मापदण्ड विपरीतकाे बेकरी उद्योग ३ दिनलाई बन्द
समाधान संवाददाता
पोखरा
मापदण्ड विपरीत सञ्चालित पोखराको एउटा खाद्य उद्योग बन्द गरिएको छ । प्रदेश अनुगमन टोलीले पोखरा–५ पर्स्याङकाे विन्ध्यवासिनी सफल फुड्स प्रालि ३ दिनलाई बन्द गराएको हो ।
पर्स्याङकाे विन्ध्यवासिनी सफल फुड्स प्रालि बाट उत्पादित २८ हजार बराबरको सामग्री नष्ट गरिएको छ ।
आफ्नो उत्पादनमा लेबलिङ नगरेको, सरसफाइमा ध्यान नदिएको भेटिएपछि उद्योग बन्द गरिएको अनुगमन समितिका सदस्य प्रशान्त पोखरेलले जानकारी दिए । ‘उद्योगको अवस्था एक्दमै नाजुक थियो । कामदारले पनि सुरक्षा सतर्कता नअपनाएको पाइयो,’ उनले भने, ‘उत्पादित मिति र म्याद सकिने मितिबाहेक आफ्नो उत्पादनमा कुनै लेबलिङ नगरेको भेट्यौं ।’
उद्योगका सञ्चालकलाई कमीकमजोरी सच्याउन ३ दिनको समय दिइएको उनले बताए । उक्त बेकरी उद्योगको २८ हजार बराबरको सामग्री नष्ट गरिएको छ । उद्योगबाट उत्पादित ९० थान केक, २५ प्याकेट क्रिमरोल, १० प्याकेट पफ पेट्रिज र केक बनाउन प्रयोग गरिने ३ केजी क्रिम नष्ट गरिएको समिति सदस्य कपिलनाथ कोइरालाले जानकारी दिए ।
संघ सरकारले उपभोक्ता ऐन परिमार्जनसहित जारी गरेपछि गण्डकी प्रदेश सरकारले नियमावली बनाएर प्रदेशस्तरीय अनुगमन थालेको हो । प्रदेशले आफ्नै नियमावली अनुसार अनुगमन थालेको पनि झन्डै वर्ष दिन पुग्न थालेको छ ।
अहिले किराना पसलेले मूल्यमा मनपरि गरेको पाइएपछि त्यसलाई नियन्त्रणको प्रयासमा अनुगमन समिति लागिपरेको छ । सप्लायर्सले पुरानै मूल्यमा वस्तु किराना पसलसम्म पुर्याए पनि त्यहाँ मूल्यमा मनपरि गरेको भेटिएको अनुगमन समितिका संयोजक गोकुल शर्मा पौडेलले बताए ।
‘अहिले आलु, चिनी, चामलको मूल्यमा किराना पसलले मनपरि गरेको पाइएको छ । मूल्यवृद्धि भएको पाए कारबाही गर्छौं,’ उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशकसमेत रहेका शर्माले भने, ‘हाम्रो अनुगमन निकै प्रभावकारी बनेको छ ।’
अनुगमन समितिले १ वर्षमा गरेको कामको प्रतिवेदन उद्योग मन्त्रालयमा बुझाइसकिएको र त्यसलाई छिट्टै सार्वजनिक गरिने शर्माले बताए । अनुगमन समितिका सदस्य सचिव भरतमणि बराल, उद्योग निर्देशनालयका अधिकृत प्रदिप रेग्मी र ध्रुव पौडेल लगायतको टोली अनुगमनमा पुगेको हो ।
तपाईको प्रतिक्रिया