गण्डकीमा नयाँ मेसिन, अब १ दिनमै कोरोना रिपोर्ट

समाधान संवाददाता २०७७ साउन २१ गते ५:३८

अनुप पाैडेल, पोखरा

Advertisement

पोखरामा कोरोना परीक्षणको रिपोर्ट अब १ दिनमै आउने भएको छ ।

कोरोना भाइरसको आरएनए छुट्याउन कोरोना परीक्षण भइरहेको प्रदेश क्षयरोग केन्द्रको प्रयोगशालामा ‘आरएनए अटो एक्सट्याक्टर मेसिन’ जडान भएसँगै परीक्षण अझै द्रुत हुने भएको हो ।

Advertisement

प्राविधिकले ४ घन्टाभन्दा बढी समय लगाएर गर्दै आएको काम ३५ मिनेटमा गर्न सक्ने मेसिन जडान

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीका अनुसार प्राविधिकले ४ घन्टाभन्दाबढी समय लगाएर गर्दै आएको काम उक्त मेसिनले ३५ मिनेटमा गर्न सक्छ ।

Advertisement

‘प्राविधिकले आरएनए छुट्याउँदा ४ घन्टासम्म लाग्थ्यो । अब ३५ मिनेटमा हुन्छ,’ उनले भनिन्, ‘अब अघिल्लो दिन आएको स्वाबको रिपोर्ट भोलिपल्ट दिन सक्छौं ।’यसअघि यो मेसिन नहुँदा स्वाब लिएको ३ दिनमा रिपोर्ट दिने गरिएको सुवेदीले बताइन् ।

स्वास्थ्य सेवा विभागले गण्डकी प्रदेशलाई पठाएको मेसिन क्षयरोग केन्द्रमा स्थापना गरिएको हो । संकलन भएको स्वाब प्रयोगशाला पुगेपछि सिधै परीक्षण गरिँदैन । सुरुआती प्रक्रिया पु¥याएर भाइरसभित्रको आरएनए निकालेपछि मात्र त्यसलाई पिसिआर मेसिनमा हालिन्छ ।

आणुवंशिक विज्ञ श्रीराम बास्तोला अटो एक्सट्याक्टर मेसिनले कोरोना परीक्षणको संख्या बढाउनुका साथै परीक्षणमा सहज हुने बताउँछन् ।

उनले भने, ‘पिसिआर मेसिनमा हाल्नु पहिला भाइरसलाई ब्रेक गर्नुपर्छ । स्वाब नै पिसिआर मेसिनमा हाल्ने होइन । अटो एक्सट्याक्टर मेसिनले आरएनएलाई लिकुइड बनाउँछ । त्यसपछि बल्ल परीक्षण गर्ने हो । नयाँ मेसिनले काम छिटो हुन्छ ।’

कुनै प्राविधिक समस्या नभए प्रयोगशालाले ५ घन्टामा कोरोना परीक्षणको रिपोर्ट दिन सक्ने बास्तोलाले बताए । उनले भने, ‘बाहिर ५ घन्टामा रिपोर्ट दिन्छम् भने पनि काम गर्दा व्यावहारिक रुपमा त्यस्तो हुँदैन । मेसिनलाई लोड पनि पुग्नुपर्ने हुन्छ । एउटामात्रै नमुना भएर परीक्षण गर्ने भन्ने हुँदैन ।’

आणुवंशिक विज्ञ बास्तोला हाल वीर अस्पतालमा कोरोना परीक्षणका लागि खटिएका छन् । चैत तेस्रो हप्ता पिसिआर मेसिन लिएर पोखरा आएका उनी २ महिना कोरोना परीक्षणका लागि खटिएपछि काठमाडौं फर्किएका हुन् ।

हाल पोखरामा कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पिसिआर मेसिन जडान गरिएको छ । दुवै ल्याबमा गरेर दैनिक ३ सय बढी स्वाब परीक्षण हुँदै आएको निमित्त निर्देशक सुवेदीले बताइन् । प्रतिष्ठान र क्षयरोग केन्द्रमा गरेर कोरोना परीक्षणका लागि २८ प्राविधिक खटिएका छन् ।

क्षयरोग केन्द्रमा पिसिआर जडान गरेर डेढ महिनाअघि मात्र कोरोना परीक्षण थालिएको हो । क्षेत्रीय अस्पतालको प्रयोगशालामा भने चैत तेस्रो हप्तादेखि परीक्षण हुँदै आएको छ ।

जेठमा पिसिआर मेसिनको क्षमता कम हुँदा र प्राविधिक अभावले झन्डै ३ हजार स्वाब प्रयोगशालामा थुप्रिएको थियो । त्यसबेला भारतलगायत विभिन्न ठाउँबाट फर्किएर क्वोन्टाइनमा बसेकाको रिपोर्ट १ महिनासम्म आउन सकेको थिएन । प्रयोगशालाको फ्रिजमा स्वाब थुप्रिएपछि प्रदेश सरकारले जेठ अन्तिम साता नयाँ पिसिआर मेसिन ल्याएर परीक्षण सुरु गरेको थियो ।

पोखरास्थित प्रयोगशालाबाट रिपोर्ट ढिलो आउन थालेपछि स्याङ्जा, गोरखा र तनहुँका पालिकाले आफैं पिसिआर मेसिन किनेर सञ्चालन गर्ने निर्णय गरेका थिए ।

स्वाबको रिपोर्ट आउन ढिलो हुने र क्वारेन्टाइनमा राख्दा आर्थिक भार बढेपछि ३ जिल्लाका पालिकाले पिसिआर किन्ने निर्णय गरेका थिए । पछि नयाँ मेसिन ल्याएपछि जिल्लाका पालिका पछि हटे । पिसिआर मेसिन आएपछि विभिन्न जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई पोखरा बोलाइएको थियो । २ वटा मेसिनमार्फत परीक्षण हुन थालेपछि अहिले ल्याबमा स्वाब पेन्डिङ नरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा मंगलबारसम्म २५ हजार ७ सय ९ वटा स्वाब परीक्षण भइसकेको छ । तीमध्ये १५ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमितमध्ये १३ सय ५० जना निको भएर घर फर्किसकेका छन् । हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना स्याङ्जा र बाँकी २ जना बागलुङ र गोरखाका हुन् ।

तपाईको प्रतिक्रिया