितामा बोन युवा क्लब च्याम्पियन बनेको छ । बोन युवाक्लबले अन्तिम फाइनल खेलमा नरसिंह युवा क्लबलाई ४—० गोल अन्तरले हराउँदै च्याम्पियन बनेको यार्तुङ व्यवस्थापन समितिले जनाएको छ ।

बोन युवाक्लवलाई च्याम्पियन बनाउन जर्सी नम्बर १० का पोल्जोर गुरुङले २ गोल र धोर्जे गुरुङ र नर्बु गुरुङले समान १—१ गोल गरे । प्रतियोगितामा उत्कृष्ठ गोलरक्षक तिरी गाउँका दीपक पुन मगर भए ।

प्रतियोगितका विजेता टिमलाई यार्तुङ महोत्सव व्यवस्थापन समितिले नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरेको संयोजक आङजिङ गुरुङले जानकारी दिए । यस्तै महोत्सवका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया