मुस्ताङमा थपियो बगुंर र सुन्तला जोन
एसके थकाली
जोमसोम
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन इकाई स्याउ जोन मुस्ताङमा आर्थिक वर्ष २०७७/०७८ मा थप बंगुर र सुन्तला जोनको जिम्मेवारी थपिएको छ ।
यसअघि गण्डकी प्रदेशको म्याग्दीको बंगुर जोन र पर्वत र बाग्लुङको सुन्तला जोनको जिम्मेवारी कृषि आधुनिकीकरण परियोजना मुस्ताङमा गाभिएको हो ।
पर्वत, बाग्लुङ र म्याग्दीको २ जोन थपिएसँगै स्याउ जोन मुस्ताङले ३ वटा जोन सम्हाल्ने कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिए । यसअघि मुस्ताङमा भएको जोनले स्याउको कार्यक्षेत्र मात्र हेर्ने गथ्र्यो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आर्थिक वर्ष २०७३÷०७४ मा सञ्चालन भएको थियो । मुस्ताङमा स्याउ जोन कार्यालय २०७५ सालमा सुरुआत भएको कार्यालय प्रमुख लम्सालले जनाए ।
३ वटा जोनका जिम्मेवारी थपिएसँगै स्याउ जोनको कार्यालयको नाम परिवर्तन गरि परियोजना जोन राखिएको छ । मुस्ताङमा बंगुर र सुन्तला जोनको मुख्य कार्यालय रहेपनि सम्बन्धी जिल्लामा जोनको इकाई कार्यालय यथावत राखिने जनाइएको छ ।
चालु आर्थिक वर्ष ०७७/०७८ का लागि जोनको बजेट ५ करोड ९२ लाख १८ हजार रहेको कार्यालयले जनाएको छ । स्याउ र सुन्तला जोनका विभिन्न कार्यक्रममा ३ करोड ४४ लाख र बंगुर जोनका लागि ७० लाख बजेट विनियोजन भएको छ ।
परियोजनाले विजियोजन गरेको बजेटमध्येबाट सुन्तला क्षेत्र विस्तारमा ३० लाख, स्याउ क्षेत्र विस्तारमा ३६ लाख उच्च घनत्वको स्याउ बिरुवा अनुदान खरिदमा ५४ लाख, नर्सरी स्रोतकेन्द्र स्थापनामा २४ लाख, सुन्तला र स्याउ चक्लाबन्दी कार्यक्रममा ४० लाख, कार्टुन ढुवानी सामग्री अर्थात पोस्ट हार्भेस्ट क्षति न्यूनीकरणमा १५ लाख, सिक र कमाउ कार्यक्रम अन्र्तगत स्याउ÷सुन्तलाको प्राविधिक शिक्षालयसँग साझेदारी गर्न २० लाख, यान्त्रिकिकीकरण औजार खरिदमा ३० लाख, साना सिँचाइ कार्यक्रममा ४५ लाख र कृषि बजार तथा पूर्वाधार सहयोगमा ५० लाख बजेट निर्धारण गरिएको छ ।
एकमात्र बंगुर जोन रहेको म्याग्दीका लागि बंगुरको मासु पसल सुधारमा १० लाख, विपन्न वर्ग लक्षित उन्नत बंगुर पालनका लागि ६ लाख, बंगुरको नश्ल सुधारमा २४ लाख, प्रांगारिक कृषि प्रमाणीकरण सहयोगमा १० लाख र बंगुर स्रोत केन्द्र विकास कार्यक्रमका लागि २० लाख विनियोजन भएको जोन प्रमुख माधव लम्सालले जानकारी दिए ।
जोनले म्याग्दी, पर्वत, बाग्लुङ र मुस्ताङका स्थानीय तहबाट सञ्चालन हुने विभिन्न बाली वस्तुका पकेट क्षेत्र तथा प्रदेशबाट सञ्चालन हुने ब्लक कार्यक्रमको सञ्चालन तथा सहयोग र समन्वय जोनले गर्ने जनाइएको छ ।
मुस्ताङको मर्जित जोन कार्यालयले कृषि विभाग, न्यूनतम कृषि उपजको समर्थन मूल्य निर्धारणका लागि अध्ययन र पृष्ठपोषण गरिनुका साथै कृषि ऋणका लागि समन्वय र सहजीकरण गर्ने काम जोनले गर्नेछ । सामूहिक र सहकारीमा आवद्ध चक्लाबन्दी कार्यक्रम अन्तर्गत एउटै क्षेत्रफलमा एकैबालीको पूर्वाधार निर्माणमा जोनले ८५ प्रतिशत अनुदान उपलब्ध गराउने बताइएको छ ।
एसके थकाली ।
तपाईको प्रतिक्रिया