पोखरामा पहिलो कार डिटेलिङ सेन्टर खुल्यो
समाधान संवाददाता
पोखरा
मान्छे तन्दुरुस्त रहन उसको शरीरका अंग स्वस्थ हुनुपर्छ । त्यसरी नै कुनै सवारी चुस्तदुरुस्त हुन त्यसको पाटपुर्जा सही ढंगले चल्नुपर्छ ।
पुरानो गाडीलाई नयाँजस्तै देखाउने र पार्टपुर्जाको आयु बढाउन पोखरामा गण्डकी इको टेक्नेलोजिज प्रालि सञ्चालनमा आएको छ ।
प्रालिले पोखरामा पहिलोपटक कार डिटेलिङ सेवा दिनेछ ।
हालसम्म कार डिटेलिङ सेवा काठमाडौं, चितवन र बुटवलमा मात्रै सञ्चालनमा थियो । बैंक, इन्जिनियरिङ, शैक्षिक लगायत विभिन्न क्षेत्रका ६ जना युवा व्यवसायीको झन्डै डेढ करोड लगानीमा पोखरा ७ नुवारथोकमा उक्त सेवा सञ्चालनमा आएको हो ।
गाडीका विभिन्न पार्टपुर्जामा भएको फोहोर र दाग उच्च प्रविधिको मेसिन र गुणस्तरीय केमिकल प्रयोग गरेर सफा गरिने सञ्चालक विजय ढकालले बताए ।
अक्सिहाइड्रोजन (एचएचओ) ग्यास प्रयोग गरेर गाडीको इन्जिनभित्र जमेको कार्बनलाई सफा गरिने उनले सुनाए । सञ्चालक ढकालले भने, ‘इन्जिनमा जमेको धुलोले गाडीको आयु घटाउँछ । इन्जिन नखोली हामी एचएचओ ग्यास प्रयोग गरेर सफा गर्छौं ।’
कोटिङ प्रविधि सञ्चालनमा आएपछि १५ जनाले रोजगारी पाउने छन् । अहिले ५ जना कर्मचारीले मात्र काम गरिरहेको उनले जानकारी दिए । पोखराकै पहिलो उक्त कार डिटेलिङ सेन्टरले गाडीका विभिन्न भागमा हुनसक्ने भाइरसलाई मार्ने प्रविधिको पनि प्रयोग गरेको छ । साबुन पानी नभई केमिकलको प्रयोग गरेर गाडीको भित्री र बाहिरी भाग सेनिटाइज गरिने सञ्चालक गोविन्द चापागाईंले जानकारी दिए ।
‘अहिले कोभिडको महामारी छ । साबुनभन्दा पनि केमिकलको प्रयोग गर्दा भाइरस मर्छन्,’ उनले भने, ‘यो एम्बुलेन्स र बिरामीको उपचारलाई प्रयोग भएका गाडीलाई फाइदाजनक हुन्छ ।’ गाडीको रङ र कोतरिनबाट जोगाउन कोटिङ प्रविधि पनि लकडाउन खुलेपछि सञ्चालनमा ल्याइने सञ्चालक चापागाईंले बताए ।
गाडी सेनिटाइज र भित्री पाटपुर्जा सफा गर्दा कार वास र स्टिम वास निशुल्क गरिएको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया